क्यानमा चुलिँदो विवादका कारण नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने चिन्ता « Khabarhub

क्यानमा चुलिँदो विवादका कारण नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने चिन्ता


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ ।

सोही लिग नेपाल क्रिकेट सङ्घ क्यानको पछिल्लो विवादको कारण बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो ।

सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे ।

क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’लाई दिएको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । उक्त निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उनको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उनले भने, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।”

अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गरे । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उनले भने ।

आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताए । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन ?”, उनले भने, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।”

क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टसले ३३ करोड रुपैयाँ दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो ।

स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताए ।

लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उनको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ ।

केन्द्रीय सदस्य गौतमले भने, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।”

क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उनको भनाइ छ ।

“अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टसबीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भने ।

क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताए । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उनले भने ।

क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ ।

विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आएका हुन् । उनले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ११ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका