विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् ।

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

उनले भने, “आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ ।”

“भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।’’ उनले भने ।

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्व मञ्चमा भारतको छवि उकास्न खोजेका छन् ।

जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौं हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।

कोप२८ जलवायु परिवर्तनविरुद्ध ‘महत्वपूर्ण मोड’ हुनुपर्छ– राजा चार्ल्स तृतीय

बेलायतका राजा चार्ल्स तृतीयले कोप२८ जलवायु वार्ता जलवायु परिवर्तनविरुद्धको लडाइँमा ‘वास्तविक रूपान्तरणकारी कार्य’ सहित ‘महत्वपूर्ण मोड’ हुनुपर्ने बताएका छन् । उनले दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“म हृदयदेखि नै प्रार्थना गर्दछु, कोप२८ वास्तविक रूपान्तरणकारी कार्यको दिशामा एउटा महत्त्वपूर्ण मोड हुनेछ”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासहित भेला भएका नेताहरूसँग राजा चार्ल्सले भने, “पृथ्वी हाम्रो होइन, हामी पृथ्वीका हौँ ।” आजीवन पर्यावरणका क्षेत्रमा आवाज उठाउँदै आएका राजा चार्ल्स कथित रूपमा बेलायतका तत्कालीन प्रधानमन्त्री लिज ट्रसको आपत्तिका कारण गत वर्ष इजिप्टमा कोप२७ मा सहभागी हुन पाएका थिएनन् ।

राष्ट्रहरू प्राकृतिक प्रकोपबाट विनाश भएका मुलुकहरूका लागि ‘नोक्सान र क्षति’ कोष स्थापना गर्न सहमत भएसँगै कोप२८ सम्मेलन बिहीबार प्रारम्भिक रूपमा विजयका साथ सुरु भएको छ । यद्यपि जलवायु वार्तालाई लामो समयसम्म अल्झाइराखेको तेल, ग्यास र कोइलाको भविष्यबाट सुरु हुने धेरै मुद्दामा प्रतिनिधिहरूले दुई साताको कठिन वार्ताको सामना गर्नुपर्नेछ ।

करिब दुई सय मुलुकद्वारा वार्ता भइरहेको सम्झौताको पहिलो मस्यौदामा जीवाश्म इन्धनको ‘फेजआउट ९चरणबद्ध अन्त्य०’ र ‘फेजडाउन ९चरणबद्ध कम गर्ने०’ भाषा समावेश गरिएको छ । जीवाश्म इन्धन हरितगृह ग्यास उत्सर्जनका लागि सबैभन्दा बढी जिम्मेवार छ । सन् २०२३ को वर्ष कीर्तिमानी सबैभन्दा तातो वर्ष बन्ने मार्गमा रहेको चेतावनी राष्ट्रसङ्घले दिएपछि विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्य पूरा हुँदैन भन्ने आशङ्का बढेको छ ।

“विज्ञान स्पष्ट छ स् यदि हामीले सबै जीवाश्म इन्धनको प्रयोग बन्द गर्यौँ भने एक दशमलव पाँच डिग्रीको सीमा सम्भव छ”, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने । यूएईको तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेरलाई कोप२८ को अध्यक्षका रूपमा सम्मेलन सञ्चालन गर्न नियुक्त गरिएपछि कोप२८ मा ऊर्जाको उद्योग लबीको प्रभावका बारेमा चिन्ता व्यक्त गरिएको छ । नवीकरणीय ऊर्जा फर्मका अध्यक्षसमेत रहेका जाबेरले बिहीबार ‘जीवाश्म इन्धनको भूमिका’ लाई अन्तिम कोप२८ सम्झौतामा समावेश गर्नुपर्ने बताएका थिए ।

“म आफूले पूरा कोसिस गर्नेछु, यो चुनौतीसँग लड्न सहयोग गर्नेछु र वास्तविक, कारवाहीयोग्य निष्कर्ष दिनेछ”, उनले भनेका थिए । मस्यौदा पाठले जीवाश्म इन्धनकोे ‘फेजआउट (चरणबद्ध अन्त्य)’को आह्वान गर्ने र कम कठोर ‘फेजडाउन ९चरणबद्ध कम गर्ने०’ गर्ने पक्षहरूबीचको द्वन्द्व स्थापना गर्दछ । यद्यपि पर्यवेक्षकहरूले यस्तो भाषा समावेश हुनु महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

“यो कोप२७ मा प्रस्तुत गरिएको कुनै पनि कुराको तुलनामा महत्वकांक्षी छ, त्यसैले विकल्पमा यो हुनु पनि एउटा ठूलो कदम हो”, फ्रान्सेली जलवायु थिङ्कट्याङ्क आइडिडिआरआईका विशेषज्ञ लोला भालेजोले भनिन् ।

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान

अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष सुरक्षा बलबीच गोली हानाहान भएको छ । गिनी बिसाउमा नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका हुन् ।

अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान बोलाएर न्यायपालिकाले हिरासतमा लिएको थियो । प्रहरीले राज्य कोषबाट एक करोड अमेरिकी डलरको निकासीका बारेमा दुवै अधिकारीहरूसँग घण्टौँसम्म सोधपुछ गरिएको उक्त स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले सेइदीसँग राज्यकोषबाट रकम निकासीका बारेमा प्रश्न गरेका थिए । उनले निकासी कानूनसम्मत रहेको र राष्ट्रिय निजी क्षेत्रलाई समर्थन गर्नु त्यसको उद्देश्य रहेको दाबी गरेका थिए ।

नेसनल गार्डका सदस्यहरूले राजधानी बिसाउबाट दक्षिणमा पर्ने सान्ता लुजिया जिल्लाको ब्यारेकमा आश्रय लिनुअघि बिहीबार राति सेइदी र मोन्टेइरोलाई अज्ञात स्थान लगेको स्रोतहरूले बताएका छन् । त्यसपछि छिमेकको ब्यारेक नजिकै ठूलो गोली हानाहानको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।

स्रोतहरूका अनुसार मध्यस्थताको धेरै असफल प्रयासपछि विशेष बलहरूले हस्तक्षेप गरेका थिए र गोली हानाहानपछि शान्ति बहाल भएको छ । इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स ९इकोवास० ले देशमा तैनाथ गरेको गिनी बिसाउ स्टेबिलाइजेसन सपोर्ट फोर्सका सदस्यहरू शुक्रबार बिहान बिसाउको सडकमा गस्ती गरिरहेको देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

सन् २०१९ डिसेम्बरमा निर्वाचित राष्ट्रपति उमारो सिसोको एम्बाले हाल २८औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ९कोप२८० मा भाग लिन दुबईमा छन् । उनले सेप्टेम्बरमा दुई जनरल टोमस जस्सी र होर्टा इन्टालाई क्रमशः राष्ट्रपतिको सुरक्षा प्रमुख र चिफ अफ स्टाफका रूपमा नियुक्त गरेका थिए ।

पश्चिम अफ्रिकामा विशेष रूपमा ग्याबोन, नाइजर, माली, बुर्किना फासो, गिनी र यसै साता फेरि सिएरा लियोनमा सरकारलाई अपदस्थ गर्ने प्रयास बढिरहेका बेला राष्ट्रपतिको सुरक्षामा उक्त सुदृढीकरण गरिएको हो ।

युद्धबिराम सकिएलगत्तै इजरायलद्वारा गाजामा आक्रमण

इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ ।

हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए पछि इजरायलले यो आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हमासले युद्धविरामको उल्लङ्घन गरेको छ र इजरायली क्षेत्रतर्फ गोलीबारी गरेको छ, त्यसपछि मात्र हामीले आफ्नो कारबाही सुरु गर्‍यौँ।’

यो घोषणा सेनाले गाजाबाट प्रहार गरिएको रकेटलाई रोकेको बताएको केही समयपछि आएको थियो, जुन युद्धविरामको पहिलो दिन केही मिनेटमै मिसाइलहरू प्रहार गरिएको थियो। गाजा भित्र रहेका एक एएफपी पत्रकारले भने कि इजरायली युद्धक विमानहरूले धेरै आक्रमणहरू गरेका छन र गाजा शहरमा गोलाबारी भएका छन् ।

स्मरण रहोस, हमास र इजरायल बीच जारी युद्धविरामको क्रममा मानिसहरूको निरन्तर आदानप्रदान भएको थियो। युद्धविरामको अन्तिम मिनेटमा हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। गाजा पट्टीमा रिहा भएका ६ जना इजरायली बन्धक बिहीबार राति इजरायल फर्किएका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले युद्धविरामको विस्तार समाप्त हुनुभन्दा केही घण्टा अघि ६ जना बन्धकहरू फर्किएको बताएको छ। यो उल्लेखनीय छ कि हमासद्वारा रिहा गरिएका यी बन्धकहरूमा चार वयस्क, एक किशोरी र एक १८ वर्षीय पुरुष छन्। यसबारे मध्यस्थकर्ता कतारले उरुग्वे, मेक्सिकन र रुसी दोहोरो नागरिकता भएका नागरिक रहेको बताएको थियो । फ्रान्सेली–इजरायली दोहोरो नागरिकसहित दुई महिलाको रिहाई पछि ६ पुरुषको रिहाई भएको हो ।

यसरी बिहीबार मात्रै रिहा भएका कुल बन्धकको संख्या ८ पुगेको छ ।

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ

अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।

एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरू स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन् ।

एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष डा। रविकान्तले कामदारको राम्रोसँग परीक्षण गरिएको र उनीहरुको रगत परीक्षण, ईसीजी र एक्स–रेको रिपोर्ट सामान्य रहेको बताए । उनले भने, ‘उनीहरु शारीरिक रूपमा स्वस्थ र चिकित्सकीय रूपमा स्थिर छन्, त्यसैले उनीहरूलाई घर जान अनुमति दिएका छौं।’

डा रविकान्तले उत्तराखण्डका एक मजदुरलाई भने मुटुसम्बन्धी रोग लागेको र हाल अस्पतालमा राखिएको बताए । तर, चम्पावत जिल्लाका पुष्करसिंह ऐरीको सुरुङ दुर्घटनासँग कुनै सम्बन्ध नरहेको र जन्मदेखि नै यो रोग रहेको उनले स्पष्ट पारेका छन् ।

कामदारमा एट्रियल सेप्टल डिफेक्ट ९एएसडी० समस्या देखिएपछि थप अनुसन्धानका लागि डिजास्टर वार्डबाट मुटुरोग विभागमा सारिएको चिकित्सकले बताएका छन् ।

चारधाम यात्रा मार्गमा निर्माणाधीन साढे चार किलोमिटर लामो उत्तरकाशी सुरुङमार्गको केही भाग गत नोभेम्बर १२ भत्किँदा ४१ जना कामदार १७ दिनसम्म फसेका थिए । केन्द्र र प्रदेश सरकारका निकायले निरन्तर युद्धस्तरमा सञ्चालित उद्धार अभियानको १७ औँ दिन मंगलबार राति उनको सफल उद्धार गरिएको थियो । सुरुङबाट बाहिर निकालेपछि सघन स्वास्थ्य परीक्षणका लागि बुधबार ऋषिकेशको एम्समा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : १४ बजे

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका