कारागारका महिलालाई कुकिङ बेकिङको तालिम « Khabarhub

कारागारका महिलालाई कुकिङ बेकिङको तालिम


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागाका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए/गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरु तालिममा व्यस्त छन् ।

आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि तीन महिनादेखि थुनामा रहेकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन) ले तालिम निकै फलदायी भएको बताइन् । उनले भनिन्, “मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।”

बिएड अध्ययनरत उनी बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको सुनाउँछिन् । त्यसैगरी एक वर्षका लागि कैद फैसला भुक्तान गरिरहेकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको बताइन् ।

“अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु” उनले भनिन् । अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उनको भनाइ थियो । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उनको भनाइ छ ।

पोखरा व्यावसायिक महिला क्लब पोखरा–१ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले तालिम प्रदान गरेको हो । प्रशिक्षक झङ्क ढकालले कारागारका महिलाले निकै उत्साहसाथ तालिममा सहभागी भएको बताए । “अरू तालिममा भन्दा उहाँहरुको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरु को रुचि बढी देखिन्छ ।” प्रशिक्षक ढकालका अनुसार ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ ।

जिल्ला कारागारका सूचना अधिकारी झङ्कनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उनहरुलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरु प्रदान गर्दै आएको बताए । पौडेलले भने, “कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरुलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिन सहयोग पुग्ने विश्वास छ ।”

कारागारका कैदीबन्दीलाई विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ । कारागारको क्षमता चार सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । पौडेलका अनुसार आठ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष सात सय ९२ र तीन आश्रित नाबालक छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : ५९ बजे

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई