दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आज एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई, लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन, पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ, घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय, उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण, नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै लगायतले प्रमुख स्थान पाए ।

एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेटाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।

यसैबीच, सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् ।

खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए । यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ ।

प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ ९३० बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।

कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनीसँग सोधपुछ सुरु भएको छ ।

घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

अघिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

प्रधानमन्त्री दाहाल महानिर्देशक डा बरमेजोबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा उनीहरूबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिए। महानिर्देशक डा बरमेजोले महासङ्घले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए । भेटमा नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष हिमाल कसजू, महासङ्घका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए ।

महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ८९ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् ।

नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य-सङ्घमार्फत लगानी गर्दै आएको छ ।

हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने खतरा : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने दाबी गरेका हुन् ।

हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याएका हुन् । देशको अर्थतन्त्र संकटमा रहेको र प्रचण्ड सरकार रहिरहे देश अनिवार्य टाट पल्टिने उनको भनाइ छ ।

अबको डेढ वर्षमा अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्ने उनको भनाइ छ । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताएका ओलीले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गएको बताए ।

उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिंहदरबारस्थित एक कार्यक्रमकाबीच अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा-२ बाट यादव निर्वाचित भएका थिए ।

सो उपनिर्वाचनबाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको हो ।

मुख्यमन्त्री चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन् ।

बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एक सय ३२ प्रतिशतले बढे पर्यटक

सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् ।

कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार चार सय २६, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उनले भने ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहबद्र्धकरूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गरे । फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।

पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ । पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३, बेलायतबाट पाँच हजार चार सय नौ, अष्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार चार सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार छ सय ६७, बङ्गलादेशबाट दुई हजार दुई सय १७ र थाइल्याण्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल आएका छन् ।

यो विवरण हेर्दा महामारीपछि पर्यटन पुनरुत्थान भएको देखिन्छ । महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह

सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी रहने मन्त्रालयको भनाइ छ ।

कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ ।

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने भएको छ । चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९-८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो ।

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२-२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।

यसै बीच, नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९-८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।

नेपाली रुपैयाँअनुसार एक लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ०० बजे

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु– हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

 जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने

माओवादी र एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै

जनकपुरधाम– मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर– लगातारको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख