ज्योति गुमेपछि मोडिएको बाटो | Khabarhub Khabarhub

ज्योति गुमेपछि मोडिएको बाटो



पवन घिमिरे अर्थात नेपाली सेनाका उम्दा अफिसर । बाबुआमा, घरपरिवार, समाज हुँदै देशकै एउटा सपना थियो । घरका भित्तामा उनी सैनिक अफिसर ‘पासआउट’ हुँदाका रंगीविरंगी फोटा झुन्ड्याइएका थिए । बाउआमालाई आफ्नो कर्तव्य निख्रिँदै गएकोमा सन्तोष थियो । अब एउटा सुन्दर, सुशील बुहारी भित्र्याएर अभिभावक हुनुको अन्तिम धर्म निर्वाहको तयारीमा बाआमा लागेका थिए । 

हुन पनि सैनिक अफिसर छोरो हरेक सम्भावनाको खानी थियो । भगवान भन्छन् रे– ‘तँ चिता म पुर्‍याउँछु ।’ तर पवनको जीवनमा नियतिले उल्टो खेल्यो । भगवानको अनुकम्पाले विपरीत गति समात्यो । राइफल बोकेर देशका लागि जीवन उत्सर्ग गर्न हिँडेको छोराको जिन्दगी पाँच सेकेण्डमा ‘युटर्न’ गर्‍याे । अरुको आशादीप बन्दै आएका पवनको बाहिरी चक्षु गुम्यो । घरपरिवारले ढाडस दियो । 

विशेषगरी पिताजीले उनलाई संसारका उदाहरण दिएर शक्ति भर्ने कोशिस गर्नुभयो । साथीभाइका प्रिय पवन, प्रेमिकाकी मजनु पवन, छरछिमेक इष्टमित्रका जन्ती, मलामीमा सधैँ पहिलो पवन यो घटनापछि एकादेशका कथामा अनुवाद भए । स्वार्थी दुनियाँको कोलाज कस्ताकस्ता स्वार्थी रंगले पोतिएको हुँदोरहेछ उनलाई बल्ल चेत भयो । यसले उनलाई कमजोर हैन, बरु चट्टान बनाउन सहयोग गर्‍याे  । पढेलेखेका पवनले सङ्कल्प गरे– ‘बाहिरी उज्यालो गुमेर के भो ? अब म भित्री चक्षु बालेर अघि बढ्छु । परिवर्तन आफैँबाट शुरु गर्छु ।’

घटना कसरी भयो ?
२०६० साल संयोगले साउन महिनाको कुरा हो । कालिकोट–सुर्खेत–जुम्ला सडक खण्डको ट्रयाक खोल्ने काम भइरहेको थियो । कालिकोटको जुविथा भन्ने ठाउँमा खटिएको थियो सैनिक टुकडी । त्यही टुकडीका एक सदस्य थिए पवन । 

उनको जागिर भवानी बक्स गण दैलेखमा थियो । त्यतिखेर उनी लेफ्टिनेन्ट थिए । काम फत्ते गरेर कालिकोटको जुविथा फर्किदै थिए । सुन्दर खोलाको किनारमा हिँडिरहेको थियो टुकडी । टुकडी बीचमा थिए पवन । बाटो साँघुरो थियो । एक्कासी केही पड्केको आवाज आयो । विकासका लागि कार्यरत सेनाको टुकडीमाथि यस्तो कायरतापूर्ण आक्रमण होला भन्ने कसैलाई थिएन । त्यसैले प्रतिरक्षाको मूडमा सेना थिएन । क्षणभरमै पवनको सुन्दर संसार अन्धकार भयो । उनका अरु सहकर्मी भने सकुशल रहे । लक्का जवान पवन जीवनमरणको दोसाँधमा परे ।

४५ मिनेटमा हेलिकोप्टरबाट पवनको उद्धार भयो । नेपालगञ्ज हुँदै काठमाडौँस्थित छाउनी आर्मी हस्पिटल ल्याइयो । त्यसपछि आँखाको उपचारका लागि तत्काल शिक्षण अस्पताल महाराजगञ्ज लगियो । छोराको अवस्था देखेर परिवारमा भूइँचालो गयो । शल्यक्रिया भयो । तर त्यो शल्यक्रियाले उल्टो पवनको चिनारीका पछाडि दृष्टिविहीनको विशेषण थपिदियो । आँखाको आलोक सधैँसधैँका लागि बिदा भयो । 

त्यसपछिका दिनको अवस्था पवनका लागि प्रियकर लाग्दैन । पवन भन्छन्– ‘त्यो अवस्थामा गुज्रिँदा मलाई सपनामा हिँडिरहे जस्तो लाग्न थाल्यो । बुबा उत्साह भर्नुहुन्थ्यो । तर म नदेखेर कतै ठोक्किँदा आमाले पीडा झेल्न नसकेर हिक्क हिक्क गरेको आवाज मेरो कानमा ठोक्किन्थ्यो । त्यसले मलाई द्रविभूत बनाउँथ्यो ।’

अरु त अरु पवनले न त आफ्नी श्रीमती देखेका छन् न त छोरीहरू नै । आफ्नै कमाईले बनाएको सुन्दर घरको दृश्यानुभूति उनीभित्र छैन । मन र मस्तिष्कको चक्षुले सबै चराचर उनी अनुभूत गर्छन् । उनी ललितपुरको लेलेमा जन्मिएका हुन् ।  अधिकृत क्याडेटबाट प्रवेश गरेका पवन सेकेण्ड लेफ्टिनेन्ट, क्याप्टेन, मेजर हुँदै बढुवा भएर कर्नेल भएका छन्  । नेत्रहीन भएपछि पनि आफ्नो संस्था नेपाली सेनाले लगाएको गुन उनी कहिल्यै भुल्दैनन् । 

अन्धकारको सुरुङ
अन्धकारका दिन सम्झँदै पवन भन्छन्, ‘जुन सपना देखेर नेपाली सेनामा प्रवेश गरेँ ती सपना समाप्त भए भन्ने सोच्न थालेँ । दृष्टि गुमेपछि जीवन छैन भन्ने लाग्थ्यो । जतिखेर पनि निद्रामै छु कि जस्तो भान हुन्थ्याे । मन बुझाउन अनेक किसिमका उपाय निकाल्थेँ । आफूले नदेख्दा लोडसेडिङ भएको कल्पना गर्थेँ । त्यो समयमा लोडसेडिङ धेरै हुन्थ्यो । म आँखा नदेख्ने भएको होइन, लोडसेडिङ भएकाले अँध्यारो भएको हो भन्ने सोच्थेँ । रेडियो, टिभी बज्न थालेपछि बिजुली आएको थाहा पाउँथेँ ।’ तर उनको आँखामा बिजुली आउँदैनथ्यो । आएको बिजुली निभिसकेको थियो ।

उज्यालो भयो भनेर आत्तिएर उठ्दा कयौँपटक भित्ता, ढोका, खाट जहिँतहीँ ठोकिन्थे । कतिपटक उज्यालो भयो भनेर चिच्याउँथे । तर, उज्यालो देख्न सक्दैनथे ।

अँध्यारोभित्र उज्यालो खोजी
उनीभित्र आशा र उत्साह अंकुराउन थाल्यो ।  परिवार, साथीभाइ, इष्टमित्र साथमा थिए । सबैभन्दा धेरै त नेपाली सेना साथमा थियो । ६ वर्षपछि पवन छाउनीस्थित ब्यारेक फर्किए ।
जीवनको ज्योति बलिरह्यो भने आँखाको ज्योति गुमेर पनि फरक पर्दैन भन्ने पवनले महसुस गर्न थाले । जीवनको रथ फेरि अगाडि बढ्न थाल्यो ।

समाजशास्त्रमा एमए र सैन्य विज्ञानमा स्नातक गरेका पवनमा बौद्धिक क्षमताको कुनै कमी थिएन । आँखाको ज्योति गुमेर उनको क्षमताले ठक्कर खायो तर जीवनको ज्योति उज्यालो बनाएर उनी अगाडि बढ्न थाले ।

देख्ने हुँदा खासै चासो नदिएको क्रिकेट खेल दृष्टि गुमेपछि पवनले खेल्न सिके । उनलाई क्रिकेटमा रुचि जाग्यो । पवनको रुचिलाई दृष्टिगत गरी सेनाले उनलाई खेलकुद तथा शारीरिक केन्द्रमा जिम्मेवारी दियो । पवन क्रिकेट खेलमा होमिए ।

पाकिस्तान गएर क्रिकेटको ट्रेनिङ लिने अवसर पाए । त्यसपछि विदेश भ्रमणको बाटो मात्रै खुलेन, ०६३ मा नेपालमा पहिलो दृष्टिविहीन क्रिकेट टुर्नामेन्ट भयो । जुन आयोजनाको अगुवाइ पवनले गरे ।

काठमाडौं, भक्तपुर र ललितपुरमा दृष्टिविहीन क्रिकेट क्लबको स्थापना गरे । देशमा यतिबेला ६ सय ५० को हाराहारीमा दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन भइसकेका छन् । डेढ सय त महिला खेलाडी छन् । पवनकै पहलमा खुलेको दृष्टिविहीन क्रिकेट संघको अध्यक्ष हुन् उनी । यसबाहेक विश्व दृष्टिविहीन क्रिकेट संघको कोषाध्यक्ष हुने गौरवशाली इतिहास पवनले निर्वाह गरिसकेका छन् ।

यसका अलावा उनले सन् २०१८ मा पाँचौं विश्व दृष्टिविहीन क्रिकेटको रेफ्रीका रुपमा पनि काम गर्ने अवसर पाए ।  भारत र पाकिस्तानबीचको खेलमा रेफ्री भए । हालसम्म उनी क्रिकेटको सिलसिलामा पटकपटक अमेरिका, बेलायत, पाकिस्तान, भारत, युएई, मलेसिया, कुबेतजस्ता मुलुक घुमेका छन् । 

दृष्टिविहीनहरूले क्रिकेट कसरी खेल्छन् ?
मानिसको आँखा बन्द भएपछि उसको कान खुलेको हुन्छ । क्रिकेट आवाजको खेल हो । यसमा बलको आवाज सुनेर ब्याटिङ, बलिङ र फिल्डिङ गर्नुपर्छ । यहाँ तीन किसिमका खेलाडी हुन्छन् । पूर्ण देख्न नसक्ने ९ बी- वान जीराे, पाँच मिटरसम्म कुनै चिज हल्लिएको अनुभव गर्ने ९ बी– टु जीराे र २० मिटरसम्म कुनै चिज हल्लिएको देख्ने ९ बी– थ्री जीराे भनिन्छ । यो तीनथरिको कम्बिनेसनमा ११ जनाको टिम बनाइन्छ ।

त्यसो भए पवनको अन्तिम लक्ष्य के हो त ? उनी थप्छन्– ‘मेरो लक्ष्य भनेको खेलकुदको सर्वश्रेष्ठ प्रतियोगिता विश्वकपसम्म पुग्ने नै हो । मैले सबै साथीहरूलाई सक्रिय बनाएर अगाडि बढाउन खोजिरहेको छु । क्रिकेटमा नेपालले प्राप्त गरेको अभूतपूर्व सफलताबाट हामी उत्साही छौँ । हामी सबै कुरा छोडेर यसकै उन्नयनमा लागेका छौँ । ढुक्क भए हुन्छ– नेपालीले हाम्रो क्षेत्रबाट पनि सुखद समाचार सुन्न पाउने छन् ।’

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : २३ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिना ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका