विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज चैत १८, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

भुटानी राजाले भारतको भ्रमण गर्ने

भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतको राजकीय भ्रमण गर्ने भएका छन् । वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् ।

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनले भारतको भ्रमण गर्न लागेका हुन् । भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले पनि भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

क्यानाडा र अमेरिकाको सीमामा रहेको जलक्षेत्रमा थप २ शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्न क्रममा रहेका बुझिएको छ ।

तीमध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।

पाकिस्तानमा भागदौड हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा रहेको एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु दर्जनौँ घाइते भएका छन् । मृतकहरूमध्ये नौ जना महिला र तीन जना बालबालिका रहेका छन् ।

निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर छ ।

सुडानमा सुनखानी भत्किँदा १० जनाको मृत्यु

सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा) कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था सुनाले भनेको छ, “वादी हल्फा क्षेत्रमा रहेको जबल अल–अहमर खानीमा पहिरो जाँदा दर्जनौं श्रमिक फसेका छन् ।”

रिपोर्ट अनुसार खानीमा पहिरोमा पुरिएको सबै श्रमिकको मृत शरिर जमिनको बाहिरी सतहमा ल्याइएको छ । मृतकमध्ये अधिकांश किशोर रहेका छन् भने उद्धारकर्मीले तीन जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहे पनि स्थानीय सुरक्षा स्रोतले उद्धार कार्यमा कठिनाइ भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सङ्केत गरेको छ ।

सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्य रूपमा लिने गरिएको छ ।

सुडानको खनिज मन्त्रालयका अनुसार २० लाखभन्दा बढी सुडानीहरू खानी क्षेत्रमा काम गरिरहेका छन् । ती खानीले देशको लगभग ८० प्रतिशत सुन उत्पादन गर्दछन् ।

वाल स्ट्रिटका पत्रकारलाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध पनि अस्वीकार गरेका छन् ।

आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका हुन् । रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले उनलाई रुसी सैनिकका बारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।

पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताएको छ । राष्ट्रपति बाइडेनले तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गरेका छन् ।

पत्रिकाले पत्रकार इभानलाई सम्बोधन गर्दै लेखको एक पत्रमा उनको रिहाइ एवम् सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । उनको सुरक्षालाई पत्रिकाले उच्च महत्व दिएको जनाएको छ ।

पाकिस्तानमा मुद्रास्फीति

पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको छ ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो पीबीएसका मोहम्मद मजहरले बताए ।

पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत वर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ ।

सन् १९६५ को जुलाईयता मार्चमहिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानका अत्यधिक मुद्रास्फीति मापन गरिएको छ ।

उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जुनदेखि घट्ने विज्ञहरुको अनुमान छ ।

गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पुर्‍याएको र मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज

श्वासप्रश्वाससम्बन्धी ब्रोन्काइटिस समस्याका कारण तीन रातको अस्पताल बसाइपछि क्याथोलिक इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना भएका ८६ वर्षीय धर्मगुरु कारबाट ओर्लेर मुस्कुराउदै आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए ।

फ्रान्सिसले अब क्रिश्चियन क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण हप्ता पवित्र सप्ताह र इस्टरको तयारी सुरु गर्ने बताइएको छ ।

सेन्ट पिटर स्क्वायरमा बुधबार आयोजित धार्मिक सभापछि पोपले आफूले अस्वस्थ महसुस गरेको बताएका थिए । तर अस्पतालको बसाईमा उनलाई एन्टिबायोटिक दिएपछि स्वास्थ्यमा छिट्टै सुधार आएको होे ।

पोपले शनिबार सेन्ट पिटर्स स्क्वायरमा ‘पाम सन्डे मास’ को नेतृत्व गर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ०४ बजे

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्