सीपेक परियोजनामा सुरक्षा चुनौति : कहाँ चुक्यो पाकिस्तान ? | Khabarhub Khabarhub

सीपेक परियोजनामा सुरक्षा चुनौति : कहाँ चुक्यो पाकिस्तान ?


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल हक ककरले हालै गरेको चीनको भ्रमणबाट चीन पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजनाको विकासमा खासै ठूलो प्रगति भएको देखिँदैन । सन् २०१५ मा ठूलो तामझामका साथ सीपेक परियोजना सुरु गरिएको थियो ।

त्यसयता यसले आफ्नो गति गुमाइसकेको छ । चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतको यस परियोजनाले पाकिस्तानको ऊर्जा, पूर्वाधार र आर्थिक विकास हुने दाबी गरिएको थियो । यद्यपि चिनियाँ अर्थतन्त्रमा देखा परेको सुस्तता, पाकिस्तानमा जारी आर्थिक संकट र पूर्वाधार निर्माणका लागि आवश्यक ऋण जुटाउन नसक्दा चुनौति थपिएको छ ।

पछिल्ला केही वर्षमा सीपेकले धेरै बाधाहरुको सामना गरेको छ । यसो हुँदा परियोजनाले गति लिन सकेको छैन । पाकिस्तानको राजनीतिक अस्थीरता र खराब बन्दै गएको सुरक्षा अवस्थाका कारण चीनले नयाँ प्रस्ताव पनि खारेज गरिदिएको बताइएको छ । सीपेकको निर्णायक अङ्ग जेसीसीको सन् २०२२ मा बसेको बैठकमा चिनियाँ अधिकारीहरुले यस परियोजनाको दायरा बढाउन पाकिस्तानी पक्षले गरेको आग्रह अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।

चीन र पाकिस्तान दुबै मुलुकले सीपेक परियोजनालाई पुन सञ्चालन गर्ने बताउँदै आएका छन् । तर यसका लागि धेरै अड्चन अझै कायम छन् । चिनियाँ लगानीकर्ताको व्यवसायिक प्रक्रियामा बाधा उत्पन्न हुनु, चिनियाँ कामदारको भिसा प्रक्रिया सुस्त हुनु र उनीहरुको सुरक्षामा जोखिम उत्पन्न हुनु प्रमुख कारण रहेको बताइन्छ । त्यसबाहेक चक्रिय ऋण बढ्दै जानु, ऊर्जा क्षेत्र पनि अपेक्षाअनुसार अघि बढ्न नसक्नु पनि चुनौतिका रुपमा रहेका छन् ।

यीमध्ये चिनियाँ कम्पनी र कामदारलाई लक्षित गरी आक्रमणहरु बढ्दै जानु सीपेक परियोजना अघि बढ्न नसक्नुको प्रमुख कारण मानिएको छ । चिनियाँ इन्जिनियर र कामदारलाई लक्षित गरी पाकिस्तानमा सक्रिय लडाकुहरुले आक्रमण गर्दै आएका छन् । यसबाट ठूलो सुरक्षा चुनौति थपिएको छ । पाकिस्तानमा बलोच लडाकु, पाकिस्तानी तालिबान र इस्लामिक स्टेटजस्ता समूहबाट सुरक्षा जोखिम बढ्दै गएको चीनको ठम्याइ छ ।

यस्ता आक्रमणबाट परियोजनाको विस्तारमा ढिलाइ त भएको छ नै, चिनियाँ कामदारलाई काम गर्नसमेत असहज भएको छ । यसका लागि चीनले पाकिस्तानको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा जनमुक्ति सेना परिचालन गर्नेबारे सोचिरहेको बताइएको छ ।

सन् २०२२ मा कराँचीमा रहेको कन्फ्युसियस इन्स्टिच्युटमा आक्रमण र सन् २०२१ मा वरिष्ठ चिनियाँ प्रतिनिधिमण्डल रहेको होटेललाई लक्षित गरी बलुचिस्तानमा भएको बम आक्रमणबाट चीन झस्केको छ भने यसबाट दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध र रणनीतिक साझेदारी पनि खराब बन्न पुगेको छ ।

भविष्यमा सीपेक परियोजनामा खटिएका आफ्ना नागरिक र कामदारमाथि आक्रमण भएमा द्विपक्षी सम्बन्ध खराब बन्ने चीनले पाकिस्तानलाई चेतावनी समेत दिएको छ । सन् २०२२ को नोभेम्बर महिनामा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री सहबाज शरिफले चीनको भ्रमण गर्दा चीनले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति सीले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षामा गम्भीर चिन्ता व्यक्त गरेको’ जनाइएको थियो । यसबाहेक दुई मुलुकका सुरक्षा अधिकारीहरुको बैठकका क्रममा पाकिस्तानले चिनियाँ हितको संरक्षण गर्न नसकेको खण्डमा निकट सम्बन्धमा असर पर्नेबारे पाकिस्तानलाई सचेत गराइएको थियो ।

गत अप्रिल महिनामा पाकिस्तानका सेनाप्रमुख जनरल असिम मुनिर र आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल नदिम अन्जुमले चीनको भ्रमण गर्दा पनि यसबारे कुरा उठेका थिए । सुरक्षा चुनौति कायमै रहेको अवस्थामा सीपेक परियोजना अघि बढ्न नसक्दा यसले बीआरआईका छवि र आफ्नो विश्वव्यापी साखमै असर पर्नेमा चीन सचेत रहेको छ । त्यस्तै, सुरक्षा चुनौतिले गर्दा पाकिस्तानका मध्यपूर्वी साझेदारहरु पनि सीपेक परियोजनामा लगानी गर्न हिचकिचाउने देखिन्छ ।

पाकिस्तानको राजनीतिक नेतृत्वले चीनको चिन्तालाई सम्बोधन गर्ने प्रयास पनि गरेको छ । सुरक्षा व्यवस्थाबारे विचार गर्नका लागि उच्चस्तरीय समिति गठन गर्ने र बलोच लिबरेसन आर्मीलाई संयुक्त राष्ट्रसंघको प्रतबन्धित संगठनको सूचीमा राख्नेजस्ता कदमले पाकिस्तान पनि यसप्रति गम्भीर भएजस्तो देखिन्छ ।

यद्यपि स्थानीय स्तरमा पैदा भएका असन्तुष्टिको सम्बोधन गर्न भने पाकिस्तान असफल भएको छ । यस्ता जोखिम सुरक्षासँग मात्रै नभएर चीन विरोधी भावना र राष्ट्रवादी अभियानका कारण पनि उत्पन्न भएका हुन् भन्ने स्वीकार गर्न चीन पनि तयार देखिन्न ।

नयाँ परियोजना अस्वीकार गर्ने चिनियाँ कदमबाट पाकिस्तानमा आफ्नो लगानीको सुरक्षा र स्थीरताबारे चीन चिन्तित रहेको देखिन्छ । समग्रमा पाकिस्तानमा घट्दो लगानीले पाकिस्तानप्रति चीनको विश्वासमा पनि कमी आएको देखिन्छ । पाकिस्तानमा अझ खराब बन्दै गएको आर्थिक संकट र चीनको सुस्ताउँदो अर्थतन्त्रले सीपेक परियोजनाबाट लाभको अपेक्षा पनि कमजोर भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : १२ बजे

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार

काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै

साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं– चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको

भ्रष्टाचारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको