गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या | Khabarhub Khabarhub

गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फल दिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । 

कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । ‘तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ’, मदाने गाउँपालिका-३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भने, ‘गवारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ ।’

अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्ने जस्ता समस्या देखिएको बताउनुभयो । कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ । ‘सानैमा बिरुवा मर्ने समस्या भयो, बाँचेका केही बिरुवा अहिले हुर्कंदै छन्’, अर्यालले भने, ‘पानी, मल र छहारी भएमा कफी उत्पादनमा वृद्धि हुने थियो ।’ 

सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताए । त्यस्तै उनले कफीका मुन्टा भाँचिने, असिना र शितबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्यरूपमा छहारी आवश्यक पर्ने बताए । राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६-७७ मा एक हजार छ सय ४५ कृषकले एक सय ८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिकटन उत्पादन भएको थियो । आव २०७७-७८ मा एक हजार छ सय ९५ कृषकले दुई सय पाँच हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्यांक छ । 

त्यसैगरी आव २०७८-७९ मा एक हजार सात सय ४० कृषकले दुई सय २५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिकटन कफी उत्पादन भएको थियो । चालु आवमा ३० मेट्रिकटन कफी उत्पादन हुने कार्यालयको अनुमान छ । चालु आवमा दुई सय ४१ हेक्टरमा एक हजार आठ सय पाँच कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् । 

पोखरेलले कफीमा आइपर्ने विभिन्न समस्याको न्यूनीकरणका लागि तालिम सञ्चालन गरेको बताइन् । उनले मदाने–३ सिर्सेनीमा १५ हप्ते तालिम नै सञ्चालन गरी कफीको खाडल व्यवस्थापन, बिरुवा हुर्काउने तरिका, सेतो गवारोको समस्या र समाधानका उपाय, छहारीको महत्वलगायतका विषयमा तालिम दिएको बताइन् । ‘सेतो गवारोबाट बच्ने उपाय भनेकै पेष्ट र सरसफाइ गर्ने हो’, उनले भनिन्, ‘त्यसका लागि हामीले तालिमका साथसाथै विषादी पनि उपलब्ध गराएका छौँ ।’

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १ : २३ बजे

आईपीएल स्थगित

काठमाडौं- यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित

काठमाडौं- भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू

भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि

भारतको पक्षमा उभिने सरकारको निर्णयलाई रास्वपाको समर्थन

काठमाडौं– भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न