बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी, भन्छन् – यस्तो रूप देख्दा रून मन लाग्छ (तस्बिर) « Khabarhub

बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी, भन्छन् – यस्तो रूप देख्दा रून मन लाग्छ (तस्बिर)


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको शनिबार बिहानको दृश्य हो । एक हप्ताअघि (असोज ९ देखि १२ गतेसम्म) निकै उर्लिएको नारायणी नदी अहिले शान्त छ । नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि सुरू हुन थालेको छ ।

बाढी आउनुअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने किनारमा आज ढुंगा र हिलो छ । करिब १ सय ५० देखि २ सय साना ठेला व्यवसायीहरूको रोजीरोटी जोडिएको यो क्षेत्रमा अहिले साना ठेलाहरू किनारका छेउछाउमा बसेर व्यापार गर्ने प्रयासमा छन् भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन् ।

उनीहरूले भरतपुर महानगरपालिकालाई कर तिरेर व्यापार गर्दै आएका छन् । बाढीपछि महानगरपालिकासँग छलफल गरेर उनीहरू पुनः व्यापारमा फर्किएका हुन् । महानगरपालिकाले किनारमा व्यापार सहज हुने गरेर आवतजावत गर्ने बाटो बनाइदिने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो १० वर्ष नारायणी किनारमा बिताएकी तारादेवी परियार बाढीपछि ठेला लिएर फेरि फर्किएकी छन् । ‘यो देख्दा रुन मन लाग्छ,’ उनी भन्छिन्, ‘कति रमझम थियो । परारको बाढीले अलिअलि भत्काएर लग्यो । यसपालि त झन् सोत्तरै पारिदियो । खोला र पानीसित मान्छेको के लाग्छ ?’

उनको ३ जनाको परिवार यही व्यापारमा आश्रित छ । तर अहिले दैनिक लगानी उठाउनै धौ–धौ परेको छ । ‘दैनिक चटपटे र मःमका लागि प्याज, मैदा, २ किलो मासु, मसला र पानी किन्दा ३ हजार रूपैयाँ त लगानी नै गर्नुपर्छ । हिजो २००० को मात्रै व्यापार भयो,’ उनले सुनाइन् ।

नारायणी किनारमा पाका मात्र होइन, आफ्नै देशमा भविष्य खोजिरहेका युवाहरू पनि उत्तिकै भेटिन्छन् । बिहान स्नातक पढ्ने र दिउँसो ठेला चलाउने गैँडाकोटकी ज्योति पौडेलका दुई दिदीबहिनी ५ वर्षदेखि यहीँ फास्टफुड बेचिरहेका छन् । ‘हामी त युवा हो, भर्खरै पढ्दै छौँ । विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर दिउँसो ठेला चलाएको,’ उनले सुनाइन्, ‘तर बाढी आएपछि मान्छे आउने बाटो नै बाँकी रहेन । हिँड्ने ठाउँ सबै ढुंगैढुंगा छ । घुम्ने ठाउँ नै ध्वस्त भएपछि व्यापार पुरै डाउन भयो ।’

व्यापार खस्किएपनि साना व्यवसायीहरूका लागि सरकारी तथा स्थानीय शुल्कको बोझ घटेको छैन । पोखराबाट भरतपुर आएर भाडामा बस्दै ५ वर्षदेखि ठेला चलाउँदै आएकी पवित्र अधिकारीको गुनासो पनि उस्तै छ । ‘अहिले त कोही मान्छे नै आउँदैनन्, फोटो खिच्ने ठाउँ नै छैन,’ उनले सुनाइन्, ‘व्यापार भए नि नभए नि महिनाको २५ सय रूपैयाँ महानगरलाई र दुई सय फोहोरको बुझाउनै पर्छ ।’ कमाउने र खाने माध्यम नै ठेलाको व्यापार रहेकाले व्यापार कम भए कसरी चल्ने भन्ने उनको चिन्ता छ ।

शब्द/तस्बिर : निशा श्रेष्ठरनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ९ : १४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको