७ वर्षदेखि उडान नहुँदा दर्जनौँ होटेल बन्द « Khabarhub

७ वर्षदेखि उडान नहुँदा दर्जनौँ होटेल बन्द


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको लामिडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटेल बन्द भएका छन्। रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौँ होटेलमा ताला लागेको हो। २०२८ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलमा उडान नहुँदा स्थानीय होटेल तथा पसल सुनसान बनेको छ। विमानस्थलका कारण आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको लामिडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताए। दुई चार वटा बाहेक अन्य होटेलहरुमा ताला लागेको छ। होटेल तथा पसल अगाडि झारपात पलाएको छ। भिडभाड हुने होटेल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेसा खेतीपातीतिर फर्किएका छन्।

खोटाङका तीन वटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो। पर्यटकीय सिजनमा लामिडाँडा विमानस्थलमा एकै दिन हजाइजहाज र हेलिकोप्टर गरी ६० देखि ६८ फ्लाइट हुन्थ्यो। यात्रुको ओहोर–दोहोरले होटेल र पसलमा ग्राहक भरिभराउ हुन्थे। फ्लाइट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे। तर, कच्ची र धुलाम्मे विमानस्थल हुँदा नियमित उडान भइरहेको विमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामिडाँडाका वडा सदस्य महेशकुमार श्रेष्ठले बताए। कालोपत्रे गरिएपछि लामिडाँडामा २०७६ असार ३ गते परीक्षण उडान भरिएको थियो।

त्यसयता विमानस्थललाई परीक्षण उडानमै सीमित राखिएको छ। २०७३ असोज १९ गतेदेखि सुरु गरिएको विमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो। सेड्युअल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामिडाँडामा उडान बन्द भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामिडाँडा विमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो। लामिडाँडामा दैनिक यात्रुको घुईचो लाग्ने गरेको थियो। होटेल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो। होटेलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दै आएका थिए। तर हिजोआज बैंकमा आउने सेवाग्राहीको कारण मात्र लामिडाँडामा केही जमघट हुने गरेको देखिन्छ। उडान नहुँदा  रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन्। यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै अशर परिरहेको छ। उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।

सोलुखुम्बु, पाथीभरा, हलेसी सिजनमा लामिडाँडामा पार्किङ अभावमा जहाज र हेलिकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो। पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोर दोहोर गर्ने जहाजलाई लामिडाँडामा ‘वेटिङ फ्लाइट’ गराइन्थ्यो। तर कालोपत्रे विमानस्थलमा परीक्षण उडानपछि सिता एयरको जहाजले दुई पल्ट उडान भर्नु बाहेक अन्य उडान हुन सकेको छैन। यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलिकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाइट’ गरेको स्थानीय बताउँछन्।

पछिल्लो समय खोटाङमा वैकल्पिक विमानस्थल सञ्चालनमा आए। सँगसँगै गाउँ–गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए। अहिले यात्रु लिनका लागि घर घरमै जिप पुग्न थालेको छ। त्यसका कारण पनि लामिडाँडा विमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३४ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत