नेपाल घुम्दा ओखलढुंगाका विद्यार्थीलाई पोशाक बाँडे | Khabarhub Khabarhub

नेपाल घुम्दा ओखलढुंगाका विद्यार्थीलाई पोशाक बाँडे

'सहयोगि आत्मा भएका अन्तर्राष्ट्रिय ट्रेकर्सको अभियान'



नेपालको सुन्दर ओखलढुङ्गा जिल्लाको भ्रमणमा हामीले केही महत्वपूर्ण समय बितायौँ । ओखलढुंगाका पातले, तल्कोट र कार्तिकेका दुर्गम गाउँमा हामीले २५ फेब्रुअरी २०२३ मा पर्यटकको एक टोलीसहित  त्यहाँ भ्रमण गरेका थियौँ । तीन सय भन्दा बढी बालबालिकाले हिउँदको जाडोसँग संघर्ष गर्दै आफ्नो भविष्यको लागि शिक्षा आर्जन गरिराखेका छन् भन्ने जानकारी हामीले भ्रमणका क्रममा पायौँ । त्यसपछि त्यहाँको अवस्था देखेर हामी ट्रेकिङमा गएका साथीहरूबीच छलफल भयो ।

ती विद्यार्थीहरूका लागि के गर्ने ? कसो गर्ने भन्नेबारेमा ? हामीले छलफल गरेपछि त्यसपछि एउटा निष्कर्षमा पुग्यौँ । सबैभन्दा उत्तम उपाय भनेको तत्कालको लागि न्यानो पोशाक प्रदान गर्ने हाम्रो निर्णय रह्यो । त्यसका लागि हामीले आपसी सल्लाह र सहयोग तथा आवश्यक कपडाको आपूर्ति गर्न लाग्यौँ । यो काममा म आफैँ क्याथलिन म्याककेब, भ्याली सेन्टर क्यालिफोर्निया अमेरिका, डियान साभार्ड, मोन्ट्रियल क्यानडा, र एड्रियन जेसप, बेडफोर्ड लगायत टिमले त्यस विद्यालयका नानीबाबुहरूलाई सहयोग गर्ने निर्णय गरेका थियौँ ।

दुर्गम क्षेत्रका विद्यार्थीहरूले कठ्याँग्रिदै जाडोका महिनाहरूमा स्कुलमा उपस्थित हुनका लागि धौं-धौं परिरहेका बेलामा हामीले गरेको सानो सहयोगले पनि उनीहरूमा सहज हुन्छ भन्ने अनुमान गरेर अगाडि बढेका थियौँ । त्यसको नेतृत्व स्वयं म आफैँले गरेकी थिएँ ।

विचार जोड्नेदेखि सहयोग प्रदान गर्नेसम्म

हाम्रो टिमले सन् २०१२ मा सगरमाथाको आधार शिविरसम्मको पदयात्रा गरेको थियो । तीन जना पर्वतारोहण दलका सदस्यहरू र हिमालय ट्रेक्स एण्ड टुर्स काठमाडौंका सह-संस्थापक सार्की शेर्पाले पातलेका विद्यार्थीहरूलाई मद्दत गर्न पहल गरेका थिए ।

त्यो पदयात्राको अवधिमा हामीले सार्की शेर्पाबाट उनको गृहगाउँ पातले, ओखलढुंगाका बालबालिकाहरू न्यानो बाहिरी लुगा नभएकाले विद्यालय जान सक्दैनन् भन्ने जानकारी पायौँ । अनि, हामीले त्यहाँको वास्तविकताबारे पनि स्थलगत अवलोकन गर्यौ ।

त्यसको सुरुवात म आफैँले गरेकी थिएँ । केही केटाकेटीहरू दुई घण्टा भन्दा बढी लामो बाटो हिँडेर कक्षामा जान्छन् र, न्यानो कपडाविना  चिसो, हावा र हिउँको सामना गर्दै स्कुलमा अध्ययन गरिराखेका छन् भन्ने पनि थाहा पायौँ । उनीहरूलाई विद्यालय जान निकै कठिन भएको देख्दा हाम्रो टिम केही चिन्तित बन्यो ।

सन् २०१९ मा भेटेका पदयात्री पर्यटकहरू र त्यस विद्यालयका पूर्व छात्र सार्की शेर्पासँग उक्त टिमसँग  घनिष्ठ सम्पर्कमा रहे । शेर्पासँगको हाम्रो छलफलमा अक्टोबर सन् २०२१ मा सगरमाथा आधार शिविरको ट्रेकिङको समयमा हाम्रो टिम उहाँको स्कूल र त्यस गाउँका विद्यार्थीहरूलाई सहयोग गर्ने सहमत भयौँ । सार्की शेर्पाको सपना साकार पार्न हामी उत्साहित भयौँ । त्यसको निम्ति लागि पर्यौ । हामी यो अन्तरदृष्टि लिएर आफ्नो देशमा फर्कियौँ । र, एउटा नारा बनायौँ ‘पातलेका लागि कोट्स’ अभियान ।  त्यसका निम्ती कार्ययोजना बनाई सुरु पनि गर्यौ । हामीले पहिलो प्रयासमा दुई हजार डलरभन्दा धेरै सहयोग उठाउन सफल पनि भयौँ ।

पहिलो प्राथमिकतामा पोशाक     
सन् २०२२ को ग्रीष्म ऋतु नजिकिँदै थियो । हामी श्री पातले माध्यमिक विद्यालयका प्रधानाध्यापक लाक्पा शेर्पासँगको छलफलपछि संकलन गरिएको सहयोग रकममा विद्यालय पोशाकलाई प्राथमिकता दिने निर्णयमा पुग्यौँ ।

उदार दाताहरू निमा शेर्पा र याङ्दी शेर्पा, बेल्जियमका साथीहरुको थप आर्थिक सहयोगमा हामीले श्री पातले माध्यमिक विद्यालयका बालबालिकाहरूलाई चाहिने ट्रयाकसूट सेट पोशाक उपलब्ध गराउन सक्षम भयौँ ।

हामीले उपलब्ध गराएको पोशाक लगाएर विद्यालय जान पाउँदा विद्यार्थीहरूमा निकै उत्सुकता थपेको प्रत्यक्ष रुपमा पायौं । साथै उनीहरूलाई केही राहत भएको पनि भेट्यौ । ती पोशाकहरू स्थानीय रूपमा ‘दावा गियर काठमाडौँ’ नामक कारखानाले उत्पादन गरेको थियो ।

सोल हिमालय ट्रेक्स एण्ड टुर्स, काठमाडौंका स्वयंसेवक सार्की शेर्पा, पेम्बा शेर्पा, लाक्पा शेर्पा, उपेन्द्र सुनुवार र पासाङ शेर्पाले श्री पातले माध्यमिक विद्यालयका प्रधानाध्यापक लाक्पा शेर्पासँगको सहकार्यमा वितरणको संयोजन गरेका थिए । 

‘गत वर्षाको मौसमले सडक हिलाम्मे थियो । केही ठाउँमा बाटो पनि भत्केको थियो । त्यसपछि विद्यालय जान निकै गाह्रो भयो’ पोशाक वितरण कार्यक्रमा सक्रिय सार्की शेर्पाले भने, ‘तर विभिन्न चुनौतीबीच दुई सय पचास भन्दा बढी बालबालिकालाई नयाँ पोशाक व्यवस्थापन गरि वितरण गर्ने काम निकै प्रशंसनीय र सार्थक भयो ।’

त्यसपछि निरन्तर सहयोग 
सन् २०२२ को पातले परियोजनाको लागि हाम्रो टिम फेरि एक पटक सक्रिय भयो । र, सबै तीन अन्तर्राष्ट्रिय साथीहरूले ती विद्यार्थीहरुका लागि जाडोमा लगाउने कोटको लागि पैसा उठाउने निर्णय गरे । हामीसँग साझा लक्ष्य थियो । डायन साभार्डले भनेअनुसार सम्पूर्ण रूपमा हामीले पातलेका बालबालिकाका लगायत नजिकैको तल्कोट र कार्तिकेका गाउँहरूमा बालबालिकाका लागि नयाँ पोशाक र कोटहरू किन्ने सामूहिक निर्णय लियौ । त्यसका लागि सुरूमा ७ हजार ५ सय डलर संकलन गर्न सक्षम भयौं । 

तीनै जना हालै क्यालिफोर्नियाको स्यान डिएगोका समर्थक जेनी डेलिलियोसँग पातलेका बालबालिकालाई जाडोमा ज्याकेट वितरण गर्न नेपाल आएका थिए । र, उनीहरूसँग थप मात्रामा न्यानो टोपी, पन्जा र स्कार्फ ल्याएका थिए । त्यो पनि वितरण गरेका थिए ।
सुनुवार, छिरिङ, पासाङ र शरण शेर्पा त्यस कार्यका लागि आवद्ध भएका थिए ।

त्यसपछि स्वयंसेवकहरूले कोट र पोशाक लगाएर तालकोटको श्री भूमेस्थान आधारभूत विद्यालय र कार्तिकेको श्री जनकल्याण आधारभूत विद्यालयसम्म पदयात्रा गरे । र, गाउँमा भएका अभिभावक, शिक्षक र बालबालिकालाई भेट गरेका थिए । यी तीन जना साथीहरूले त्यस गाउँको विद्यालय र वरपरका विद्यालयहरूलाई आर्थिक सहयोग गर्ने व्यक्तिगत र सामुहिकरुपमा प्रतिवद्धता गरेका थिए ।‘उनीहरूको सहयोग र उदारताको लागि म धेरै आभारी छु’ सहयोग पाउँदा सार्की शेर्पाले गरेको टिप्पणी थियो ।

शिक्षामा केन्द्रित सहयोग 
श्री पातले माध्यमिक विद्यालयको भेला र स्वागत समारोहमा लाक्पा शेर्पा, प्रधानाध्यापक, शिक्षक, स्थानीय पातले गाउँपालिकाका प्रतिनिधि, अभिभावक तथा श्री पातले माविका पूर्व विद्यार्थी संघका सदस्यहरू उक्त समारोहमा सहभागी भएका थिए । विदेशी स्वयंसेवकहरुले स्कूलका बच्चाहरूलाई उक्त कार्यक्रममा पोशाक वितरण गरेका थिए ।

श्री पातले विद्यालयको सभालाई सम्बोधन गर्दै सार्की शेर्पाले भने, ‘यसले विद्यार्थीहरूलाई ध्यान केन्द्रित गर्न र शिक्षालाई निरन्तरता दिनको लागि ठूलो प्रोत्साहनको काम गरेको छ । हामी सबैलाई आशा छ, उनीहरूसँग अब स्कूल जाने र शिक्षा पूरा गर्ने राम्रो मौका छ ।’ पातले स्कूलका बालबालिकाहरूलाई सहयोग गरेपछि हामी खुशी भयौँ ।

हाम्रो आशा छ कि बच्चाहरूले आफ्नो हृदयमा न्यानोपन र यी पोशाकहरूबाट बाहिरको न्यानोपन गरि दुवैको न्यानोपन महसुस गरुन् । ‘विद्यार्थीहरूले कोट र रंगीन टोपीमा मुस्कुराइरहेको अनुहार हेर्दा वास्तवमा हाम्रो हृदयलाई न्यानो बनायो । यसप्रति हामी हर्षित छौं,’ कार्यक्रममा मैले यसरी टिप्पणी गरेकी थिएँ । ‘यो कार्यले हामीलाई भविष्यको लागि केहि गर्न थप जिम्मेवरी थपिएको अनुभुति गरेका छौं । हाम्रो टिम खुशी र हर्षले गदगद भएको छ’ एड्रियन जेसपले टिप्पणी गदै भने ।

यसरी मन र आत्मा भएका पर्यटकहरुको एक समुहले गरेको सहयोग स्कुले बालबालिकाहरुका लागि वरदान साबित भयो । छोटो समयको लागि भएपनि राहतको महसुस भयो । हामीले यस्ता सहयोगी कामलाई भोलिका दिनमा पनि शिक्षामा केन्द्रित रहेर निरन्तरता दिने मनशाय बनाएका छौँ । यो कार्यका लागि सहयोग गर्ने सबैलाई फेरि एकपटक धेरै धेरै धन्यवाद ।

(नेपाल भ्रमणमा आएकी अमेरिकी नागरिक क्याथलिन म्याककेबले गरेको सहयोगसम्बन्धी विचार डा.गोविन्द नेपालीले अनुवाद गरेका हुन् ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १२ : ५० बजे

२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

काठमाडौं – यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल

सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ?

काठमाडौं– सहकारीपीडितको समस्याबारे सर्वोच्च अदालतले प्राथमिकताका साथ चासो राखेको छ

बङ्गलादेशका प्रदर्शनकारी टेलिभिजन स्टेशनमा प्रवेश, पत्रकारहरू बर्खास्त

एजेन्सी – एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा ‘प्रचार’ गरेको आरोप

हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

फाइल फोटो सिमकोट – हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक

माथिल्लो तामाकोशीबाट ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं – नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको