सेना राष्ट्रिय सुरक्षाको आधारशीला हो : प्रधानसेनापति शर्मा « Khabarhub

सेना राष्ट्रिय सुरक्षाको आधारशीला हो : प्रधानसेनापति शर्मा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिबास- प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो । प्रधान सेनापति शर्माले भने, ‘हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्त्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।’

समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो । ‘समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो’, यी कुरालाई सधैँ सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, युनिट र स्थानमा तैनाथ रही योगदान पुर्याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको बताए । नेपाली सेनाको व्यवस्थापन तथा सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ मा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको  सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।

सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमाबाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तर्क्रिया आयोजना गरिएको थियो । सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तर्क्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्त्वपूर्ण सुझाव प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ०८ बजे

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ