मिरुना भन्छिन्, 'कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको दुर्व्यवहारको प्रतिवाद गरेकी हुँ' | Khabarhub Khabarhub

मिरुना भन्छिन्, ‘कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको दुर्व्यवहारको प्रतिवाद गरेकी हुँ’



काठमाडौँ– केही समय यता नेपाली फिल्मलाई लिएर चर्चा परिचर्चा बढ्दो छ । गत वैशाख १ गते विदेशी फिल्मले स्क्रिन संख्यामा दबाब दिएपछि सुरु भएको चर्चा परिचर्चाले अझै निरन्तरता पाइरहेको छ । केही  दिन यता नेपाली फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ चर्चामा छ । फिल्मले पाएको शो, गरिरहेको कलेक्सनले यसलाई चर्चामा ल्यायो । यतिबेला यो फिल्म ‘थप्पड’ प्रकरणले चर्चामा छ । 

हलमा प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच ले कमाइमा किर्तिमान राखिरहेको छ । फिल्मप्रति दर्शकको आकर्षण बढेसँगै ‘कबड्डी ४’ टिम हलमा पुगेर प्रत्यक्ष रुपमा प्रतिक्रिया लिइरहेका थिए । यहीक्रममा काठमाडौंको सिभिल मलमा आइतबार साँझ फुर्वा लामा नाम गरेका युवकले आफूलाई पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेकी हुन् । उनले नै आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरी वृत जनसेवामा अभद्र व्यवहारको बारेमा जानकारी दिएपछि प्रहरीले मुगु घर भएका फुर्वालाई पक्राउ गरेर हिरासतमा राख्यो । फुर्वाले त्यही माफी पनि मागेका थिए । फिल्मकै एक सदस्यले ती व्यक्तिले गल्ति स्वीकारेको बताएका थिए । यद्यपि टिकटक लगायतका सोसल एपहरुमा भिडियो आएसँगै यतिबेला यो चर्चाको विषय बनेको छ । अभिनेत्री मिरुना मगरले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै रियाक्ट गरेकी हुन् । त्यसो त अभिनेत्रीहरुलाई भिडमा जादा समस्या देखिने गरेको छ । 

गोपीकृष्ण हलको भिडभाड होस् या अष्टनरायण हलको दर्शकसँग साक्षात्कार गर्दा अभिनेत्रीहरू सजगता अपनाउने गर्छन । यसै कारणले केही कलाकारहरूले हल पुग्दा ‘बडीगार्ड’ को प्रयोग पनि गर्ने गरेका छन् । दर्शकसँग साक्षात्कार गर्ने रहर हुँदा पनि केही खराब नियत भएकासँग डराउनु पर्ने अवस्था रहेको एक अभिनेत्रीले बताइन् । उनले भनिन्, ‘हामीलाई दर्शकसँग पुग्ने, भेट्ने रहर नहुने होइन । तर, त्यो भिडमा सबैको नियत ठिक हुँदैन। हामीले धेरै समस्या भोग्ने गरेका छौँ । तर, लाज वा अरुले के भन्लान्? भनेर बाहिर ल्याउने गर्दैनौँ’ । उनले अहिले मिरुनाले अहिले भोगिरहेको समस्या पर्ने डरले आफू लगायतका केही अभिनेत्रीहरुले यस्ता समस्यालाई बाहिर नल्याउने गरेको बताइन् । यहाँ छोयो, त्यहाँ छोयो कसलाई भन्ने ? हामीले भन्दा हाम्रै बेइज्जत गर्छन् । भिडमा गएसी छोइहाल्छ नि भन्छन् । तर, नियतबस र भुलबस छोइएको हामीलाई पनि त थाह हुन्छ नि’ ती अभिनेत्रीले भनिन् । 

आफूलाई असहज भएपछि त्यसको प्रतिकार गरेकी हुन् । उनीसँगै हल पुगेका एक अभिनेताले भने,’ भिडभाडमा भूलबस हुने कुरा बेग्लै हुन्छ । हामी आफैँ पनि दर्शक दिर्घामा हुँदा सामान्य रुपमा हुने भुलबसलाई बुझ्ने गरेका छौँ । आइतबारको त्यो घटना त्यस्तो थिएन । ती युवा देखिँदा नै अस्वभाविक थिए । अभिनेत्रीलाई असहज भएपछि नै थप्पड हानेकी हुन् । ‘मिरुना आफैले पनि आफू माथि दुर्व्यवहार गर्ने भिक्षुको अवतारमा देखेपछि झनै आक्रोशित भएको बताएकी छिन् । ‘म फ्यानहरूसँग अगाडि फर्किएर सेल्फी खिचिरहेको थिएँ । त्यसबेला मलाई पछाडि कसैले छोएको महसुस भयो । म झस्किएँ र अलिकता अगाडि सरेँ । दोस्रो चोटी पनि यस्तै भयो । तेस्रो पटक चाहिँ मलाई कसैले  ‘दुर्व्यवहार’ नै गरेको महसुस भएपछि मैले थप्पड हानेको हुँ’ उनले भनिन् । 

मिरुना शान्त स्वभावकी मिरुनाले आफू पनि बुद्धिस्ट भिक्षुको भेषमा देख्दा क्रोधित भएको बताएकी छिन् । ‘हेर्दा मभन्दा उमेरले सानो लागेपछि सबैको अगाडि कराएँ पनि । त्यसबेला मैले कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको दुर्व्यवहारको प्रतिवाद गरेँ । उसले मसँग माफी पनि माग्यो । मैले उसलाई छाड्न पनि खोजेको थिएँ । तर, पछि म आफैंलाई लाज लाग्यो । किनकि, त्यहाँ सबैले भिडियो रेकर्ड गर्नुभएको थियो । बाहिर निस्किएर म रोएँ पनि । आफैंलाई कमजोर महसुस गरेँ । त्यो व्यक्ति हाँसीखुसी बाहिर रमाइरहेको देखेपछि मेरो चित्त बुझेन र मैले कानुनको सहायता लिनुपर्छ भन्ने लागेर प्रहरीको जिम्मा लगाएँ’ मिरुनाले भनिन् । 

उनले सानो भिडियो क्लिप हेरेर घटनाको बारेमा टिकाटिप्पणी नगर्न पनि आग्रह गरेकी छिन् । उनले भनिन् , ‘भिडियोमा मैले उहाँ भिक्षुलाई कराइरहेको मात्र देखिएको छ, त्यसैले ममाथि गालीगलौज भएको होला । मलाई थ्रेट पनि आएको छ ।’  उनले आफूले दुर्व्यवहार भएको महसुस गरेपछि कानुनी सहर लिएको बताएकी छिन् ।  ‘यस्तो घटना कसैमाथि नदोहोरियोस् र उसले पनि भोलिका दिनमा यस्तो कसैलाई नगरोस् । भिडियोमा आधी कुरा मात्र हेरेर एकतर्फी धारणा बनाउनु राम्रो होइन’ मिरुनाले भनिन् । उनले केटीहरूले सहजै आफ्नो कुरा व्यक्त नगर्नुको कारण यी यस्तै रहेको समेत बताइन । ‘हामीले हिम्मत जुटाएर यस्ता कुरा बाहिर भन्छौँ । तर, हामीलाई नै जज गरिन्छ । अनि कहाँ भन्ने हिम्मत जुट्छ त ?’ उनले प्रश्न गरिन् ।

भिडले नै बनाउँछ ‘विचार र मानसिकता’ 

मिरुनाले आफूलाई दुर्व्यवहार भएको महसुस गरेर थप्पड हानिन् । ती युवालाई कानुनी प्रक्रियामा पठाइन । तर, टिकटकमा आएको सानो भिडियो क्लिपले भिडलाई एक किसिमको विचार सम्प्रेषण गर्‍यो । भिडले बनाएको मानसिकताका कारण उक्त घटना जातियतामा समेत परिणत भइरहेको छ । दुई समुदाय एक अर्काको गल्ति देखाउन तल्लिन छन् । शान्ति र अहिंसाको प्रतीक मानिने बुद्धको धर्मलाई आत्मसात गर्नेहरू पनि पोस्टर जलाउन पुगेका छन् । आन्दोलन गरिरहेका छन् । यसले भिडलाई एउटा विचार सम्प्रेषण गरेको छ । जहाँ कसैले मिरुनालाई गल्ति देखेका छन् भने कसैले भिक्षु फुर्वालाई । अधिकांशले टिकटकमा सानो क्लिप हेरेर नै मानसिकता बनाएका छन् ।

यहाँ अपराधी भन्दा पनि उसको जात र धर्मलाई अगाडि ल्याइएको छ । अपराधीको आरोपी वा गल्ती गर्ने त दोषी हुनुपर्ने होइन र ? तर , यहाँ समुदायसँग जोडेर साम्प्रदायिकता गर्न खोज्नेको कमी छैन ।  घटना नै नबुझेर मानसिकता बनाउने क्रम बढ्दै गएपछि आउँदो दिनमा अन्यले आफू माथि भएको दुर्व्यवहारलाई सार्वजनिक गर्न सक्लान् त ?  यो प्रश्न उब्जिएको छ । 

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : २२ बजे

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट 

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग