सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध  | Khabarhub Khabarhub

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

संघीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । 

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ छ । उहाँले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका व्यक्ति एक रहेको समितिलाई जानकारी गराए ।

मन्त्री साउदले लोक सेवा आयोगबाट पदपूर्ति गर्दादेखि नै समावेशी सिद्धान्तका आधारमा महिला, जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान तथा पदपूर्ति गर्ने गरिएको जानकारी दिए ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७४ मा समावेशी सिद्धान्तलाई दृष्टिगत गर्दै राष्ट्रको प्रतिनिधित्व, प्रतिष्ठा र हित प्रवर्द्धन हुने गरी कूटनीतिक क्षमता, विशिष्टीकृत शैक्षिक योग्यता र अनुभवका आधारमा राजदूत नियुक्तिको सिफारिस गरिने छ भन्ने व्यवस्था रहेको छ ।

परराष्ट्र मन्त्रालयमा कायम १७ सहसचिवको दरबन्दीमा दुई मधेसी समुदाय, दुई महिला र दुई जनजाति कार्यरत छन् । मन्त्रालयको ५० उपसचिवको दरबन्दीमा महिला १७, जनजाति आठ, मधेसी दुई, दलित दुई, पिछडिएको क्षेत्र एक र अपांगता भएका व्यक्ति एक कार्यरत रहेको मन्त्री साउदले जानकारी दिए। शाखा अधिकृतमा हाल कार्यरत ८९ मध्ये महिला १६, जनजाति १२, मधेसी सात र दलित तीन जना समावेशीबाट पदपूर्ति भई कार्यरत छन् ।

सरकारले परराष्ट्र सेवामा लामो समयदेखि सेवामा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीमा रहेका वरिष्ठतम अधिकृतलाई राजदूतमा नियुक्त गर्दै आएको छ । सरकारले निर्देशिकाको दफा ३ को उपदफा (च) अनुसार कुल राजदूत पदको ५० प्रतिशत परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई वरिष्ठताका आधारमा राजदूत नियुक्तिका लागि सिफारिस गर्छ ।

संसदीय समितिको मंगलबारको बैठकमा प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा समावेशी चरित्र नदेखिएको भन्दै सांसदले प्रश्न उठाएका थिए । समितिले  विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधिउपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको थियो । 

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिव लोकबहादुर थापालाई  (न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), रामप्रसाद सुवेदी (स्वीट्जरल्यान्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीलाई (थाइल्यान्ड)का लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिले परराष्ट्रमन्त्रीसँग जानकारी लिएपछि प्रस्तावित राजदूतसँग योग्यता, कार्यदेश, अवधारणा र सोचबारे जानकारी लिने तयारी गरेको छ । यसअघि समितिले उनीहरूको राजदूतमा नियुक्तिका सम्बन्धमा कुनै गुनासो वा उजुरी भए १० दिने सार्वजनिक सूचना जारी गरेकामा पाँच उजुरी परेका थिए । उजुरीमध्ये एउटा संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तबारे प्रश्न उठाइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५६ बजे

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा