आज वैशाख १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ
पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् ।
गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ । आतङ्वादी समूह ताहरिक ए तालिवान पाकिस्तानका कमाण्डर लालालगायत पक्राउ परेका आइएसपिआरको विज्ञप्तिमा जनाइएको छ ।
सुरक्षा फौज र सर्वसाधारणलाई लक्षित गरेर उक्त समूहले धेरै स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको थियो । सुरक्षा निकायले उक्त समूहका सदस्यलाई खोजीको सूचीमा राखेर लामो समयदेखि खोजतलास गर्दै आएको थियो ।
सोमबार आतङ्कवादी पक्राउ परेकामा सुरक्षा बलको सराहना गर्दै स्थानीय बासिन्दाले देशबाट आतङ्कवादलाई परास्त गर्न सेनालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोकमरी उत्पन्न हुनसक्ने सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्युएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो । खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन् ।
सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच गत अप्रिल १५ देखि सुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्युएफपीका तीन जना कर्मचारी उत्तरी डार्फुंरमा मारिएपछि डब्ल्युएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो ।
डब्ल्युएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध सुरु हुनु अगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वका बीच पनि डब्ल्युएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिएकी छिन् । द्वन्द्व जारी रहेमा खाद्य सङ्कटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि उनले दिएकि छिन्।
चार करोड असी लाख जनसङ्ख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो । ‘युद्ध चर्कनुअघि नै एक करोड ६० लाख सुडानी मानवीय सहायताको आशाम बसेका थिए, डार्फुरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,’ सुडानमा बढ्दै गएको मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गरेकाे वक्तव्यमा भनिएको छ ।
सुडान युद्धमा करिब पाँच सय ५० जनाले ज्यान गुमाएका तथा झन्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् । दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन् ।
सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत
आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो ।
भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका हुन् । दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरूपण गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ, सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो ।
आगलागीमा परी चार जनाको मृत्यु, सात जना घाइते
विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् ।
आगलागीको खबर प्राप्त हुने बित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए ।
घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ । आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् ।
‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् ।
युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको छ ।
अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् । गत नोभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए । रुसले व्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ ।
सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन् । उनीहरूलाई युद्धमा सहभागी हुन कारागारबाट मुक्त गरिएको थियो । उनीहरू बिना प्रशिक्षण युद्ध मैदानमा पुगेका थिए ।
केही विश्लेषकहरूले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्वपूर्ण छ किनकि डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुनसक्छ ।
वर्षाबाट उत्तरपश्चिम पाकिस्तानमा कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टामा प्रदेशका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढी र चट्याङबाट भएका दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ ।
स्थितिको अनुगमन भइरहेको र बन्द सडक खोल्नका लागि पहल भइरहेको पीडीएमएले जनाएको छ ।
यसअघि प्रदेशमा वर्षा, असिना र बाढीपहिरोबाट बच्न पूर्वतयारी अपनाउछन सम्बन्धित निकाय र जिल्ला प्रशासनलाई पीडीएमएले निर्देशन दिएको थियो ।













प्रतिक्रिया