विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

तालिवान सरकारले बन्द गरायो भारतको अफगान दुतावास

भारतमा रहेको अफगान दूतावास बन्द भएको छ । तालिवान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो ।

दूतावासले भनेको छ, ‘तालिवान सरकारको निर्देशन र कोषमा काम गर्ने केही वाणिज्य दूतावासहरू छन्, तिनीहरू वैध छैनन् र न त उनीहरूले निर्वाचित सरकारको जनादेश अनुसार काम गरिरहेका छन् ।’ उल्लेखनीय के छ भने अफगानिस्तानमा तालिवान शासन स्थापना भए पनि अफगानिस्तानको पुरानो सरकारका कूटनीतिज्ञहरू भारतमा कार्यरत थिए।

अफगान दूतावासले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःख, खेद र निराशाका साथ हामी नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासले आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको घोषणा गर्दछौँ।’ अफगानिस्तान र भारतबीचको ऐतिहासिक सम्बन्ध र दीर्घकालीन साझेदारीलाई ध्यानमा राख्दै यो निर्णय अत्यन्तै खेदजनक रहेको दूतावासले जनाएको छ ।

अफगान दूतावासले कूटनीतिक सम्बन्धसम्बन्धी भियना कन्भेन्सन ९१९६१० को धारा ४५ अनुसार दूतावासको सम्पूर्ण सम्पत्ति दूतावासले काम गरिरहेको देशलाई दिइने बताएको छ । दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी भारत सरकारलाई यसअघि पेश गरिएको आधिकारिक नोटका चार बुँदालाई ध्यानमा राखेर विचार गर्न अनुरोध गर्दछौँ ।’

‘अफगानिस्तानको दूतावासले निश्चित कन्सुलरहरूको गतिविधिको बारेमा स्पष्ट बयान दिन चाहन्छ। यी कन्सुलरहरूले गरेका कुनै पनि कार्यहरू वैध वा निर्वाचित सरकारको उद्देश्यसँग असंगत छन् भन्ने हाम्रो दृढ विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानका राजदूत र दूतावासका कूटनीतिज्ञहरूले गत २२ वर्षमा अफगानिस्तानलाई सहयोग गरेकोमा भारतका जनता र भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् ।

अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्षात्कारमा विदेशमन्त्री बाएरबकले राष्ट्रपति सीलाई तानाशाह भनेपछि चीनले जर्मन राजदूतसँग स्पष्टीकरण सोधेको छ ।

अमेरिकाको टेक्सस राज्यमा फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनले युक्रेनमा जारी आक्रमणमा रुसी भूमिकाको निन्दासमेत गरेकी थिइन् । उक्त अन्तरवार्तामा उनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धमा विजयी हासिल गरेको खण्डमा चिनियाँ राष्ट्रपति सीजस्ता तानाशाहलाई कस्तो सन्देश जाला ?’ भन्ने प्रश्न गरेकी थिइन् ।

त्यसैले स्वतन्त्रता, लोकतन्त्रको जितका लागि यस युद्ध युक्रेनले जित्नुपर्ने उनको तर्क थियो ।

चिनियाँ विदेश मन्त्रालयले जर्मन विदेशमन्त्रीको हास्यास्पद भनाइले चिनियाँ राजनीतिक अस्मितामा हस्तक्षेप गरेको टिप्पणी गरेको छ ।

माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् । प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् ।

मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेको मानिन्छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन् । जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए ।

यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र मुइजबीच भएको थियो । यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएको थियो। राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो । सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजो दोस्रो पटक निर्वाचन भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’

उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थए ।

स्पेनको नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् ।

आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ ।

न्यूजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित

न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ ।

आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा आइतबार गरेका हुन् ।

चुनावी अभियान र प्रचारप्रसार अब ‘अनलाइन’ बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताएका छन् । आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिएका छन् । उनले देश र जनताका खातिर दोब्बर मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव