काठमाडौं– अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका-८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित यूपी ३१ बिवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंहलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।