नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव « Khabarhub

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ ।

यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४ औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवमा सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताए । उनले भने, “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।”

उनले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो रहेको बताए ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले २५ वर्षअगाडि भारतको गोवा जाँदा अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेकसाइडमा पनि सोही प्रकृतिको महोत्सवको परिकल्पना गरेर पोखराको सडकमा यो महोत्सव सुरु भएको थियो । रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको उनको भनाइ छ ।

रेवानका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक विश्वराज पौडेलले पर्यटन आर्थिक समृद्धिको आधार भएको जनाउँदै महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । पौडेलले महोत्सवमा मात्र नभई पर्यटन विकासका लागि पोखरा महानगरपालिकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई संवर्द्धन र संरक्षण गर्दै कल्चर भिलेज (सांस्कृतिक गाउँ) मा पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलका रूपमा विकास गर्न सकेमा पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

लेकसाइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् ।

यसैगरी पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू रहेको महासचिव विकास भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : २६ बजे

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै