काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘जारी’ हेरेका छन् ।
सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उनले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै धन्यवाद र बधाई दिए । “मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जीवन र जगत्को सुन्दर प्रस्तुति हेरियो”, मन्त्री किरातीले भने ।
चलचित्र हेर्दा उनी भावुक हुनाका साथै आफूलाई असाध्यै राम्रो लागेको भन्दै गाउँगाउँमा लगेर देखाउन सुझाव दिएको निर्माता मणिराम पोखरेलले जानकारी दिए । “मन्त्री किरातीले बालापनमा लगेको, त्यही संस्कृतिमा हुर्किएको बताउनुभएको थियो । हामीले हरेक वर्गको दर्शकमार्फत यस्तै प्रतिक्रिया पाइरहेका छौँ”, निर्माता पोखरेलले भने।
यही वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्र ‘जारी’ लाई कवि उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथा देखाइएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।













प्रतिक्रिया