पञ्चकोट चिनाउन दोहोरी « Khabarhub

पञ्चकोट चिनाउन दोहोरी


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शरद यामको पारिलो दिन। रोधीघरझैँ सजिएको पटाङ्गिनी। गुन्द्रीमा पलेँटी कसेका कलाकार। खचाखच दर्शकदीर्घा। आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा। साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो।

चल्तीका गायक-गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे। प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न-सुन्न पाएका दर्शक मक्ख भएर फर्के। बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो।

चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए। गायक-गायिकाको रोचक सवालजवाफले दर्शकदीर्घाबाट वाहीवाही पायो। कलाकारले पञ्चकोटको महत्व र प्राकृतिक महिमालाई पनि गीतमा उतारे। रोधीघरका सञ्चालक राजन क्षेत्रीले पञ्चकोटलाई चिनाउन प्रत्यक्ष दोहोरी राखिएको बताए।

“आफू जन्मेको ठाउँ, आफ्नो मातृभूमिको प्रचार होस्, पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भनेर दोहोरीको आयोजना गरिएको हो”, उनले भने, “यहाँ छायाङ्कन गरिएको कार्यक्रम युट्युबलगायतका माध्यमबाट पनि प्रसारण हुन्छ।”

सञ्चालक क्षेत्रीले युट्युबलाई सामग्री मात्र बनाउन नभई पञ्चकोटको प्रवर्द्धन गर्नु आफूहरुको मुख्य ध्येय रहेको उल्लेख गरे। हालै अमेरिकाबाट आएका क्षेत्रीको घर पनि पञ्चकोट नजिकैको सिम गाउँमा पर्छ।

वाद्यवादकसहित झण्डै ५० जना कलाकारलाई रोधीघरले पञ्चकोटमा जमघट गराएको थियो। बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले कलाका माध्यमबाट पञ्चकोटको प्रवद्र्धन गर्न सो कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

“धेरै कलाकार एकसाथ आएर यहाँ प्रस्तुति दिँदा राम्रो सन्देश प्रवाह भएको छ, लोकदोहारी हाम्रो मौलिक संस्कृति पनि भएकाले यसबाट पञ्चकोटको चिनारी बढाउनमा पनि अवश्य टेवा पुग्नेछ”, उनले भने।

चर्चित कलाकारको दोहोरी सुन्न आतुर स्रोता-दर्शकको बिहानैदेखि पञ्चकोटमा चहलपहल थियो। बिदाको दिन परेकाले बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकको पनि उस्तै चाप देखिन्थ्यो। पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्यका रुपमा दरिँदै आएको छ।

मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक पञ्चकोट पुग्छन्। देशका विभिन्न भागबाट धर्मवलम्बीसहित पर्यटक आउने गरेको पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताए।

पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो एक सय ३५ फिटको विश्वशान्ति कलश र पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ। अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ।

कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गरेका थिए। हालसम्म पञ्चकोटमा रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ।

धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो। सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ

पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायतका संरचना बनीसकेका छन्। दक्षिण भारतीय शैलीका कलात्मक मठ, मन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन्। पञ्चकोट नेपालका एक सय एक गन्तव्यमध्येमा पर्छ। बागलुङ बजारदेखि आठ किमिमा पञ्चकोट पर्छ। पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ०० बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको