माओवादीको भविष्य : पतन कि पुनरागमन ? | Khabarhub Khabarhub

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

प्रचण्डको सत्ताकेन्द्रित कार्यशैलीप्रति कार्यकर्ता असन्तुष्ट



काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछि प्रायः हरेक सरकारमा सहभागी छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेर सत्ताको बागडोर सम्हाल्न थालेको माओवादी त्यसपछि निरन्तरजसो प्रचण्डको चलाखीकै कारण सरकारमा छ ।

माओवादी फुटेर टुक्रा–टुक्रा भए पनि पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई सरकारमा बस्न भाग्यले साथ दिइरहेको छ । बहुमत ल्याएका बेला एकल रूपमा तथा नभएका बेला गठबन्धन गरेर पनि माओवादीले सरकार छाडेको छैन ।

वर्तमान अवस्थामा देशको तेस्रो राजनीतिक शक्ति बनेको माओवादीको शक्तिमा आँच आएको भन्नेहरू पनि छन् । तर, माओवादीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड यो कुरा मान्न तयार छैनन् । उनी त अब हुने २०८४ पछि पनि माओवादीले नै देशको नेतृत्व गर्ने भाष्य बोल्छन् । यो कुरामा महासचिव देव गुरुङ र प्रवक्ता अग्नि सापकोटा पनि होस्टेमा हैँसे नै थपेर भन्छन्, ‘हाम्रो स्थान सुरक्षित छ । सरकारमा बसेर हामीले जनताको अपेक्षाअनुसारका काम गरेका छौँ ।’

प्रचण्ड बेला बखत भाषणमा भन्छन्– हरेक संकटमा माओवादीले नै देशको नेतृत्व गरिरहेको छ । त्यो जिम्मा मलाई नै जुरेको हुन्छ । मान्छेहरू मलाई अस्थिर देख्छन्, तर म आफूलाई गतिशील मान्छु ।

८२ जनाले पाए मन्त्री बन्ने अवसर

हालसम्म माओवादीका नेताहरु १ सय १८ पटक मन्त्री बनेका छन् । एकै व्यक्ति धेरै पटक दोहोरिएकाले मन्त्रीको अवसर पाउने नेताको संख्या भने यो भन्दा थोरै अर्थात् ८२ जना छ । आवधिक निर्वाचनलाई ख्याल गर्ने हो र एउटा सरकार ५ वर्ष चल्ने हो भने जम्मा गएको १५ वर्षमा एउटा मन्त्रालयमा बढीमा ३ जनाले मन्त्री बन्न पाउने थिए । तर, यहाँ १५ वर्षमा एउटै पार्टीको त्यो पनि तेस्रो पार्टीबाट १ सय १८ पटक मन्त्री हुन पाएका छन् ।

पार्टीका हिसाबले चार पटक प्रधानमन्त्री बन्न पाएको छ माओवादीले । प्रचण्ड मात्रै २०६५, २०७३ र २०७९ गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । २०६८ सालमा प्रधानमन्त्री बन्ने माओवादीका नेता नै डा. थिए बाबुराम भट्टराई । तर भट्टराई २०७२ असोज ९ गते पार्टी परित्याग गरी बाहिरिए ।

कार्यकर्ताले अवसर नपाएको गुनासो

२०६४ चैतमा भएको संविधान भा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । त्यो कारण २०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यस्तै, २०६८ असोजमा पनि माओवादीले प्रधानमन्त्री बन्ने अवसर पाएको थियो । त्यो बेला तत्कालीन माओवादीका रहेका बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए ।

२०७० मंसिरमा भएको दोस्रो संविधान सभा चुनावमा माओवादी तेस्रो दलका रूपमा उभियो । तर, त्यो बेला पनि तेस्रो दल बन्न पुग्यो । त्योबेला पनि २०७२ असोजमा प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकारलाई ढाल्दै २०७३ साउनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने ।

२०७५ जेठ ३ गते एमाले र माओवादीको एकता भएर नेकपा बन्यो । त्योबेला नेकपामा दुई अध्यक्ष थिए, पहिलो अध्यक्ष केपी शर्मा ओली र दोस्रो अध्यक्ष प्रचण्ड । तर, नेकपाभित्रको विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले काम नै गर्न नदिएको भनेर २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए । प्रतिनिधिसभा विघटन गरेसँगै माओवादीका ५ मन्त्रीले राजीनामा दिए । त्यो बेला पनि माओवादीका दुई मन्त्री रामबहादुर थापा र लेखराज भट्ट सरकारमै थिए । अदालतमा रिट परेपछि २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो ।

यस्तै, २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरेपछि पनि माओवादीका मन्त्रीहरू थिए । नेकपा विभाजन भएपछि एक पटक २०७८ वैशाख ३१ गते ओलीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका थिए । त्यो बेला मात्र माओवादी सरकारमा सहभागी हुन पाएन ।

सर्वोच्च अदालतको आदेशले २०७८ असार २८ गते ओलीको ठाउँमा शेरबहादुर देउवालाई ठूलो दलको हैसियतले प्रधानमन्त्री बनाउनू भनेपछि २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यो बेला पनि माओवादीले सरकारमा सम्मानजनक सहभागिता जनाएको थियो ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादी पार्टी तेस्रो शक्तिका रूपमा उभिएको छ । तर, उ हाल पनि सरकारमा सानदार सहभागिता जनाइरहेको छ । पार्टी अध्यक्ष प्रचण्ड १० पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनीसँगै हाल ४ जना अन्य मन्त्रीहरू पनि सरकारमा छन् ।

हुन त माओवादी सरकारमा रहे पनि जनआन्दोलनका बेला विस्थापित भएका परिवार तथा घाइतेको उचित व्यवस्थापन गर्न नसकेको र सत्ताभोगी मात्र भएको आलोचना प्रचण्डले खेपिरहेकै छन् । परिवारवादमा फसेको र कार्यकर्तालाई अवसर नदिएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

२०७९ निर्वाचनअघिको ५ दलीय गठबन्धन तोडेर ९ पुसमा प्रचण्डले एमालेलाई साथ लिएर ७ दलीय गठबन्धन बनाए । त्यसको दुई महिना नपुग्दै फेरि एमालेसहितका ६ दललाई धोका दिएर उनी १३ फागुनमा ८ दलीय गठबन्धन निर्माण गर्न पुगे ।

९ पुसमा पाँच दलीय गठबन्धन तोड्दा प्रचण्डले धोका दिएको कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायतले सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए । तर, १३ फागुनयता एमालेले प्रचण्डलाई धोकेबाजको बिल्ला भिराइरहेको छ भने कांग्रेसले प्रचण्ड सच्चिएको अभिव्यक्ति दिइरहेको छ ।

प्रचण्डप्रति नेताहरू बेखुशी

हरेकजसो माओवादी पदाधिकारीको बैठकका प्रचण्डपछि माओवादीको उत्तराधिकारी को भन्ने विषयमा छलफल चल्छ । पदाधिकारीमध्येका एक नेताले खबरहबसँग भने, ‘उत्तराधिकारी को र कसलाई दिने भन्ने कुरा उठेपछि अध्यक्षज्यूको मुड नै परिवर्तन हुन्छ । अध्यक्षज्यू पार्टी माओवादीको जागरण अभियानमार्फत पार्टी रूपान्तरण गरेर जाउँ भन्नुहुन्छ । तर, त्यो सम्भव छैन । नयाँ तरिकाले अगाडि बढ्न हामी सुझाव दिइरहन्छौं । कुरा सुनेजसो गरे पनि उहाँको आफ्नै ताल हुन्छ ।’

ती नेताले थपे, ‘नेतृत्व युवालाई दिउँ, पुस्तान्तरण गरौँ, अन्य उत्तराधिकारी खडा गरौँ भनेर पनि पटक पटक आवाज उठ्ने गर्छ । तर प्रचण्ड यो कुरा सुन्न तयार छैनन् । सकुन्जेल आफू नै रहने भित्री मनसाय देखिन्छ । पदाधिकारी बैठकमा जनार्दन शर्मा र प्रचण्डबीच कहिलेकाहीँ भनाभन पनि चलिहाल्ने अवस्था हुन्छ । जनार्दनजी हक्की स्वभावको हुनुहुन्छ । आफ्ना कुरा झट्ट राखिहाल्नुहुन्छ । चर्काचर्की परिहाल्छ ।’

माओवादी केन्द्रमा अघोषित रूपमा दुई तीन–वटा गुट छन् । अहिलेका पार्टी प्रवक्ता अग्नि सापकोटा, मन्त्रीहरू शक्ति बस्नेत, रेखा शर्मा, सांसद वर्षमान पुन, माधव सापकोटा, नेताहरू कृष्णबहादुर महरा, ओनसरी घर्ती, पम्फा भुसालले दिएको सल्लाह प्रचण्डले मान्ने गर्छन् । छोरी रेणु दाहालसँग पनि उनले सल्लाह लिन्छन् ।

नारायणकाजी श्रेष्ठ, देव गुरुङ, राम कार्कीलगायत नेताको कुरा प्रचण्डले सुन्ने मात्र, व्यवहारमा लागू नगर्ने गरेको माओवादीका अर्का नेता बताउँछन् । उनी भन्छन्, ‘प्रचण्ड दक्षिणपन्थी अवसरवादतिर ढल्किएको भन्ने आरोप बाहिर छ । कहिलेकाहीँ त होला कि जस्तो पनि लाग्छ । केही कुराहरु देव गुरुङलाई पनि थाहा हुन थालेको रहेछ ।’

हुन त प्रचण्डको बोली र व्यवहारमा एकरूपता नभएर गतिशील नै देखिन्छन् । उनले कति बेला कहाँ आफ्नो परिवेश बदल्छन्, त्यसको कुनै लेखाजोखा नै छैन ।

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय कमिटीको पनि बैठक पनि प्रतिस्पर्धाको हिम्मत गर्न प्रचण्डले भनिरहेका हुन्छन् । उनको कार्यशैलीप्रति गुनासो बहुमत केन्द्रीय सदस्यको रहेकै हुन्छ । प्रचण्डकै शब्दमा उनलाई गतिशील नै मान्ने हो भने पनि उनको गतिशीलताले स्वयं उनको परिवार, समाज, पार्टी पङ्क्ति, देश र आम जनताले के उन्नत नतिजा पाए सजिलै मूल्याङ्कन गर्न सकिन्छ ।

यस्तो विषय नेपाली धुरन्धर राजनीतिक खेलाडीहरूले बुझ्न सक्दैनन् भनेर विश्लेषण गर्नु गलत हुन सक्छ ।

२०८४ मा माओवादीको पोजिशन कस्तो होला ?

माओवादीको शक्ति खस्कँदै गएको छ । २०७९ को निर्वाचनमा माओवादी तेस्रो स्थानमा छ । हुन त २०७४ को निर्वाचनमा पनि माओवादी तेस्रो स्थानमै थियो । हाल देशमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ दलहरू उदाएका छन् । उनीहरूलाई पुराना दललाई भन्दा जनताले विश्वास गरेको देखिन्छ ।

यसो हुँदा २०८४ को निर्वाचनमा माओवादी केन्द्र सकिन लागेको भन्ने आरोप पूर्वमाओवादी घटकहरुले नै गर्ने गरेका छन् । पूर्वमाओवादी घटकका एक नेता भन्छन्, ‘प्रचण्डसँग कुनै तन्त्र मन्त्र छैन, अब जनता झुक्क्याउने । अब उहाँको पतन ३ वर्षपछि देखिन्छ ।’

अकोतिर पूर्वमाओवादी घटकहरू एक हुने भनेर प्रचण्डले लामै कसरत गरे । तर, उनले हालसम्म पनि कसैलाई मिलाउन सकेका छैनन् । यसबारे माओवादीका महासचिव देव गुरुङ भन्छन्, ‘विचार र सिद्धान्तहरुमात्र नमिलेको हो । एकीकरणको प्रक्रिया चलिरहेकै थियो तर केही सैद्धान्तिक कुराहरू नमिलेर रोकिएको छ ।’

प्रचण्डको चाहाना मिसन २०८४ मा पूर्वमाओवादी घटकहरू मिलाएर निर्वाचनमा जाने र शक्ति आर्जन गर्ने थियो । तर उनको सपना अहिलेसम्म साकार हुन सकेको छैन । अहिले पूर्वमाओवादीहरू एकताका लागि छलफलमा पनि जुट्न सकेका छैनन् । पूर्वमाओवादी नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द्र, आहुती लगायतका नेताहरू मिल्ने पक्षमा देखिँदैनन् ।

माओवादी केन्द्रको भविष्य २०८४ को निर्वाचनले मात्र निर्धारण गर्ने देखिन्छ । महासचिव गुरुङ भन्छन्, ‘अगाडि बढ्दै जाने हो अझ पनि सम्भावना टरेको छैन ।’

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ४४ बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका