काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन, सहयोग वा सहजीकरण भएको पाइएमा कडा कारबाही गरिने बताएका छन् ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य गैरकानुनी र प्रहरी आचरणविपरीत हो ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुन तथा प्रहरी सङ्गठनको नीतिगत व्यवस्थाबमोजिम छानबिन गरी कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । गोप्य विवरण चुहावट गर्ने व्यक्तिमात्र नभई त्यस्ता कार्यलाई प्रोत्साहन गर्ने, सहयोग पुर्याउने तथा सहजीकरण गर्ने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
अनुसन्धानका गोप्य विवरण सार्वजनिक हुँदा अनुसन्धानको दायरामा रहेका शङ्कास्पद व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पर्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता र संवेदनशीलतामा समेत प्रभाव पर्न सक्ने प्रहरीको भनाइ छ ।
प्रहरी नियमावली, २०७१ को नियम ७९ मा रहेको आचरणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएमा नियम १०९ र ११३ अनुसार विभागीय कारबाही हुने प्रहरीले जनाएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ का उपदफा (३), (४) र (५) मा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेसम्बन्धी कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ ।
प्रहरी प्रधान कार्यालयले बहालवाला तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन र सार्वजनिक नगर्न निर्देशन दिएको छ ।
प्रहरी निरीक्षक भएको भन्दै दुई लाख माग्ने पाँच पक्राउ
यसैबीच, प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई छुटाइदिने बहानामा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ का ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ का २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ का ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ का ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी प्रभाग काँडाघारीमा एक व्यक्तिलाई सोधपुछका लागि बोलाइएको थियो । सोही क्रममा उनलाई भेट्न पुगेका भाइसँग त्यहाँ रहेका व्यक्तिहरूले आफूहरू प्रहरी निरीक्षक भएको परिचय दिएका थिए ।
उनीहरूले उनका दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेको प्रहरीले जनाएको छ । रकमको व्यवस्था गरे मुद्दा नचलाई छुटाइदिने भन्दै उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएका थिए ।
होटलको खर्च तिर्न अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया