काठमाडौँ : विश्वमै धूम्रपान सबै भन्दा ठूलो चुनौतीको विषय भइरहँदा पनि यसको सेवन गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ । धूमपान तथा मदिरा सेवन गरेर आफूलाई स्मार्ट, साहसी, बहादुर र स्वतन्त्रताको अनुभूति गर्ने युवा जमातको कमी छैन । त्यसै मध्यका एक हुन्, काठमाडौँका समीर शर्मा ।
काठमाडौँमा हुर्किएकालाई धूम्रपान गर्नु कुनै ठुलो बाहना चाहिँदैन । सानैदेखि इन्डियन च्यानल हेर्ने गरेका समीरलाई त्यसैको प्रभावले ८ कक्षामा पढ्दा पहिलो पटक चुरोट तान्न सिकायो ।‘यति बेला लागेको थियो, कुनै फिल्मको हिरो भन्दा कम छैन । किनकी मैले चुरोट सानले तानेको हिरोले मात्रै देखेको थिए’ उनले भने, ‘यसले असर गर्छ भन्ने सुनेको पनि हो, पढेको पनि हो, तर मलाई त्यता ध्यान गएन, गयो त केबल हिरोवाला महसुसमा । जसकारण मैले चुरोट पिउन थाले ।’
उनका अनुसार यसबारेमा घरमा थाहा थिएन । स्कुल छुट्टी भएपछि बाटोमा बसेर उनी साथीहरुसँग चुरोट खाँन्थे । अनि घर पुग्ने बेलामा चुइगम खादै जान्थे । कलेज लाईफसम्म यो रुटिन फ्लो गरे । तर १२ कक्षामा पढ्ने बेलामा छाती नराम्रोसँग दुख्यो, कलेजबाटै अस्पताल लगिएपछि बल्ल उनको होस् आयो । ‘मेरो छातीको एक्सरे गर्दा थाहा भयो चुरोटको कारणले छाती धेरै बिग्रिएको रहेछ । त्यो दिन ममीबाबा पनि मेरै अगाडि बसेर धेरै रुनु भयो आफ्नो छाती धेरै बिग्रिएको, यो दुबै कुराले पहिलो पटक महसुस भयो कि मैले ठुलो गल्ति गरेको रैछु’ उनले पश्चातापका ती दिन सम्झिदै भने, ‘त्यो दिनबाटै मैले धूमपान गर्न छोडेको हो । मैले त्यो पछि कहिल्यै महसुस गरिनकी धूमपान खान्छु भनेर । कुनै दिन खान पाए हुन्थ्यो जस्तो पनि लागेन । आज १० वर्ष भयो मैले चुरोट छोएको छैन । आफ्नो मनलाई कन्ट्रोल गर्ने हो भने नसक्ने कुरा केही रहेनछ भन्ने लाग्छ ।’
समीर त केबल एउटा उदाहरण मात्रै हुन, उनी जस्ता धेरै युवा अहिले लागूपदार्थ दुर्व्यसनीमा फसेका छन् । युवा पुस्तामा केटा मात्रै होइन पछिल्लो समय युवतीले पनि धूम्रपान सेवन गर्न थालेका छन् । स्मार्ट बन्ने बाहना, साथीको कर, तनाव भुल्नको लागि चुरोट खाएको अनुभव छ, धरानकी ममता राईको ।
पहिला त उनलाई केटीले चुरोट खानु हुदैन भन्ने लागेको थियो । तर जब उनी साथीको घरमा गइन् । त्यहाँ उनले सोचेको भन्दा धेरै फरक वातावरण पाइन् । उनकै शब्दमा भन्दा, उनी साथीको जन्मदिन मनाउन गएको थिइन् । सबैजनाले कस्तो आनन्द हुन्छ भनेर तान्न लगाए । सुरुमा त कस्तो भयो भन्ने उनले पत्तो पाइनन् । फेरी तानेको घाटीमा के अडकिएको जस्तो उनलाई भयो । तर अर्को दिन आफैँ कोसिस गरिन् । साँच्चै स्मार्ट भएको महसुस गरिन् । त्यसपछि उनी चुरोटको लतमा फसिन् ।
‘आज १० वर्ष भयो तान्न थालेको असर धेरै गरेको छ । तर पनि छोड्न सकेको छैन् । बच्चा पनि भएन यही तनावले झन धेरै तान्ने भएँ’ उनले भनिन्, ‘आज फोक्सोको क्यान्सर भएको छ । दोस्रो स्टेजमा छ रे । तर मैले त आफ्नै लाइफको माया मारी सकेको थिएँ । अझै तान्न छोडेको छैन ।’समीर र ममता त उदाहरण मात्रै हुन् । यी जस्तै पीडा भोग्ने युवा जमातको थोरै छैन, हरेक दिन झन् झन् बढ्दो छ । त्यो भन्दा ठूलो जमात वृद्धवृद्धाहरूको पनि छ ।
धूम्रपानलाई एउटा दुर्व्यसनको रुपमा लिँदा फरक पर्दैन । धूमपानको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा सबै भन्दा धेरै हानी गरेको छ । धूमपानले शारीरिक तथा मानसीक स्वास्थ्यमा मात्र नभई व्यक्तिगत विकास, आर्थिक, सामाजिक, पारिवारिक र सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर पारेको छ । तर पनि यसको प्रयोग घट्न सकेको छैन ।
दैनिक १५ अर्बको चुरोट र सुर्ती बिक्री
पछिल्लो तथ्याङ्कलाई केलाउने हो भने संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री भएको हुन्छ, जसमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारण हुने गरेको छ । तर पनि हामी धूम्रपान सेवन नगरी स्वतन्त्र भएको महसुस गर्दैनौँ । यसलाई व्यक्तिगत हेलचेक्र्याइँ भन्ने कि ज्ञानको कमी द्विविधाको कुरा हो ।
सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रसायनिक तत्व पाइन्छन् । जसमा २ सयदेखि ४ सयसम्मका हानिकारक रसायानहरू हुन्छन् । मादक पदार्थ, सुर्तीजन्य तत्वमा खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायान र नियमित सेवन गर्दा लत लगाउने तत्वहरू पाइन्छन् ।
वर्षेनी ६० लाख मानिसको मृत्यु
सुर्तीजन्य पदार्थको असरबारे डब्लुएचओले भनेको छ, सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरू लाग्न सक्छन् । विश्वमा धूमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ ।
विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये ६ लाखको अरुले सेवन गरेको धूमपानको असरले मृत्यु हुने गरेको छ । यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरूमा हुने प्रक्षेपण छ ।
१ अर्ब सेवनकर्ता, १ अर्बको मृत्यु
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुने अनुमान छ । जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरू मात्र हुनेछन् । संसारमा १ अर्बभन्दा धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।
धूम्रपानले संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा श्वास फेर्छन्। बीसौं शताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो भने हालको २१ औं शताब्दीमा १ अर्ब मानिसको मृत्यु भएको छ ।
सन् २०३० देखि हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले नै हुन्छ भनेर विज्ञहरूले भनेका छन् । नियमित धूमपान सेवन गर्दा सेवन गर्नेलाई मात्र नभईसँगै भएका व्यक्तिलाई पनि उत्तिकै असर गर्छ, जसलाई ‘प्यासिभ स्मोकर’ भनिन्छ ।
आफूले गरेको क्रियाकलापले अरूलाई असर गर्छ भने त्यसलाई एक प्रकारको अपराधभन्दा फरक नपर्ला । यसैको ज्वलन्त उदाहरण हुन्, पाल्पाकी सानुमाया श्रेष्ठ । उनले आफूले कहिल्यै चुरोट खाएकी थिइनन् । तर उनको श्रीमानले चुरोट खाएकाले असर उनलाई गरेको थियो ।
‘फोक्सोमा क्यान्सर देखापर्यो, म त्यो दिन छाँगाबाट खसे जस्तै भए । मैले कहिल्यै खाइन् । तर अहिले यस्तो भयो । आफूले नखाए पनि समस्या आफैले भोग्नु परेको छ, यो भन्दा पीडा अरु के होला र ?’ उनले आफ्नो जीवनको धुम्रपानको पीडा सुनाइन् ।
नियमित धूमपान गर्दा आफ्नो स्वस्थ रहने अधिकार पखालिँदै जान्छ र विभिन्न रोगको सिकार भइन्छ । जस्तैः फोक्सोको क्यान्सर, स्तन क्यान्सर, गर्भपतन, नवजात शिशुको वृद्धि विकास नहुने, छाला चाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोगहरू लाग्ने, रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्ता रोग लाग्ने गर्छ । जसले नियमित धूमपान सेवन गर्छन उनहिरुलाई पनि थाहा छ यो कुरा तर पनि लापरबाही भएकै छ ।
विश्व धुम्रपानरहित दिवस
हरेक वर्षको मे ३१ लाई ‘विश्व धूम्रपानरहित दिवस’ रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको पहलमा सन् १९८७ देखि सुरु भएको धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि मनाइने यो दिवस ‘सुर्तीजन्य पदार्थ त्यागौं, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ यो वर्ष मनाइदै छ ।
सुर्तीजन्य पदार्थको सेवनकर्तालाई यसको प्रयोगबाट हुने असरहरू बारे अवगत गराई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष यो दिवसमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाउने गरिन्छ ।
सुर्तीजन्य पदार्थ सेवन नगर्नेहरू भन्दा सुर्ती सेवनकर्ताहरुलाई फोक्सो सम्बन्धी क्यान्सर हुने सम्भावना २२ गुणा बढी रहेको छ । फोक्सो सम्बन्धी क्यान्सरको प्रमुख कारण नै धूम्रपान र सुर्ती सेवन हो । किशोर तथा युवा अवस्थामा नै धूम्रपान सुरु गरेका प्रत्येक ५ जना व्यक्तिहरूमध्ये एक जनालाई श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना प्रबल रहने गर्दछ । निरन्तर धूम्रपान गर्ने व्यक्तिहरूलाई युवा अवस्थादेखि नै श्वासप्रश्वास सम्बन्धी जटिलताहरू लिएर अस्पताल पुग्ने गरेको पाइन्छ ।
धुम्रपानले कस्ता समस्या देखा पर्छन् ?
सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगहरू जस्तै क्यान्सर, मुटुरोग, श्वासप्रश्वास सम्बन्धी रोग, मधुमेह रोग लाग्ने गरेको छ । सुर्तीजन्य पदार्थमा पाइने निकोटिनका कारण मुटुसम्बन्धी रोग लाग्ने सम्भावना उच्च हुने गर्दछ ।
धूम्रपानको कारण आँखाको ज्योतिमा ह्रास आउने, प्रजनन क्षमतामा कमी आउने, पेट सम्बन्धी समस्या हुने, कान सुन्ने क्षमतामा कमी आउने, पिसाब थैलीको क्यान्सर हुने, गर्भवती महिलाहरूमा गर्भपतन हुने, स्तन सम्बन्ध क्यान्सर हुने, शरीरको प्रतिरक्षा प्रणालीमा ह्रास आउने जस्ता स्वास्थ्य समस्याहरू देखापर्ने गर्दछन् ।
सूर्तिजन्य पदार्थ उत्पादन गर्ने किसानमा पनि ग्रीन टोबाको सिकनेस लगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखापर्ने गर्दछ । वृद्ध उमेरमा देखिने अल्जाइमर्स जस्ता रोगहरुका लागि समेत धूम्रपान तथा सुर्ती सेवन कारक रहेको अध्ययनले देखाएको छ । सुर्तीजन्य पदार्थ सेवनले व्यक्तिको औसत आयुलाई १० वर्ष कम गराउने तथ्य पनि बाहिर आएको छ ।
धुम्रपानले नेपालमा वर्षेनी २८ हजारको मृत्यु,
नेपालमा वर्षेनी करिब २८ हजार जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । जुन नेपालमा कुल मृत्युको करिब १५ प्रतिशत हो । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ । कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन ।
यदि त्यसो गरिएमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ । कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सुर्ति सेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने निःशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।
यसैगरी १८ वर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । साथै, सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले गरेको छ । तर व्यवहारमा भने पुणै रुपमा कार्यन्वयन हुन सकेको छैन ।
धूमपानमा फस्न जति सजिलो भए पनि त्याग्न भने सहज छैन। यसको लागि आफूमा अनुशासन र आत्मबल हुन जरुरी छ । विभिन्न उपाय अपनाएर धूमपान सेवनबाट छुटकारा पाउन सकिन्छ । जस्तै: चुरोट खाने बेला ल्वांङ, सुकुमेल चपाउने, आफूलाई व्यस्त राख्ने, नियमित व्यायाम गर्ने, पानी प्रशस्त पिउने, धूमपान सेवन गर्ने वातावरणबाट टाढा बस्ने, अनावश्यक तनाव नलिने जस्ता उपाय अपनाउन सकियो भने भोलिका दिनमा कोही पनि धूमपानको सिकार हुँदैनन् । त्यसैले तपाईंले पनि बेलैमा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला ।
प्रतिक्रिया