दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता, भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने, नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर, प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता, नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत,नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट लगायत समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता 

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो। यसअघि राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए।

बुधबार चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा कार्गो रेलमार्गको उद्घाटन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।

भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ ।

आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ ।

सो आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । सो रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ ।

केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो ।

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेल मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।

नेपालसँगको सीमा समस्या समाधान गर्ने माेदीकाे भनाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा समस्याको समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौँ ।’

मोदीले दुई देशको सम्बन्धलाई उचाइ दिन काम गरिरहने बताए ।

नेपाललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सीमा क्षेत्रको हवाई अनुमति

नेपालले भारतबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ ।

भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको बताए ।

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् ।

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए । त्यसका लागि भारतले झन्डै १७ अर्ब रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भएको छ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए ।

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए ।

उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए। ‘नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संरक्षणका लागि पनि महत्त्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भने ।

भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उनले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताए । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ ।

उनले नेपालबाट भारत हुँदै बंगलादेशसम्म दैनिक ५० मेगावाट विद्युत् पुर्‍याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गरे। उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बंगलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताए।

उनले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए ।

उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए। उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताए । उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए ।

व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गरे । उनले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताए ।

प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताए । ‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ’, उनले भने। उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताए । उनले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताए।

भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गरे ।

सो अवसर प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्द्रपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताए ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गरेको हो ।

आज रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झा, असिम साह, हरि ढकाल, तोसिमा कार्की र विनिता कठायतलगायतले संघीय संसद् सचिवालयमा संकल्पप्रस्ताव दर्ता गराएका हुन् ।

‘असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्छ, बजेटको विश्वासनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ’, संकल्प प्रस्तावमा उल्लेख छ, ‘सरकारले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् ।’

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

राष्ट्रपति पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट हालेका हुन्।

संसद्‍मा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप छ । रिटमा नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति चाहिने पनि भनिएको छ।

अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

गर्मी बढेपछि झापाका केही स्थानीय तहमा विद्यालय बन्द

झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् ।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ। आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : ५८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन