कथा : एक्ले पिपल | Khabarhub Khabarhub

कथा : एक्ले पिपल



साउने धान उठाउन धमाधम छ ।

हाम्रो पनि मुरी बारेक धान आउने खेत छ । आमालाई पालो दिँदै खेतालाका लागि खाजा बोकेर म पनि खोला झरेकी छु ।

गाउँका धेरै जसोको धेरथोर खोलाखेत छ । आ–आफ्नो खेतमा धान झाँट्ने काम हुँदैछ । झाँटेको धानलाई हावा लगाउनु पर्छ । त्यसपछि बोरामा उठाएर पिठ्युँमा बोक्यो, र उकालो लाग्यो । पाथी दसेकको भारी बोकेर म पनि ठूला मान्छेलाई पछ्याउँदैछु । धान बोक्नेको ताँती लामै छ ।

जङ्गल आधा छिचोलेको छैन, बाटो नदेखिने गरी अध्याँरो भइसकेको छ । छामछाम छुमछुम गर्दै लस्करले चिहानघारी काट्यो । गाउँको पुच्छरमा रहेको कटहरबोटे कोप्पा कोकुको घरमा पुगियो ।

कोप्पा पाको हुनुहुन्छ । सिकुवाको खाटमा बसिरहनुभएको छ । खाट छेउको मूलखाँबोमा झुण्डिएर बलिरहेको कुपीले आँगन रमरम उज्यालो छ ।

सबैले धानको भारी भित्ताहुँदो बिसायौँ । टाउको हलुको भो । पेटीमा गुन्द्री, छेउछाउमा मुडाहरु यत्रतत्र छन् । सबै टक्र्याक टुक्रुक्क बस्यौं ।

बिसाउनी भनेको सुर्तीको सर्को तान्नु पनि हो । लोलुङ्लो छेउको भोर्लाको पातको मुठा तानेर लामपाते सुर्ती कुपीमा सल्काएर पङपङ ….. धुँवा उडाउँदै गफ गर्न थाले । बीचमा बसेकी म, सुर्ती नखाने भए पनि बासना मीठो लाग्छ ।

ठूला मान्छेको यसै त ठूलो स्वर, गलल्ल हाँसो । हँसिमजाक उधुम सुरु भइहाल्यो । कोहीचाहिँ राँकोका लागि कप्टेरा टुक्र्याउन लागे । यतिकैमा अकस्मात माथि पाखाबाट छोरीमान्छे रोएको आवाज आयो ।

होहल्ला सल्र्याक सुर्लक्कै बन्द भयो ।

निष्पट्ट अँध्यारोमा सबैका आँखा आवाज आएतिरै उकालिए । समडम्म कालो रात । देखिनु केही हैन । तीन मिटर मास्तिरको बकैनाको बोट त देखिन्न, त्यतिमाथिको त झनै के कुरा ।

हुँहुँ ….. हुँ …..हुँ……. स्वर तानेर झनै भक्कानिई भक्कानिई रोएको मेरो कानले पनि साँच्चिकै सुन्यो । लगलग काँप्न थालेँ । आँखाभित्रबाट ज्वालामुखी फुटेझैँ गरी तातोपानी निस्कियो ।

‘ए ! नडराओ है, नडराओ ! डम्बरी हो यो । यतैहुँदो डुलिरहन्छे सधैँ । आफ्नो बाटो नहिँडेर, यसलाई कुटाइ नपुगेको !  फेरि औंसीको दिन, त्यहाँ ढर्रा पार्दैछे !’

सन्नाटा भत्काउँदै कोप्पाले बसेकै ठाउँबाट बोल्नु भो । उहाँ बिजुवा हुनुहुन्छ । भूतप्रेत, पिसाचहरू हिँडेको प्रष्टै देख्नुहुन्छ रे ! चिन्नु पनि हुन्छ अरे !

मैले पुरानो घटना सम्झिएँ–

हिँउदमा सबैका गाईवस्तु छाडा छोडिन्छन् । बेलुकीचाहिँ खोज्न निस्कनुपर्छ । एकदिन वस्तु खोज्दै यही आँगनबाट खोल्सा पारी तर्न जाँदैथेँ । ‘ए, ….पख् पख् !’ यही खाटबाट कोप्पाको आवाज आयो ।

टक्क अडिएर ‘के भन्नुभाको ?’ भनेर सोधेँ ।

एकछिनसम्म म भएतिरै हेरिरहनु भो, र भन्नुभयो ‘लु, भो । जा अब । नडराई जा है ।’

म अलमलमा पर्दै सरासरी अघि बढेँ ।

कोप्पा भन्दै हुनुहुन्थ्यो, यताबाट म भएतिर खै के आउँदै थियो रे । कोप्पाको बोली सुनेपछि त्यो स्वाट्टै कान्लाबाट उक्लियो रे ।

कोप्पाको भनाइमा यो खोल्सा तल साँवा खोलासँगै जोडिएको जङ्गलबाट आएको हो । त्यसैले जङ्गलमा बस्ने पिसाचहरू यो बाटो हिँडिरन्छन् रे !

‘एई .. चुप लाग् । बन्द गर् तेरो चाल ।’

उकालोतिरै हेरेर कोप्पा फेरि थप्दै हुनुहुन्छ ।

कसैले साइँसाइँ र सुइँसुइँ गर्दै पसेले । कोही अहम्, अँ…… गर्दै ठूलो स्वरले खोकेपछि भने रोएको आवाज सुँक्कसुकाउँदै बन्द भो ।

डम्बरी भनेको टाँकीबोटे पातिकोको श्रीमती हुन् । पातिपो मातिपोको दुई छोराहरू छन् । उनेरू म भन्दा ५÷६ बर्खले साना छन् । पोहोरको साल मातिपो फेरि नानी जन्माउने थिइन् । सुत्केरी ब्यथा लागेपछि बच्चा जन्मियो, भाइ । तर बच्चाको साथी झरेन रे । हाम्रो मूलघरको कोकु लगायत अरु बुढीपाकीहरू भेला भए । हाम्रो आमा पनि कोदोको तीनपाने बोकेर जानु भको थ्यो । घरि बिहान, घरि दिउँसो गइरहनु हुन्थ्यो ।

एक साँझ म पनि आमाको पछि लागेर मातिपोलाई हेर्न ग’को थेँ । काठको बाकलको गारो भको घर, भित्र चुलोछेउमा सुतिरहनु भको मातिपोलाई बाहिरबाट नै देखेँ । सुन्निएर ठूलो भको पेटमा फलामको मुर्चुङ्गा आकारको खै के बाँधिएको थियो । यसो गरे लागो भाग्छ रे, भित्र यसै भन्दैथे ।

सबै मिलेर ओखतीमुलो गरेपनि केहि दिनपछि मातिपोको मृत्यु भयो । त्यसबेला मलाई ती भाइहरूको असाध्यै माया लागेको थियो ।  गाउँ शोकमा डुब्यो ।

मातिपोको आत्मा उतिबेलै जागेको हो रे ! म मेरो कान्छा छोरा लगेरै छाड्छु भन्छे भनेर बिजुवाहरू भनिरहन्थे । साँच्ची नै केही पछि भाइ पनि खस्यो । ठूला मान्छेहरूले भनेको सुनेको छु, ‘साँझ पर्न भ्याउँदैन, डम्बरीले चाल गर्न थालिहाल्छे ।’

कसैलाई त सपनामा पनि आएर सताइरहेकी छ रे ।

अहिले रोएको आवाज आएको ठाउँ माथि एक्ले पिपलनेर हो । सम्झेँ– यो अन्धकार रातमा मातिपोको आत्मा छेवैमा आएर रोइरहेको छ, एक्ले पिपललाई कति डर लागिरहेको होला !

०००

गाउँको सामुन्ने देखिने पारीको जङ्गलमा सर्पझैँ कङ्ल्याङकुलुङ परेको ठूलो बाटो छ । बाटो सुलुलुलु तल खोँचमा झर्छ । साँवा खोला तरेर जिल्ला सदरमुकामसम्म पुग्न हाम्रो गाउँ हुँदै उँभो लाग्छ । यो बाटोलाई दाहिने राखेर पुच्छर गाउँको शीरमा रहेको चौतारोको पिपललाई नै गाउँका सबैले एक्ले पिपल भन्छन् ।

एक्ले पिपलमा आइपुगेपछि म बाटो छड्क्याएर गाईवस्तु पाखातिर लघार्छु । अनि पिपलको छाँयामा गट्टी खेल्दै बस्छु । भुईँ पगाल्नेझैं गरी घाम लागेको छ । पिपलको टुप्पामा कहाँबाट आइपुगेको बतास पातसँग सिलिङलिङलिङ……गफिरहन्छ । भुइँमा बसेकी म असाध्यै शीतल छु ।

गाईवस्तु कहाँ छन् भनेर यसो आठ÷दस पाइला चौताराबाट बाहिर निक्लेको, घामले टिप्लाझैँ भयो । हपहपी बाफले स्वास फेर्नै अप्ठ्यारो भो । तिर्मिराएका आँखाले देखेँ, गाईवस्तु छरिएर चर्दै र’छन् । फरक्क फर्किएँ । निभ्न लागेको मेरो अनुहारको बत्ती, सर्लक्कै बौरियो ।

बिना काम एक्ले पिपल आउन पाइन्न । बरालिनु हुन्न भनेर आमाले सिर्कना लगाइहाल्नुहुन्छ । छेपारीमा परेको सिर्कनो आगो भन्दा बिषालु हुन्छ, कम्ति मात्रै पोल्दैन । सम्झँदा नै आङ कुँडिएर आउँछ, हैट !

लम्बाइ मिलेका चापटे ढुङ्गा पैसा बिछ्याइएझैँ छन् । यिनले सिकुवा÷पेटीमा बिछ्याइएका गुन्द्री बिर्साइदिन्छन् । घरमा यसरी लडीबुडी गर्न पाइन्न । तँ नखेल् ! भनेर रोक्ने यहाँ त कोही पनि छैन ।

भँगेरोझैँ यताउति उफ्रँदैछु । जन्ती हिँडेका चर्के कमिलाको ताँती नियाल्दैछु । यिनलाई पनि पिपलको शीतल मन पर्दो हो ।

पाकेर झरेका पिपल–फल छरपष्ट छन् । टुक्रुक्क बसेर टपक–टपक टिप्दै खाँदैछु । गुलियो । असाध्यै मीठो । एक–एक गरी चबाउँदा कस्तो चित्तै बुझेन ! मुठीभरि पारेँ र क्वाप्प मुखभरिको गाँस लगाएर गर्‍याम गर्‍याम के दुई पटक चबाएको, ह्वास्स दुर्गन्ध जिब्रोले थाहा पायो । दाँत तलका तल, माथिका माथि नै रोकिए । वाक्क गरेँ । मुखका पिपल सबै निस्कियो । शंका ठीकै रहेछ, कमिलाको ताँती हेर्दै पिपल टिप्दा बाख्राको बड्कौँलो पनि परेछ ।

अझै नमिठो केही छ, थुक्क थुकेँ । भर्खरसम्म मुखमा बसेको पिपलको मिठो स्वाद भागिहाल्यो । पिपल खाने ईच्छा बिलायो । बड्कौँलाको नमिठो स्वाद घाँटी हुँदै पेटसम्म पुग्यो । मुख कुल्ला गर्न पाए हुन्थ्यो, छटपटी भो ।

पानी भेट्न परको कमेरे खोल्सी पुग्नुपर्छ । त्यहाँ हातले खोपेर बनाएको सानो डुबुल्कोमा जरुवा पानी भरिएर बगिरहेको हुन्छ ।

खरप्प गट्टी मुठ्याएर जामाको गोजीमा लगाएँ र हिँडेँ । अञ्जुलीले पानी उबाउँदै मुख खोकलेँ । तिर्खा पनि पो असाध्यै लागेको रहेछ । तनतनी पिएँ । रबरको फेदबाट उम्रिएको पानी, रसिलो छ । मनमनमा सोच्छु– घाम जति नै चर्किए पनि एक्ले पिपलको शीतल कहिल्यै कम हुँदैन । यस्तै यो पानीको चिसोपन पनि । बरु मिठास अझ थपिएझैँ लाग्छ ।

यो पाखामा एक्ले पिपल र पानीको यो डुबुल्को नहुँदो हो त गोठालाहरूलाई दिनभर टिक्न गाह्रो हुन्थ्यो । गोठाला भनेको मजस्तै केटाकेटीहरू त हुन्छन् ।

घाम जसै झर्दै जाँदैछ । गाईवस्तु चर्दै पाखाको पुच्छरतिर पुगेका छन् । यिनीहरूलाई पनि तिर्खा लागेको हुनुपर्छ । बेँसीको जग्गा, पानीको दुःख छ । माथि, शिकारीथानबाट कुवाको पानी नालामा तानेर तल्लो गाउँमा ल्याइएको हो । मान्छेले लुगा धोएको, नुहाएको पानी बगेर आहालमा जम्मा हुन्छ । वस्तुहरू डोलिँदै आहालमा पुगे । मुख डुबाएर चरर्र…. तनतनी पेट डम्मै उस्कने गरी पानी पिए । अघाएपछि कालो हिलो कुल्चँदै पल्लोछेउ निस्किए । आहालभित्र हल्लीखल्ली मच्चियो । गाईवस्तु भने सरासरी गल्लीको बाटो हुँदै घरतिर लागे । म पछ्याउँदै छु ।

गल्ली छोडेर वस्तुहरू गुडुम्डुम् आवाज निकाल्दै घर पुगे । आँगन तगारोले बन्द छ । फरक्क घुमेर सिधै गोठमा पुगे ।

‘गाईवस्तु कता लगिस् ? पेट त साह्रै उक्सिएको जस्तो छैन,’ आमा सोध्नुहुन्छ ।

‘एक्ले पिपलतिर ।’

‘गट्टी खेल्ने सुरमा बाली त खुवाइनस् होला नि ?’

म चुप भइहालेँ । अस्ति गाईवस्तु ठानडाँडा उँधो ठूलो पाखामा लगाएर दाउरा खोज्न थाल्यौँ । हाम्रो गोरीगाई र साधुघर दाजुको मौरे गोरु खोला झरेर कुलोमुनि पसेछन् र फुल्न लागेको धान सखाप पारेछन् । कान्छा दाजुको खेत हो । दाजुले भोलिपल्टै कचहरी राखे । दुई घरले तिर्ने गरी ६ पाथी बिगो अर्मले । त्यो दिनदेखि आमा यै कुरा दोहोर्‍याइरहनुहुन्छ ।

०००

मैले पहिलो पटक देख्दा पनि यो एक्ले पिपल यसैगरि एक्लै थियो । बारी पुच्छरमा घाँस काट्न, दाउरा खोज्न जाँदा पनि हेर्छु, एक्लै उभिरहेको देखेर मनमा के–के कुरा खेलाउँदै हिँड्छु ।

हुलका हुल हलेसो उड्दै आउँछन् । झुरुम्म एकै भएर पिपलका हाँगा–हाँगामा बसेर कप्ल्याक कुप्लुक पिपल–फल टिप्छन् । तिनीहरूको उठबसले हाँगा मज्जाले हल्लन्छन् र पाकेको पिपल–फल भुइँमा पनि झर्छ । यस्तो बेला हामी केटाकेटीहरूले ताजा फल खान पाउँछौँ । पाकेको फल छानी छानी खाइसकेपछि चराहरू जसरी आएका थिए, उसरी नै जान्छन् । हल्ला गर्दै कहिलेकाहीँ काग पनि आउँछ । तर, मुखमा नै हराउने साना–साना पिपल टिप्ने दुःख उसले साह्रै गर्दैन । कागलाई पिपलभन्दा बढी बर मन पर्छ ।

साँझ पर्न लागेको छ । आकाश एक्कासि कालोनीलो भएर आयो । गड्याङ्गुडुङ बिजुली चम्कँदै मुसलधारे पानी प¥यो । त्यसपछि बडङडङडङ …. असिना बाक्लै झर्न थाले । केहीछिनपछि असिना झर्न रोकियो तर पानी भने परिरह्यो ।

बिहान थाहा भयो, गल्लीहुँदो कुदेको पानी डोलिँदै बारीमा पसेर बारी चिरा पार्दै उँधो लागेछ । सालैपिच्छे आकाशबाट झर्ने पानीले सानोतिनो चकचक गरेरै जान्छ । यस्तोबेला पापा–आमाको अनुहार धेरै बेरसम्म धमिलिरहन्छ ।

वारिपारि सबैतिर सफा, आकाश झनै रमाएको देखिएको छ ।

गाईवस्तु गोठबाट निकालेर धपाएँ । अलि सबेरै भएकाले वस्तुलाई चरणको लागि खोला झार्नू भनेर आमाले भन्नु भएकाले एक्ले पिपलको बाटो हुँदै वस्तुसँग ओरालिँदै छु । हेर्छु त, हिजोको असिनापानीले पिपलका हाँगा लुछेर भुइँभरि बनाएको रहेछ ।

आकाशतिर फर्किएर पिपललाई हेरेँ । छाती चरक्क भो । मनमनमा लाग्यो– न बिछ्याउने, न ओड्ने । न ओत लाग्ने छानो छ । सग्लो ज्यान मात्र । रातिको असिना पानीमा पिपलको ज्यान कसो …. !

०००

गाउँमा चौतारहरू धेरै छन् । तर, सबैमा बर र पिपल जोरै छन् । यो चौतारीमा मात्र हो, पिपल एक्लै ।

हुरीबतासको समयमा पिपलका सुकेका हाँगा भुइँभरि झर्छन् । मान्छे आउँछन् र अँगालोभरि बोकेर घर लान्छन् । खरो नभए पनि झ्याम्टा–झ्याम्टीहरु कुँडो, चारो पकाउन काम लाग्छ भन्छन् । मैले पनि कहिलेकाहिँ नाम्लो–डोरीले घाँसको भारीझैँ बाँधेर घर लगेकी छु ।

दशैँ आउँछ । गाउँलेहरू भेला भएर बाटो सफा गर्छन् । चौतारोका बरपिपल वरिपरि नचाहिने झोर फाँड्छन् । ढुङ्गा खसेर पर्खाल भत्किएको छ भने मिलाइदिन्छन् ।

यो एक्ले पिपल पनि गोरेटोमै पर्छ । तर, मान्छेहरुले यसलाई कहिल्यै पनि किन सम्झँदैनन्, मैले आजसम्म बुझ्न सकेकी छैन ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ४ : ३७ बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका