परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा जोड | Khabarhub Khabarhub

परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा जोड


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा दुई दिने विचार गोष्ठी शुक्रबार सम्पन्न भएको हो । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश डा. कल्याण श्रेष्ठले हाल नेपालको परराष्ट्र नीति निर्वाहमुखी एवम् परम्परागत भएको भन्दै परराष्ट्र नीतिको पुनरावलोकन जरुरी रहेको धारणा व्यक्त गरे । परराष्ट्र नीति सञ्चालनका लागि चुनौति रहेको बताउँदै उनले यसलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उनले आन्तरिक सुशासन बलियो नभएसम्म वाह्य लगानी भित्रिन नसक्ने भन्दै कूटनीतिक प्रयासले मात्र लगानी भित्रिन नसक्ने जिकिर गरे । नेपालमा विदेशी लगानी भित्र्याउन अर्थ कूटनीति बलियो हुनुपर्ने उनको भनाइ छ । नेपालको अस्थिर राजनीतिको प्रभाव परराष्ट्र नीतिमा पनि देखिएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश डा. श्रेष्ठले परराष्ट्र नीतिको स्थिरताका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

समापन समारोहअघि आयोजित समूहगत छलफलमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने बताए। हामीले हाम्रो मुलुकबारे नभइ अन्य मुलुकको धारणाका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उल्लेख गरे।

‘जबसम्म हामी एक वा अर्को मुलुकको धारणाका आधारमा परराष्ट्र नीति सञ्चालन गर्छौं, तबसम्म हामीले हाम्रो मुलुकको हितमा काम गर्दैनौं ।’ उनले भने।‌ हालै कालापानी र लिपुलेकलाई नेपालमा नसमेटी चीनले जारी गरेको नयाँ नक्साबारे चर्चा गर्दै उनले दुबै छिमेकीले ती क्षेत्र नेपालको हो भनी मान्यता नदिएको अवस्थामा हाम्रो कूटनीतिक क्षमता उदाङ्गो भएको जिकिर गरे ।

छलफलमा नेकपा एमालेका परराष्ट्र विभागमा प्रमुख एवम् स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेपालको कूटनीतिक क्षमतालाई अझै अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । उनले परराष्ट्र नीतिबारे राजनीतिक दलहरूबीच समान धारणा हुनुपर्नेमा जोड दिए। नेपालको परराष्ट्र नीतिलाई भूगोलले निर्धारित गरेको जिकिर गर्दै उनले यसबाट उत्पन्न चुनौती र सम्भावनालाई नेतृत्वले सम्बोधन गर्नुपर्ने धारणा राखे ।

भट्टराईले विदेशमा नेपाली प्रवासीमा समेत आन्तरिक राजनीतिको प्रभाव देखिएको उल्लेख गर्दै प्रवासी नेपालीबारे पनि राजनीतिक दलहरुबीच समान धारणा आवश्यक रहेको उल्लेख गरे ।

छलफलमा संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले सरकारमा जानुअघि र सरकारमा गइसकेपछि राजनीतिक दलको व्यवहारमा परिवर्तन आउने गरेको भन्दै यसबाटसमेत परराष्ट्र नीति प्रभावित हुने गरेको धारणा राखे । नेपालको राजनीति अझै संक्रमणकालमै रहेको बताउँदै सभापति यादवले हरित ऊर्जा क्षेत्रमा नेपालमा ठूलो सम्भावना रहेको चर्चा गरे ।

त्यस्तै, छलफलका क्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले नेपालले ‘सफ्ट पावर’ कूटनीतिमा जोड दिनुपर्ने बताए। नेपालले बढ्दो भूराजनीतिक चासोलाई सम्बोधन गर्न कूटनीतिक व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे । नेपालको परराष्ट्र नीति पारदर्शी हुनुपर्ने उनको जिकिर छ ।

उक्त छलफलको सहजीकरण राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले गरेका थिए । स्वाती, सीईएसआईएफ, पीईआईको सहआयोजना एवम् एसिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको दुई दिने कार्यक्रम बिहीबार सुरु भई शुक्रबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : ०८ बजे

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

नेविसंघको प्रश्न : केपी बा च्या खानु’भो ? रवि दाइ खोइ जीबी राई ? (तस्बिरहरू)

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

पर्सा– मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा

काठमाडौं– सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा

कचनकवलमा अतिविपन्न परिवारको स्वास्थ्य बीमा

झापा– झापाको कचनकवल गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा