मध्यपूर्वमा क्षेत्रीय युद्धको बाछिटा | Khabarhub Khabarhub

मध्यपूर्वमा क्षेत्रीय युद्धको बाछिटा



इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध जारी रहँदा मध्यपूर्वमा अर्को क्षेत्रीय युद्धको जोखिम बढ्दै जान थालेको छ । गाजामा जारी युद्ध विस्तार हुँदा हमासको साझेदार इरान र इजरायलको साझेदार अमेरिका पनि युद्धमा मुछिने र यसबाट क्षेत्रीय द्वन्द्वको जोखिम रहेको विज्ञहरु बताउँछन् । लण्डनमा रहेको थिंक ट्यांक चाथम हाउसमा मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रमकी निर्देशक सनम वाकिल गाजामा जारी युद्ध क्षेत्रीय रुपमा विस्तार हुने ठूलो जोखिम रहेको बताउँछिन् । यद्यपि इरान र हेज्बोल्लाहले कुनै किसिमको क्षेत्रीय युद्ध नचाहेको उनले बताइन् ।

अमेरिकी टेलिभिजन एनबीसीसँगको कुराकानीमा उनले इरान र उसका साझेदारहरुले भने गाजामा पूर्णस्तरको इजरायली स्थल कारवाहीका आधारमा रणनीति बनाउने बताइन् । तर, इरानको प्रत्यक्ष निर्देशनबिनै सैन्य निर्णय गर्ने क्षमता राख्ने भएका कारण ती साझेदारले चाल्ने कदमले युद्धको विस्तार हुने नहुनेबारे निर्धारण गर्ने उनको भनाइ छ ।

गत अक्टोबर ७ मा हमासको आतंककारी आक्रमणसँगै इजरायलले गाजा क्षेत्रमा कारवाही गरिरहेको छ । त्यसयता इरानका अन्य क्षेत्रीय साझेदारले पनि इजरायली भूमिलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । इजरायलले हमासविरुद्ध आक्रमण थालेसँगै इरानको क्षेत्रीय साझेदार लेबनानी लडाकु समूह हेज्बोल्लाहले इजरायली भूमिमा रकेट आक्रमणलाई तीब्रता दिएको छ भने सिरियाले पनि इजरायल अधिनस्थ गोलान हाइट्समा क्षेप्यास्त्र हमला गर्ने गरेको छ ।

केही दिनअघि मात्रै इरानको अर्को क्षेत्रीय साझेदार यमनको हुथी लडाकुले इजरायलको इलियट सहरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेका थिए । त्यसयता हुथी लडाकु समूहले इजरायलविरुद्ध युद्धको घोषणा नै गरिसकेको छ । त्यसबाहेक इराक र सिरियामा रहेका अमेरिकी सैन्य शिविरमा पनि इरानी साझेदार लडाकुहरुले बारम्बार हमला गरिरहेका छन् ।

यस्ता हमलाको जवाफमा इजरायलले आफ्नो उत्तरी सीमामा रहेको लेबनानी भूभागमा रहेका हेज्बोल्लाहलाई लक्षित गरेर हवाई आक्रमण गरेको छ भने सिरियाका सैनिक संरचना पनि इजरायली आक्रमणको निशानामा परेका छन् । सिरिया र इराकमा रहेका सैन्य शिविरमा हमला गरेको बदलामा अमेरिकाले पनि त्यहाँ सक्रिय इरानका साझेदार लडाकु समूहलाई लक्षित गरी हवाई हमला गरेको छ । यसबाट गाजामा जारी युद्धले क्षेत्रीय द्वन्द्वको स्वरुप ग्रहण गर्ने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

इजरायलको साझेदार अमेरिका र हमासको साझेदार इरान दुबै मुलुकले गाजामा जारी युद्ध अनियन्त्रित नहोस् भन्ने चाहेको बताउँदै आएका छन् । यद्यपि इरानले आफ्ना क्षेत्रीय साझेदार लडाकु समूहलाई उकास्न र इजरायलविरुद्ध कठोर अभिव्यक्ति दिन छाडेको छैन । त्यस्तै, अमेरिकाले सो क्षेत्रमा आफ्ना साझेदारलाई प्रदान गरिने सैनिक एवम् आर्थिक सहयोगलाई बढाएको छ र सैन्य क्षमता पनि थप विस्तार गरेको छ ।

मध्यपूर्वमा विकसित पछिल्ला घटनाक्रमबाट इजरायल र हेज्बोल्लाहबीच प्रत्यक्ष युद्धको जोखिम सन् २००६ यताकै सबैभन्दा उच्च रहेको रहेको विज्ञहरु बताउँछन् । गाजामा जारी युद्धका क्रममा ठूलो अप्रत्याशित घटना नभएमा हेज्बोल्लाह इजरायलविरुद्ध प्रत्यक्ष युद्धमा होमिनेमा भने आशंका रहेको बताइन्छ ।

स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार लेबनानको आर्थिक अवस्था अत्यन्त खराब रहेको र अस्थीर राजनीतिका कारण हेज्बोल्लाहले इजरायलविरुद्ध प्रत्यक्ष युद्ध लड्न चाहेको छैन । ‘हेज्बोल्लाहलाई युद्धमा कुनै इच्छा छैन । लेबनानलाई पनि युद्धमा इच्छा छैन ।’ हेज्बोल्लाह निकट अज्ञात स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

हेज्बोल्लाह र इजरायलबीच द्वन्द्वको चपेटामा परेका सीमा क्षेत्रका गाउँबस्ती खाली छन् । सीमा क्षेत्रका लेबनानी गाउँबाट हजारौँ मानिस राजधानी बेरुत र अन्यत्र पलायन भएका छन् । तर अधिकांश लेबनानीहरु हेज्बोल्लाह र इजरायलबीच प्रत्यक्ष युद्धको पक्षमा देखिँदैनन् । ‘म ठूलो युद्ध होस् भन्ने साँच्चिकै चाहन्नँ, किनभने यो रोकिने छैन ।’ बेरुतबाट ३० वर्षे एली खोउरेले अल जजीरासँगको कुराकानी क्रममा भने, ‘हामी यसलाई सम्हाल्न सक्दैनौँ । हामीसँग पर्याप्त औषधि पनि छैन र अस्पतालमा सुईको पनि अभाव छ ।’

हेज्बोल्लाह र इजरायलले एक अर्काविरुद्ध आक्रमण गरेपनि घना बस्ती रहेका क्षेत्रमा धेरै ठूलो असर परेको छैन । हालसम्म सर्वसाधारणको हताहती नहोस् भन्नाका लागि दुबै पक्ष सचेत देखिएका छन् । मिडिल इस्ट इन्स्टिच्युटकी लेबनान विज्ञ राण्डा स्लिमले अल जजीरालाई बताएअनुसार सीमा क्षेत्रका दुबै तर्फका गाउँहरु खाली छन् ।

यद्यपि दुई पक्षबीच जारी लडाईँ विस्तारै बढ्दै जान थालेकोमा भने उनले चिन्ता व्यक्त गरिन् । हालसम्म हेज्बोल्लाहले इजरायलसँगको लडाईँमा आफ्ना ५० बढी लडाकुको मृत्यु भइसकेको जनाएको छ भने इजरायलले आफ्ना आधा दर्जनभन्दा धेरै सैनिक मारिएको बताएको छ । यद्यपि युद्ध अझै नियन्त्रण मै रहेको स्लिमको भनाइ छ ।

हुनपनि सन् २०२० मा अमेरिकी सेनाको कारवाहीमा इरानको रिभल्युसनरी गार्ड कोर आईआरजीसीको कुद्स फोर्सका कमाण्डर कसिम सुलेमानीको मृत्यु भएपनि मध्यपूर्वमा अमेरिका र इरानबीचको युद्धको जोखिम ह्वात्तै बढेको थियो । त्यसयता हालै कतारी मध्यस्थतामा दुबै मुलुकले बन्दी साटफेर गरेसँगै अमेरिका इरान युद्धको जोखिम केही घटेको अपेक्षा गरिएको थियो । तर, इजरायलमा हमासको आक्रमणसँगै यो जोखिम फेरि बढेर गएको छ । इराक र सिरियामा रहेको अमेरिकी सैन्य शिविरमा हमला जारी राखे त्यसको जवाफ दिन तयार रहेको ह्वाइट हाउसका सुरक्षा प्रवक्ता जोन किर्बीले चेतावनी दिएका छन् ।

इरानी सर्वोच्च नेता अलीखामेनेइतर्फ इङ्गीत गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले ‘आयातोल्लाहलाई’ सैनिक परिचालन गरे जवाफ दिने चेतावनी दिएको बताएका थिए । यता इरानले भने राष्ट्रपति बाइडेनको चेतवनीलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । हालै इरानी राष्ट्रपति इब्राहिम रइसीका राजनीतिक मामिला सल्लाहकार मोहम्मद जमशिदीले बाइडेनको चेतावनी ठाडै अस्वीकार गरेका थिए ।

उनलाई उद्धृत गर्दै आईआरजीसीसम्बद्ध तस्निम समाचार संस्थाले भनेको छ– ‘अमेरिकी सन्देश न त इस्लामिक क्रान्तिका नेताप्रति लक्षित थियो, न त उनीहरु इरानी पक्षलाई आग्रह गर्नबाहेक अरु केही गर्न सक्छन् । यदि बाइडेनले इरानलाई चेतावनी दिएको ठान्छन् भने उनले आफ्ना सहयोगीहरुलाई सन्देश पत्र देखाउन भनून् ।’

दुई विपरीत शक्तिबीच मध्यपूर्वमा शब्द युद्ध चलिरहँदा अमेरिकाले इजरायल नजिकै ठूलो मात्रामा सैनिक क्षमता विस्तार गरेको छ । यद्यपि कूटनीतिका माध्यमबाट युद्धको समाधान निस्कियोस् भन्ने आफूहरुको चाहना रहेको अमेरिकी भनाइ छ ।

हालै अमेरिका भ्रमणमा गएका इरानी विदेशमन्त्री हुसेन अमिरअब्दुलाहियानले राष्ट्रसंघको महासभामा आफूहरु क्षेत्रीय युद्धको पक्षमा नरहेको तर इजरायलले प्यालेस्टाइनमा आक्रमण तीब्र पारे आफूहरु जवाफ दिन तयार रहेको जनाएका थिए । उनले सीएनएनलाई दिएको अन्तरवार्तामा आफ्नो मुलुकले मध्यपूर्वमा जारी युद्ध ‘विस्तार नहोस्’ भन्ने चाहेको उल्लेख गरे ।

जर्ज वाशिंटन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एलियट विद्यालयका प्राध्यापक चाल्र्स ड्युनले सीएनएनमा लेखेका छन्, ‘इरान, इजरायल, हेज्बोल्लाह वा अमेरिका नै किन नहोस्, कुनै पक्षबाट गलत कदम चालिए त्यसले तीब्र गतिमा धेरै मोर्चामा क्षेत्रीय युद्ध निम्त्याउन सक्छ । यसबाट सहजै दशौँ हजारको हताहती हुन सक्छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ५ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला