विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज भदौ १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति
संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ ।

यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो ।

श्रीलंकाको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ । आर्थिक संकटका कारण श्रीलंकाले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २।९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।

आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलंकाको संकटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक संकट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी संकेत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ ।

गत वर्षको आर्थिक संकटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पारेका थिए, ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाएका थिए र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाएका छन् । सुधारको यस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

थाई पूर्वप्रधानमन्त्री थाक्सिनको जेल सजाय घटाइयो
थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय घटाएर एक वर्ष मात्र बनाइएको छ । थाक्सिन १५ वर्षको निर्वासनबाट फर्केको केही दिनपछि शुक्रबार राजाले उनको जेल सजाय आठ वर्षबाट घटाएर एक वर्ष कायम गरेका हुन् ।

अर्बपति ७४ वर्षीय पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोपमा शाही माफीका लागि निवेदन दिएको एक दिनपछि यो कदम चालिएको हो ।

सन् २००६ को सैन्य ‘कू’ पछि अपदस्थ भएका थाक्सिन सन् २००८ पछि पहिलो पटक थाइल्याण्ड फर्के लगत्तै गत साता जेल चलान भएका थिए ।

राजा महा वजिरालोङकोर्नबाट आंशिक क्षमादानको आधिकारिक पुष्टि राजपत्रमार्फत् गरिएको हो । घोषणाले प्रधानमन्त्रीका रूपमा देशको लागि उनको सेवालाई संकेत गरेको थियो ।

‘उहाँ राजसंस्थाप्रति वफादार हुनुहुन्छ । मुद्दा चल्दा उहाँले न्याय प्रणालीको सम्मान गर्नुभएको थियो,’ थाक्सिनले थुप्रै स्वास्थ्य समस्यासँग जुधिरहेको पनि उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘थाइ नरेशले उहाँलाई आममाफी दिनुभएको छ । थुनामा रहेका थाक्सिन सिनावात्रालाई तोकिएको जेल सजायमा आंशिक क्षमादान गर्दै सजायलाई एक वर्षमा झारिएको छ । उहाँले आफ्नो विशेषज्ञता र अनुभवलाई देशलाई थप विकास गर्न प्रयोग गर्न सक्नुहवस् ।’

गत हप्ता मङ्गलबार पूर्वप्रधानमन्त्रीको स्वदेश फिर्ती उहाँको फेउ थाई पार्टी सैन्य समर्थक पार्टीहरूसँग गठबन्धन गरेर सरकारमा फर्केसँगै धेरैले उहाँको जेल समय कटौती गर्ने सम्झौता भएको अनुमान गरेका थिए ।

पूर्व टेलिकम टाइकून र म्यानचेस्टर सिटीका मालिक थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरूमध्ये एक मानिनुहुन्छ ।

सन् २००० को पहिलो दशकको सुरुतिर उहाँको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले मन पराएका उनको लामो समयदेखि देशको राजावादी र सैन्य समर्थक प्रतिष्ठानद्वारा आलोचना हुँदै आएको थियो ।

थाक्सिन र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने संस्थापनपक्षको प्रयासले विगत दुई दशकमा थाई राजनीतिको अधिकांश भाग रङ्गिएको छ । उनका समर्थकहरूले उनलाई बैङ्ककमा अवतरण गर्दा नायकको रूपमा स्वागत गरेका थिए । त्यस लगत्तै उनलाई पक्राउ गरिएको थियो ।

उनी पक्राउ भएको केही घण्टापछि फेउ थाइकी श्रेता थाभिसिन प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सन् २०१४ मा थाक्सिनकी बहिनी यिङलकलाई सत्ताच्युत गरिएपछि उक्त पार्टीबाट पहिलो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको हो ।

थाइल्याण्डमा पहिलो रात थाक्सिनलाई जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो र जेलका मेडिकल अफिसरहरूले उनलाई मुटुसम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य समस्याहरूको नजिकबाट निगरानी गर्नुपर्ने बताएका थिए ।

थाक्सिनसँग सम्बन्धित पार्टीहरूले सन् २००१ देखि यस वर्षसम्मका हरेक थाई चुनावमा प्रभुत्व जमाएका थिए । तरु यो बर्षको निर्वाचनमा प्रगतिशील मुभ फरवार्ड पार्टी ९एमएफपी० ले सबैभन्दा बढी सिट जितेको थियो ।

तर नयाँ गठबन्धन सरकारले थाक्सिन र यिङलकलाई सत्ताच्युत गर्ने ‘कू’ गर्ने जनरलहरूसँग सम्बन्धित पार्टीहरूलाई ल्याउने क्रममा एमएफपीलाई सरकारमा सहभागी हुनबाट रोकेको थियो । यस घटनाले धेरै थाई नागरिकहरू आक्रोशित बनेका छन् ।

साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्डको फैसला

साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लङ्घनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी गरेका उनलाई मृत्युदण्डको सजाय सुनाएको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले ५४ वर्षीय पूर्वशिक्षक मोहम्मद अलघामदीलाई गत महिना उक्त फैसला सुनाएको उनका भाइ सइद बिन नासर अलघामदीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । बेलायत निर्वासनमा रहेका उनले आफ्नो जीवन पनि साउदीमा सुरक्षित नहुने बताएका छन् ।

साउदीमा कोही पनि सुरक्षित नभएको सन्देश उक्त फैसलाले दिएको टिप्पणी गर्दै सिएनएनले सामाजिक सञ्जालमा गरिएको सामान्य टिप्पणीलाई लिएर यति भयानक दण्ड सुनाउनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको फैसला भएको बताएको छ ।

अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले बताएका छन् । मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मिक व्यक्तिहरूको समर्थन गरेका थिए ।

उनले जम्मा पाँच वटा ट्वीटका लागि ज्यान अर्पण गर्नुपर्ने फैसला आएको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बताएको छ । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा अलघामदीले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । दश जनाभन्दा कम ‘फलोअर्स’ भएका पूर्वशिक्षक अलघामदीलाई प्राण दण्डको घोषणा भएकामा अन्तर्राष्ट्रिय मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारको आलोचना गरेका छन् ।

साउदी सरकार मृत्युदण्डका कारण अन्तर्राष्ट्रिय जगत्मा बारम्बार आलोचनाको पात्र बनेको छ । गत वर्ष एक सय ७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रूर ढंगले शिरच्छेदन गर्ने उसको परम्परा छ ।

साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’ सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।

गत वर्ष एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएकामा विरोध गर्दै एम्नेष्टी इन्टरनेशलले साउदी अरबको भिजन २०३० खोक्रो आश्वासनको पुलिन्दा भएको टिप्पणी गरेको थियो ।

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा
पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन् ।

बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ ।

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका थिए । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उनलाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए ।

विमान उडेको केही बेरमा आफूसँगै रहेका पत्रकारहरूसँग मङ्गोलियाको विशाल भूभाग तर कम जनसङ्ख्या भएको देशबारे अनुमान गर्न सकिने बताउँदै कूटनीति भने गाह्रो कर्म भएको उल्लेख गरे । कहिलेकाँही कूटनीतिमा हास्यको भावना पनि चाहिने उनले बताए ।

चिनियाँ हवाई क्षेत्र पार गरेर मङ्गोलिया आएका पोपले चिनियाँ राष्ट्रपति सी चीनफिङलाई टेलिग्राम सन्देश पठाएर अभिवादनसहित उनीप्रति शुभकामना व्यक्त गरेका छन् । चीनको हित, शान्ति र एकताका लागि ईश्वरीय आशीर्वादको प्रार्थना गरेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा कजाकिस्तानको भ्रमणपछि पोप फ्रान्सिसको यस क्षेत्रमा भएको यो दोस्रो भ्रमणको भूराजनीतिक एवम् रणनीतिक महत्व छ । यो भ्रमणलाई मङ्गोलियाको कमजोर लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रोत्साहन गर्ने र गिर्जाघरलाई देशका विभिन्न भागमा सहज प्रवेश गर्न सघाउने विश्वास गरिएको छ ।

मध्य एसियाप्रतिको होली सी दृष्टिकोण तथा रूस र चीनसँगको सहकार्यलाई निरन्तरता दिने नीतिका रुपमा बुझ्न क्याथोलिक धर्मका विद्वान् मिशेल च्याम्बोनले एएफपीलाई बताएका छन् ।

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ ।

युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी हो भने उक्त देशका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले रुसको विशेष सैन्य कारवाहीलाई समर्थन गरेका छन् ।

तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तरराष्ट्रिय जगत्बाट आलोचनाको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको हुन सक्ने बताएको छ

प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका छ वटामध्ये पाँच वटा समारोह स्टकहोममा आयोजना हुने गरेका छन भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ ।फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ । अध्यागमन विरोधी स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यस वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन् ।

फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाई समेट्ने प्रयास गरिएको बताएका छन् ।

‘यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,’ हेल्गेसनले भनेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ५९ बजे

सार्क महासचिव र भुटानी नरेशबीच भेट, सार्कका गतिविधि र आगामी योजना बारे छलफल 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम

तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ

कास्की- तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले

बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट

रुपन्देही र ललितपुरमा दुई जना मृत फेला

काठमाडौं–  रुपन्देही र ललितपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन्

सोमबारदेखि सरकारी खाता रोक्का, चालू आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

काठमाडौं– सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द