देश/प्रदेश

सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २७ जना घाइते

By खबरहब

October 01, 2023

सिरहा- सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

सिरहाको गोलबजार नगरपालिका ९ मारुती सिमेन्ट उद्योगअगाडि राजविराजबाट जनकपुर जाँदै गरेको ना ४ ख ६१८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डले जानकारी दिए ।

अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भएपनि अझै घाइते हुनसक्ने र कतिपय बिरामीहरू एम्बुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको सूचना अधिकारी पाण्डले बताए ।

बिग्रिएको बाटोमा अनियसन्त्रत भई बस पल्टिएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।