विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार | Khabarhub Khabarhub

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै पनि नेपाली समाजका कतिपय महिलाहरूमा यो चेतनाको कमीले गर्दा शिशु जन्मेपछि आउने पहिलो दूधलाई खेर फाल्ने चलन पनि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था भने सन्तोषजनक छैन । आमा र बच्चाका लागि स्तनपानको महत्व के छ ? स्तनपान गराउँदा के कुरामा ध्यान दिने ? दूध आउँदा आउँदै स्तनपान नगराउँदाको असर के के हुन् ? यस्तै आधारित रहेर पोषणविद् डा. मनसा थापा ठकुराठीसँग गरिएको कुराकानीको सम्पादित अंश:

स्तनपान भनेको के हो र यो किन महत्वपूर्ण छ ?

सामान्यतया शिशुलाई आफ्नो आमाको दूध चुसाउनुलाई नै स्तनपान भनिन्छ । नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भीक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गरिन्छ । केही घण्टामात्र ढिलो गरी स्तनपान गराउनाले पनि शिशुको जीवन जोखिममा पर्नसक्छ । आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध उत्पादनमा पनि सहयोग पुग्छ । शिशु जन्मनेबित्तिकै आउने बिगौती दूध एकदमै पोषिलो हुने र शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ को रूपमा पनि लिइन्छ ।

स्तनपान गराउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

स्तनपान गराउने आमाले सबैभन्दा पहिला सफा र खुकुलो लुगा लगाउनुपर्छ । त्यस्तै, आमाले स्तनपान गराउनुअघि स्तन र हातलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि शिशुलाई काखमा राखेर दूध चुसाउनुपर्छ । दुबै स्तनबाट १५ मिनेट जति स्तनपान गराउँदा बच्चाले दूधमा भएको पौष्टिक तत्व प्राप्त गर्छन् । दूध खुवाइसकेपछि काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारेर डकार्न लगाउँदा स्तनपान गर्नेबित्तिकै शिशुले वान्ता गर्दैनन् । शिशु बिरामी छ भने बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । नियमित स्तनपान गराएको बच्चामा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र रोग लाग्दैन । यसले बच्चालाई बलियो बनाउँछ र आमामा स्तन क्यान्सर हुने जोखिम पनि कम हुन्छ । त्यसैले, स्तनपान गराउँदा शिशु र आमा दुवैलाई फाइदा हुन्छ ।

स्तनपानका आमा र बच्चामा के कस्ता फाइदाहरू छन् त ?

शिशुलाई समय समयमा दूध खुवाउँदा आमामा स्तन क्यान्सर हुने जोखिम कम हुन्छ । आमालाई मानसिक तथा शारीरिक रूपमा सन्तुष्टि प्राप्त हुन्छ । आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ, जसले गर्दा पाठेघरमा कुनै समस्या हुँदैन । आमामा ब्लिडिङ हुने समस्या छ भने त्यो पनि कम हुन्छ । यसले गर्दा आमाले दैनिक रूपमा गरिने कामहरू सहजै गर्न सक्छन् । ‘ब्रेस्ट फिडिङ इज बेस्ट फर द बेबी’ भनेर सबैले बुझ्नुपर्छ । स्तनपान गराएका बच्चामा मस्तिष्कको विकास पनि तीव्र हुन्छ र बुद्धि निकै तेज हुन्छ । आमाको दूधमा रोगसँग लड्नसक्ने प्रतिरक्षात्मक तत्व हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ ।स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै कुपोषण, होचोपनालगायतका रोगबाट बचाउँछ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता इम्युनिटी पावर हुने हुँदा शिशुलाई झाडापखाला, निमोनियाजस्ता घातक सङ्क्रमणबाट जोगाउन सकिन्छ । स्तनपानले आमा र बच्चाको सौन्दर्यमा निखार पनि आउँछ ।

स्तनपान नगराउँदा चाहीँ शिशुमा कस्तो असर पर्छ नि ?

आमाले समयमा बच्चालाई दूध खुवाइनन् भने स्तनमा दूध जम्मा हुने र त्यो विस्तारै पाक्दै जाने हुन्छ । त्यसलाई अप्रेसन गरेर, काटेर फाल्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । त्यसैले, बच्चालाई भोकै राखेर यो अवस्था आउन दिनु हुँदैन । हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुपर्छ । दुवै स्तनबाट १० देखि १५ मिनेट दूध खुवाउनुपर्छ ।

पर्याप्त मात्रामा आमाको दूध आएन भने के कस्तो खाना खाने त ?

दूध नआए ज्वानो मेथीको झोल खुवाउनुपर्छ । मेथीभित्र प्रोटिन हुन्छ र यसले आमाको स्तनबाट दूध आउन मद्दत गर्दछ । ज्वानोले ग्यास बन्न दिँदैन र शरीरलाई बलियो बनाउँछ । सुत्केरी हुँदा कोशिका र तन्तुहरू कमजोर भएको हुन्छ, यसले कोशिका र तन्तुलाई बलियो पार्दछ र दूध खुवाउन सजिलो पार्छ । यो व्यक्तिअनुसार पनि भर पर्दछ कसैलाई खाँदा पनि आउँदैन र कसैलाई खाँदा खाँदै आउँछ ।

स्तनपान गराइरहेका महिलाहरूले के कुरामा विशेष ध्यान दिने त ?

स्तनपान गराइरहेका महिलाहरूले वा सुत्केरी आमाले ज्वानोको झोलसहित थप पोषिलो खाना खानुपर्दछ । आमाले दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी मात्रामा खानुपर्छ । सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल र ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्नुपर्छ । दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ हुनेलगायतका समस्याहरु देखा पर्‍यो भने अस्पतालमा गएर जाँच गराउनुपर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ०२ बजे

सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको दुई करोड

दरबारमार्गमा एमालेको सभा, प्रधानमन्त्री ओलीसहितका नेता सहभागी (तस्बिरहरू)

काठमाडौं- सत्तारुढ नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरु भएको

स्वास्थ्य सेवा ऐन अघि बढाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन

सुकुम्बासीको प्रश्न- जग्गा कहिले पाइन्छ ?

भजनी– अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको