चिसो मौसममा दाँतमा गम्भीर समस्या हुनसक्छ « Khabarhub

चिसो मौसममा दाँतमा गम्भीर समस्या हुनसक्छ

‘सुत्नु अगाडि नियमित दाँत मोल्नुपर्छ’



दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैको लागि महत्त्वपूर्ण अङ्गको रूपमा लिने गरिन्छ । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा हामीले खाएको खानेकुरा चपाउने र त्यसलाई पाचन प्रणालीसम्म पुर्याउन सहयोग गर्ने काम दाँतले गर्छ । गर्मी मौसममा दाँतको समस्या धेरै देखिने भए पनि जाडो मौसममा केही गम्भीर खालको समस्या देखिने चिकित्सक बताउँछन् । चिसो मौसममा शरीरमा देखिने अन्य संक्रमणको असर दाँतमा पनि पर्छ । दाँतसम्बन्धी विभिन्न समस्यामध्ये दाँत सिरिङ्ग हुने समस्या पनि एक हो । चिसो मौसममा मात्र नभई यो समस्या अरू बेला पनि देखिन्छ । त्यसैले यसै विषयमा आधारित भएर दन्त चिकित्सक डा. ऋतु श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

चिसो मौसम बढेसँगै धेरैमा दाँतमा समस्या देखा पर्छ भनिएको छ, त्यस्तो समस्या के हो ?
चिसो मौसममा गर्मीमा भन्दा धेरै बिरामी दाँत सिरिङ–सिरिङ भयो भनेर आउनु हुन्छ । चिसोले गर्दा भन्दा पनि चिसोमा हुने हावापानीको कारणले गर्दा दाँतमा धेरै समस्या देखिएको हो । जाडोमा हामीले प्रयोग गर्ने पानी र हावा धेरै नै चिसो हुन्छ । त्यो चिसो दाँतमा पर्दा दाँत खिएको वा किराले खाएको व्यक्तिमा सिरिङ–सिरिङ हुने हुन्छ । समस्या पहिला नै देखिएको हुन्छ तर जाडोमा चिसोले गर्दा धेरैले त्यो महसुस गर्छन् । चिसोमा धेरै किराले खाने भन्दा पनि किराले खाएको दाँत जाडोमा महसुस धेरै हुने हो ।

यो चिसो मौसममा नै सिरिङ–सिरिङ बढी हुने हो कि अरू समस्या पनि छन् ?
चिसो मौसममा धेरै समस्या हुने हैन महसुस धेरै हुने हो । चिसोमा हावा र पानी धेरै चिसो हुने हुँदा मुखमा राख्दा चिसो हुन्छ र सिरिङ–सिरिङ हुने हुन्छ । भरेको दाँत छ भने त्यो भरेको सामान र हाम्रो दाँत टुक्रिने र झर्ने हुन्छ । त्यो गर्मीमा धेरै हुँदैन किनभने दाँत र बाहिरको वातावरणबीचको टेम्प्रेचर ठिक्क हुन्छ, पानी पनि मनतातो नै हुन आउँछ । यो दाँतमा सिरिङ–सिरिङ हुने ठुलो समस्या नै त हैन, तर धेरै नै सिरिङ–सिरिङ भयो भने चाहिँ के कारणले भएको भनेर एक पटक जँचाउँदा हुन्छ । जाँच गर्दा साधारण समस्या रहेछ भने कुनै साधारण दन्त मंञ्जनहरु प्रयोग गर्दा पनि निको हुने हुन्छ । त्यसैले के कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

सिरिङ–सिरिङ भएर पनि समयमा अस्पताल गएन भने यसले पछि कुनै समस्या निम्त्याउँछ कि ?
समस्या त निम्त्याउँछ, रोग भनेको सानोमा नै उपचार गर्दा राम्रो हुन्छ । रोग बढ्दै गए पछि भनेको जस्तो निको हुँदैन । सानो सिरिङ–सिरिङ भएको छ भने उपचार गर्दा किराले थोरै खाएको हुन सक्छ र साधारण भर्दा हुन्छ । तर ढिलो भएर जरासम्म नै किराले खायो भने जरादेखि नै भर्नु पर्दछ । पैसा पनि धेरै खर्च हुन्छ । समयको पनि खर्च हुन्छ र आफूलाई पनि धेरै गार्हाे हुन्छ । त्यसैले दाँतको समस्या भनेको जति चाँडो उपचार भयो त्यति नै राम्रो हो । समस्या सामान्य हो या जटिल हो भनेर आफैले भन्न सकिँदैन त्यसैले समयमा नै उपचार गर्नु पर्दछ ।

दाँतमा सिमेन्ट भर्दा धेरै समस्या देखा पर्दछ भन्ने धारणा छ, यो कतिको सत्य छ ?
सिमेन्ट भरेर समस्या देखिन्छ भन्दा पनि हामीले बिग्रेको दाँतलाई उपचार गरेको हो । कि त्यसलाई निकालेर फल्नु पर्यो कि त भर्नु नै पर्यो । हामीले जति नै गरे पनि किराले खाएको दाँतलाई पहिलाको जस्तो नै त बनाउन सक्दैनौँ । र सिमेन्ट भरेपछि फेरि किरा लाग्दैन भन्न सकिँदैन । राम्रोसँग सफा गरेन भने धेरै कडा खानाहरू खायो भने फेरि पनि किरा लाग्न सक्छ । त्यसैले ख्याल गर्नु पर्दछ । आफ्नो पहिलाको प्राकृतिक दाँतमा त किरा लाग्छ भने भरेकोमा पनि लाग्न सक्छ । त्यसैले एक पटक भरेको दाँत अब केही हुँदैन भन्नु हुँदैन ।

यो मौसममा कस्तो लापरबाही गर्यो भने यो समस्या बढ्छ त ?
लापरबाहीले नै समस्या बढ्ने हो । दाँतमा कुनै समस्या आयो लक्षण आयो भने त्यो आफै निको भएर जाँदैन । शरीरको कुनै अंगमा लागेका कतिपय रोगहरू आफै निको भएर जान्छन् तर दाँतमा त्यस्तो हुँदैन, एक पटक किराले खाएको दाँत कि त भर्नै पर्यो कि त फल्नै पर्यो। त्यसैले दाँतको मामलामा लापरबाही गर्नु हुँदैन । हरेक ६ महिनामा दाँतको जाँच गर्यो भने पनि दाँतमा आउने धेरै समस्याबाट बच्न सकिन्छ । दाँतको ३ वटा तह हुन्छ । त्यसमा बाहिरको तहमा समस्या आयो भने कुनै दुखाई हुँदैन । तर बाहिरको तह बिग्रिएर भित्र पुग्यो भने सिरिङ–सिरिङ हुने हुन्छ । दाँतमा सिरीङ सिरीङ भयो वा अरू केही समस्या आयो भने दाँतको पहिलो तह बिग्रियो भनेर बुझ्दा हुन्छ ।

दाँतमा कुनै समस्या नआओस् भनेर बिहान उठेदेखि बेलुकासम्म के–के कुरामा ध्यान दिने ?
दाँतको हेरचाह गर्ने भनेको दाँत सबैले राति सुत्नु भन्दा अगाडि मोलेर मात्र सुत्ने र बिहान कुल्ला मात्र गर्ने र नास्ता खाए पनि पनि दाँत माझ्ने, दाँतको भित्र बाहिर र चबाउने तिन तिर राम्रोसँग दाँत माझ्ने, दुई दाँतको बिचको भागमा ब्रसले गरेर सफा हुँदैन, त्यसको लागि बजारमा एउटा धागो जस्तो पाउँछ त्यो दिनमा एक पटक प्रयोग गर्ने । धेरै गुलियो खाना नखाने, खानै परे मिलाएर खाने धेरै साह्रो खाना नखाने, बीचबीचमामा धेरै नखाने । खाना खाएपछि बीचबीचमामा कुल्ला गर्ने, पानी खाने, बिस्कुटहरू टाँसिने खाना नदिने, बच्चालाई दूध खुवाएपछि कुल्ला गराउने गर्नुपर्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ३१ बजे

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने