दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आज महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, नेपाल र यूएईबीचको खेल भोलि पनि हुने, रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन, १९ जना कोरोना संक्रमित थपिएलगायतका समाचारले प्रमुख स्थान पाए । 

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।

सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् ।

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् ।

गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानेलाई चयन गरिएको हो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने- नजानेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने- नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।

सरकारमा जाने -नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ। उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

बैंकको ब्याजदर घट्दो क्रममा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् ।

सोमबार बिहान मौलाकालिका केबलकार प्रालिद्वारा निर्मित मौलाकालिका केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमी ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए। अहिले त्यसमा क्रमशः सुधार आउँदैछ। बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ।’

‘अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो। तर, निकै ठूलो दुख र मेहेनतपछि त्यसमा राम्रो सुधार आयो। ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो। राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो। त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ। अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु।’

‘उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन। त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौँ’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र लयमा फर्किन थालेको छ। यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु। अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ।’

‘मौलाकालिका राष्ट्रिय रूपमा नै पर्यटकीय केन्द्र बन्दै गएको छ। मौलाकालिका, देवघाट, राष्ट्रिय निकुञ्ज, नारायण नदी आफैमा पर्यटनका ठूला गन्तव्यहरू हुन्’ प्रधानमन्त्रीले भने , ‘यो परियोजनाले यी क्षेत्रहरूलाई जोड्नेछ। यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनमा गुणात्मक प्रगति हासिल हुनेछ भन्ने विश्वास लिएको छु। चितवन र नवलपुरलाई विशेष आर्थिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ। यसो गर्दा यहाँको विकासले क्रान्तिकारी फड्को मार्नेछ।’

‘निजी क्षेत्रलाई संकटबाट मुक्त गर्न र माथि उठाउन यसबीचमा ठूलो मेहेनत गरिएको छ। मेहेनतको सबै नतिजा त आइसकेको छैन, तर क्रमशः सुधार भएको छ। निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरी नेपालको समृद्धि र विकासले गति लिन सक्दैन भन्नेमा म प्रष्ट छु। उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका नै मुख्य रहन्छ। त्यसमा राज्यले आवश्यक वातावरण निर्माण, व्यवसायमैत्री कानुन र सुरक्षा प्रबन्धको व्यवस्था गर्नुपर्छ।’ प्रधानमन्त्रीले भने।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, नेपाली कांग्रेसका नेता शशांक कोइराला, केवलकारका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले सम्बोधन गरेका थिए । नवलपुरको गैंडाकोट नगरपालिकामा निर्माण सम्पन्न यस परियोजना १३ महिनामा सम्पन्न गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

१.२ किलोमिटर लम्बाइ रहेको केबलकार र होटल निर्माणमा प्रालिले करिब २ अर्ब लगानी गरेकोसमेत उनले बताए ।

जनताका आशाअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औंलो ठडिने धारणा राखे । अध्यक्ष नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले ठूला दलहरू सतर्क बन्नुपर्ने र कमिकमजोरीहरू खोजिनुपर्ने जिकिर गरे ।

उनले संविधानमा मौलिक अधिकार र सामाजिक सुरक्षालाई प्रत्याभूत गरेको बताए । मुलुकको युवा पलायनलाई रोक्नका लागि पनि सामाजिक सुरक्षा योजना निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए । हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ थियो ।

‘निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ । निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ’, उनले भने, ‘उद्योग बन्द गराउने काम हुनुहुँदैनथ्यो । हिजो भए । अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ ।’

उनले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए। ‘समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ । हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ’, उनले भने , ‘हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ ।’

उनले देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा राखे । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राखे। ‘भ्रम, भावनाबाट देश बन्दैन । हामीले योजनाबद्ध ढंगले सही नीतिका साथ देशलाई अगाडि बढाउनुपर्दछ,’ उनले भने।

अध्यक्ष ओलीले श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भए पनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको भनाइ राखे । प्रजातन्त्र, सामाजिक समानता, लैङ्गिक समानता, शोषणको अन्त्य, थिचोमिचो र दमनको अन्त्य, समान कामको समान ज्याला, आठ घन्टा काम आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम आदि कुराको सुधार श्रमिकको सङ्घर्षबाट प्राप्त गरेको उनको भनाइ थियो ।

उनले मजदुर र जनताको हित गर्ने प्रणाली समाजवादी प्रणालीमात्र भएको भन्दै नेपाली जनताको भलाइ समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा भएपछि सबै जनताले समृद्धिको प्रतिफल प्राप्त गर्ने बताए । टे«ड युयिनयन आन्दोलनलाई कमजोर पारेर पूँजीपति वर्गले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले आफू पूँजीवादको विरोधी भए पनि पूँजीको विरोधी नभएको स्पष्ट पारे । ‘हामी पूँजीवाद विरोधी त हौँ । तर पूँजी विरोधी होइनौँ । मानिस पूँजी हुनपर्दछ तर पूँजीवाद भनेको शोषणवाद हो, पूँजी हुनुपर्दछ भनेको समृद्ध हुनुपर्दछ भनेको हो’, उनले भने। उनले आफू शोषणकारी पूँजीवादको पक्षमा नभई राष्ट्रिय पूँजीवादको पक्षमा रहेको बताए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् । सोमबार दिउँसो सिनेट कार्यालय रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आईपीयूलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरे ।

उनले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू हुने आशा समेत व्यक्त गरे ।

साथै उनले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए । कम्बोडियन सिनेटका अध्यक्ष सुमले सन् १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता जनाए ।

त्यसअघि अध्यक्ष तिमल्सिनालाई नोम्पेह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गरेका थिए । त्यसअवसरमा दुई पक्षीय हित र अनुभव आदानप्रदानका विषयमा छलफल समेत भएको थियो ।

सोमबार नै एसियाली सांस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने र मंगलबार कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन) को उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी भई बधाई समेत दिने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

मिटरब्याजी पीडितका मागका विषयमा सरकारसँग छलफल गर्छौ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् ।

सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् । बाध्यतामा परि ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।

भट्टराईले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदिशालाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।

मोरङ-सुनसरी-कटहरी क्षेत्रका उद्योगमा विद्युत् कटौती

मोरङ-सुनसरी-कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार सङ्घले आपत्ति जनाएको छ ।

विगतका कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अतिआवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै यस सङ्घले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाध विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यकम लगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचना बिना मौखिकरूपमा विद्युत् आपूर्ति कटौती गरिदिने कुरा यस सङ्घको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि भन्ने प्रश्न उठेको जनाइएको छ ।

१९ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइसोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ५९ बजे

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

खजुरा– वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध