रुसद्वारा नोर्डस्ट्रिम १ पाइपलाइनमार्फत युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति ठप्प | Khabarhub Khabarhub

रुसद्वारा नोर्डस्ट्रिम १ पाइपलाइनमार्फत युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति ठप्प


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले नोर्डस्ट्रिम १ पाइपलाइनबाट युरोपतर्फ निर्यात हुने ग्यासको आपूर्ति पुनः ठप्प पारेको छ । रुसी सरकार सञ्चालित ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मत गर्नुपर्ने भएकाले आगामी तीन दिनसम्मका लागि नोर्डस्ट्रिम १ बाट हुने आपूर्ति पूर्ण रुपमा ठप्प हुने जनाएको हो ।

यस पाइपलाइनबाट हुने आपूर्तिमा रुसले यसअघि नै उल्लेख्य कटौती गरिसकेको छ । पछिल्लो समय यस पाइपलाइनबाट नियमितभन्दा केबल २० प्रतिशतमात्रै ग्यास आपूर्ति हुँदै आएको बीबीसीले जनाएको छ । खराब उपकरणका कारण ग्यासको आपूर्ति घटाउनु परेको रुसले बताउँदै आएको छ ।

यसअघि गत जुलाई महिनामा पनि रुसले यस पाइपलाइनबाट हुने ग्यासको आपूर्ति १० दिनका लागि बन्द गरिदिएको थियो ।

रुसको सेन्ट पिटर्सबर्ग सहर नजिकबाट जर्मनीको उत्तर पूर्वी क्षेत्रसम्म पुर्‍याइएको यस पाइपलाइनबाट दैनिक १७ करोड घनमिटर ग्यास आपूर्ति हुँदै आएको थियो । सन् २०११ मा खुला गरिएको नोर्डस्ट्रिम १ पाइपलाइन बाल्टिक सागरमुनी बिछ्याइएको छ ।

यता जर्मनीका नियामक अधिकारीले भने तीन दिनसम्म रुसले ग्यासको आपूर्ति ठप्प पारेपनि कुनै असर नपर्ने टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा क्लाउस मुलरले भने, ‘मलाई लाग्छ, हामी यसको सामना गर्न तयार छौँ ।’
‘आगामी शनिबार रुसले २० प्रतिशत क्षमतामा ग्यास आपूर्ति गर्छ भन्ने मेरो विश्वास छ तर यसै भन्न सकिने अवस्था भने छैन ।’ मुलरले भने ।

युरोपेली नेताहरुले रुसले उसैपनि चर्को रहेको ग्यासको मूल्यलाई अझ बढाउनका लागि विभिन्न बहानामा ग्यासको आपूर्तिमा बाधा उत्पन्न गरेको बताउने गरेका छन् ।

ग्यासको चर्को मूल्यका कारण युरोपेली महादेशका मुलुकहरुका नागरिकको खर्च बढेको बताइन्छ । आगामी हिउँदसम्म यस्तै रहे युरोपेली मुलुकका सरकारले अर्बौ डलर खर्चिने अवस्था आउन सक्ने बीबीसीले जनाएको छ ।

यसअघि गाजप्रोमले फ्रान्सेली ऊर्जा कम्पनी इग्नेलाई गरिँदै आएको ग्यासको आपूर्ति बन्द गरेको जनाएको थियो । त्यसपछि मंगलबार फ्रान्सेली उर्जा संक्रमणमन्त्री एगेस पानिए रुनासेले रुसले ग्यासलाई ‘युद्धको हतियारका रुपमा प्रयोग गरेको’ आरोप लगाएकी थिइन् ।

यद्यपि रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने यस्तो आरोपको खण्डन गरेका छन् । उनले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण रुसी पूर्वाधारमा क्षति पुगेको र यसकारण युरोपले नै ग्यासको आपूर्तिमा बाधा उत्पन्न गरेको टिप्पणी गरेका छन् ।

उनले रुसमाथिको प्रतिबन्धका कारण उत्पन्न भएको ‘प्राविधिक समस्या’ ले गर्दा रुसले युरोपतर्फ ग्यासको आपूर्ति गर्न नसकेको जनाएका छन् । यद्यपि उनले के कस्तो समस्याका कारण यस्तो भएको हो भन्नेबारे केही नखुलाएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो पटक क्यानाडामा मर्मतका लागि पठाइएको पाइपलाइनमा प्रयोग हुने एउटा टर्बाइनका विषयमा रुस र युरोपेली मुलुकहरुबीच विवाद उत्पन्न भएको थियो । क्यानाडामा मर्मत गरी जर्मनी पुर्‍याइएको उक्त टर्बाइनलाई रुसले आफ्नो मुलुकमाथि प्रतिबन्ध लागेका कारण लैजान अस्वीकार गरेको थियो ।

यद्यपि जर्मनीले यसको खण्डन गर्दै आएको छ ।

यसै महिनाको सुरुमा जर्मनीका अर्थमन्त्री रोबर्ट हेबेकले पाइपलाइन पूर्ण क्षमतामा रहेको र यसमा रुसले भनेजस्तो कुनै प्राविधिक समस्या नरहेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : १५ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको