विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १५,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बंगलादेशकी वाजेद विजयी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी भएकी छिन् ।

भारतको नयाँ दिल्लीमा भएको निर्वाचनमा बंगलादेशकी वाजेद चयन भएकी हुन् । उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

उक्त पदका लागि नेपालका डा। शम्भुप्रसाद आचार्य पनि प्रतिस्पर्धामा थिए । उनले आगामी फेब्रुअरी १ बाट कार्यभार सम्हाल्ने डब्लूएचओले जनाएको छ ।

बोलिभियाले तोड्यो इजरायलसँगको कूटनीतिक सम्बन्ध
ल्याटिन अमेरिकी मुलुक बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजरायलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले यस्तो घोषणा गरेको हो । “बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजरायली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भने ।

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गरिन् । “हामी गाजा पट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्”, सोही पत्रकार सम्मेलनमा उनले भनिन् । अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजरायलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ ।

हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । “यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ”, इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भने ।

बोलिभियाले गाजा पट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो । हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजरायलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ ।

कोलम्बिया र चिलीका नेताहरूले पनि मङ्गलबार हमासमाथि इजरायली हमलाविरुद्ध बोलेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा अहिलेसम्म दुई तिहाई महिला र बालबालिकासहित आठ हजार पाँच सय प्यालेस्टाइनी मारिएको बताएको छ । “मैले परामर्शका लागि इजराइलमा आफ्नो राजदूत ९मार्गारिटा मन्जरेज० लाई फिर्ता बोलाउने निर्णय गरेको छु, यदि इजरायलले प्यालेस्टाइनी नागरिकको नरसंहारलाई रोकेन भने हामी त्यहाँ रहने छैनौँ”, कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

अरब संसारबाहिर सबैभन्दा धेरै प्यालेस्टिनीहरूको जनसङ्ख्या भएको चिलीले मङ्गलबार इजरायलको ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको अस्वीकार्य उल्लङ्घन’ को विरोधमा इजरायलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी अध्यक्षता गरेको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युद्धविरामका लागि आग्रह गरेका छन् ।

इजरायलविरुद्ध प्यालेस्टिनी आतङ्कवादीहरूको ‘आतङ्ककारी हमला’ ले गाजामा ‘लाखौँ निर्दोष’ को हत्यालाई औचित्यपूर्ण मान्न नसकिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लाइभ सम्बोधनमा भनेका छन्, “हमासले इजराइलविरुद्ध आतङ्कवादी हमला गरेका कारण इजराइलले पनि लाखौँ निर्दोष मानिसलाई मार्नुपर्छ भन्ने होइन ।”

गाजामा ९ सैनिक मारिए : इजरायली सेना
गाजामा जारी युद्धका क्रममा मङ्गलबार ९ सैनिक मारिएको इजरायली सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल सङ्ख्या ३ सय २६ पुगेको छ ।

सेनाका अनुसार मङ्गलबार प्यालेस्टाइनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टाइनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमला गरेपछि इजरायली सेना युद्धमा होमिएको छ ।

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजरायली हमलामा मङ्गलबार कम्तीमा ४७ जना मारिएका छन् । इजरायलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ । राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।

सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ । स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए ।

आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजरायलले बताएको छ । इजरायली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए । सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजरायलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए ।

हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएको थियो । इजरायलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् ।

मोदी र हसिनाद्वारा भारत–बङ्गलादेशबीचको रेल, विद्युत् परियोजनाको उद्घाटन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना–मोङ्गला पोर्ट रेल लाइन र बङ्गलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ रहेका छन् । भारत र बङ्गलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाहरूको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ ।

“यी महत्वपूर्ण परियोजनाहरूको संयुक्त उद्घाटनले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु”, बङ्गलादेशका प्रधानमन्त्री हसिनाले भनिन्, “म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।” अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क परियोजना भारत सरकारले बङ्गलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो ।

बङ्गलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिङ्क गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर रहेको छ । खुलना–मोङ्गला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोङ्गला बन्दरगाह र खुलनामा विद्यमान रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ ।

यसका साथै बङ्गलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोङ्गला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ । मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बङ्गलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार तीन सय २० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बङ्गलादेश–भारत मैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो ।

यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् । पछिल्लो दशकमा बङ्गलादेश–भारत मैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्युजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिकरूपमा लाभदायक साझेदारीलाई बढाउने’ रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ५८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार