बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । यस्ता छन् बिहान १० बजेसम्मका मुख्य १० समाचार :

१. अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी बैठक बस्दै
स्थायी कमिटीलाई पूर्णतादिने लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ। संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्ने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् ।संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त बैठक बस्न लागेको हो।

२. महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग
६ महानगरपालिकाका प्रमुखहरूले सङ्घीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरुको बैठकपछि आज बिहान संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएको हो । सङ्घीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरुसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सहज बन्ने महानगरपालिकाका मेयरहरुको निष्कर्ष छ ।

३. एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते हुने
माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै ग्रेडबृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्रै ग्रेडबृद्धिका लागि परीक्षा दिन गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने जनाएको छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पूरक परीक्षा दिन पाउने सूचनामा उल्लेख छ ।

४. आज साउन १५ खिर खाएर मनाइँदै
आज साउन १५,खिर खाएर मनाइँदै छ । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित रहेको छ ।राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डले जनाएको छ ।वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहेको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर–मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

५.खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प
खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको बताए। भूकम्पको धक्का ठुलो महसुस गएपनि क्षतिको जानकारी आइनसकेको उनको भनाई छ । विज्ञहरूका अनुसार २०७२ सालकै विनाशकारी भूकम्पको पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

६. प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाइयो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई म्याग्दीको मङ्गला गाउँपालिकाले हाजिर नगराई फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुगेका थिए । मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएका भन्दै गाउँपालिकाले हाजिर गराउन नसक्ने पत्र दिएर फिर्ता पठाएको कार्कीले बताए ।

७. आजबाट तनहुँबाटै सवारी चालक अनुमति पत्र नवीकरण हुने
यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमति पत्र नवीकरण सुरु हुन लागेको हो । सवारी चालक अनुमति पत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए।

८. कैलालीमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना
कैलालीमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भएको छ । नेपाल आयल निगमको इन्धन बोकेको ट्याङ्कर अत्तरिया सडक खण्डमा दुर्घटना भएको हो । गए राति पहाडबाट अत्तरिया जाँदै गरेको ना४ख २६४० नम्बरको ट्याङ्कर तीव्र गतिमा सवार हुँदा सडकमै पल्टिएको हो।दुर्घटनामा ट्यांकरले ठक्कर दिँदा झन्डै आधा दर्जन छाडा पशु चौपाया मरेका छन्।

९.वर्षा र बाढीले चीनमा हजारौँ मानिस प्रभावित
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झन्डै ८० हजार मानिसहरु प्रभावित भएका छन्। बाढिले करिब १६ सय हेक्टर बाली प्रभावित भएको करिब १९ मिलियन अमेरिकी डलरको आर्थिक क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले जनाएको छ । बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेको जनाएका छन्।

१०. साफ यू–२० च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्ने भएको छ । नेपाल र भारतबीचको खेल बेलुका ७ : १५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : २५ बजे

ओटीटीमा ‘चपली हाइट ३’

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म

काठमाडौं– बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको

सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

पाल्पामा बलेरो जिप दुर्घटना 

तानसेन– पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट पाल्पा