बहिर्गमित लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय मेरो होइन : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

बहिर्गमित लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय मेरो होइन : प्रधानमन्त्री प्रचण्ड


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहिर्गमित लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय आफ्नो नभएको  दाबी गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको आदेशका आधारमा पूर्ववत् निर्णय कार्यान्वयन गर्न खोजिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए ।

उनले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पीडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखौँ नेपाली नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

राहदानी लिनैका लागि लामो समयसम्म लाइनमा रहनुपर्ने बाध्यताको अन्त्य भएको, सवारी चालक अनुमतिपत्रमा रहेको समस्या क्रमशः हटेको र विद्यालयमा भर्ना हुनु अगावै देशैभरका विद्यार्थीले सहज रूपमा पाठ्यपुस्तक पहिलो पटक पाएको भन्दै प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गरे ।

सरकारले केही सकारात्मक कामको सुरुवात गरेपछि जनविरोधी तत्वले गलत प्रचार गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले देश र जनताको पक्षमा धमाधम निर्णय गर्न थालेपछि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी तत्त्वलाई सह्य नभएकाले विरोधमा उत्रिएको र नेपाली जनतालाई भ्रम दिन खोजेको उनले उल्लेख गरे ।

नेपाली जनताले त्याग र बलिदानबाट स्थापित गरेको प्रणालीमाथि विभिन्न कोणबाट आक्रमण भएकाले त्यसलाई परास्त गर्न मजदुर वर्गले सशक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको बलमा स्थापित भएको मूल्य र मान्यता उल्ट्याउने खोज्ने प्रवृत्तिका विरुद्ध जुध्न जरुरी छ । प्रतिगमन र प्रतिक्रान्तिकाविरुद्ध एक पटक सशक्त रूपमा प्रतिवाद गर्नु जरुरी छ ।’

उनले अहिले प्राप्त भएको प्रधानमन्त्रीको जिम्मेवारीलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए। सरकारको नेतृत्वका रूपमा गरेका प्रत्येक सकारात्मक पहलकदमी र निर्णयविरुद्ध प्रहार भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘क्रान्तिमा लागेर प्राण उत्सर्ग गरेकालाई राष्ट्रिय शहीदको रूपमा मान्यता दिन खोज्दा प्रहार भएको छ । त्यसका विरुद्ध सशक्त प्रतिवादको जरुरी छ ।’

सरकारको साझा कार्यक्रम  प्रतिनिधिसभामा आफूले गरेको सम्बोधनमा सामाजिक न्याय र श्रमिकको हक अधिकारलाई विशेष प्राथमिकता राखेको र सोही अनुसारका गतिविधि अगाडि बढाएको उनको भनाइ छ । यस्तै, सरकारले सुशासन र समृद्धिलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै २०४८ सालदेखिका सबै भ्रष्टाचारको विषयमा छानबिन गर्न छिट्टै उच्चस्तरीय आयोग गठन गरिने जानकारी उनले दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन घोषणापत्र अनुसार, २०४८ सालदेखिका सबै भ्रष्टाचार छानबिनका लागि छिट्टै आयोग बनाउने तयारी गरिएको छ । यसो गरेपछि कतिपय छटपटाउन थालेका छन् ।’

त्यस्तो प्रवृत्तिलाई आफूले जनयुद्ध दिवसको दिन फागनु १ गते सार्वजनिक बिदा दिएर प्रतिवाद गरेको प्रधानमन्त्रीको भनाइ छ । मुलुक आर्थिक रूपले पूर्णरुपमा सङ्कटमुक्त नभए पनि सरकारले चोरी पैठारी रोक्न कडा कदम चालेको र त्यसको सकारात्मक नतिजा देखा परेको प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले सम्पूर्ण तागतसहित काम गर्न नपाए पनि केही क्षेत्रमा उल्लेख्य प्रगति भएको, राजस्व सुधारतिर गएको, विदेशी मुद्राको सञ्चिति बढेको तथा विप्रेषण आप्रवाहमा वृद्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।

बैंक, लघुवित्तको समस्या समाधानमा सरकार केन्द्रित रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने,’एकथरी मान्छे जनताको पक्षमा एकपछि अर्को काम हुन थाल्यो भनेपछि झुटो प्रचार गर्न थालेका छन् । क्रान्तिकारीलाई अपमान गर्ने कोसिस भएको छ । त्यसका विरुद्ध तपाईँ हामीले नै  प्रतिवाद गर्नुपर्छ ।’

फरक एक प्रसङ्गमा आउने नीति तथा कार्यक्रम र बजेट श्रमिक जनतामुखी होस् भन्नेमा आफ्नो प्रमुख ध्यान रहेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसका लागि आफूले विशेष पहल गरिरहेको बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरू लीलामणि पोखरेल, जयपुरी घर्तीलगायतले मजदूर वर्गको हितका लागि सरकारले अधिकतम प्रयास गर्नुपर्ने बताए । कार्यक्रममा मजदुर नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : २६ बजे

एन्फा एकेडेमीका छ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

मकवानपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी– पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक

अविरल वर्षासँगै आएको बाढी पहिरोमा ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं– अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न

विपद्‌ प्रतिकार्यमा खटिन मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको बर्खा र

नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन- उद्धार तथा राहतमा खटिनू

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका नेता–कार्यकर्ताहरूलाई समुदाय स्तरमा उद्धार तथा सहयोग