फलको उचित मूल्य नपाएर किसान निराश « Khabarhub

फलको उचित मूल्य नपाएर किसान निराश


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

झापायूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।

‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’ गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापाले भने, ‘त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको अवस्था छ ।’

उनले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । विगत दुईवर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर दाम भने प्रतिकिलो रु दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ । 

उनले यूट्युवमा हेर्दा ड्रागन फल मिठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर त्यसको खेती सुरु गरेको बताए। प्रतिकिलो रु एक हजारसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, अहिले बजारमा यसको भाउ आधाभन्दा बढी घटेको उनले सुनाए । 

थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गरेका हुन् । गतवर्ष नै उहाँको फार्ममा फल लाग्न थालेका थिए । यसपालि त लटरम्मै फलेका छन् । 

दमक, बिर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पुर्‍याएर बेच्दा पनि बढीमा प्रतिकेजी पाँच सय पाएको उनले बताए। धेरै फल टिप्नु परेका बेला घाटा बेहोरेर प्रतिकेजी रु दुई सयमा पनि बिक्री गरेको हुँदा ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिम बढेको उनको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिका–१ मा ब्रह्याकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताए। उनले १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । खेतीका लागि बनाइएको सिमेन्टको पिलर र त्यसमा बिरुवा अड्याउने टायरको दामसमेत महङ्गिएको उनले बताए ।

श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै उनले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताए। गत असार १५ गतेदेखि फल टिप्न सुरु भइसकेको छ भने कात्तिक अन्तिमसम्म फल पाकिसक्ने भएता पनि अहिले फल पाक्ने उच्च सिजन हो । 

उहाँले गतवर्ष फार्मबाटै न्यूनतम प्रतिकेजी रु छ सयमा बिक्री गरेको ड्रागन फलको मूल्य हाल आधासम्म ओरालो झरिसकेको छ । उनले सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्बिर पोस्ट्याएर बिक्री बढाउने उपाय खोजिरहेका छन् । कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीका लागेका किसानलाई समेत प्रोत्साहनस्वरुप अनुदान दिनेको गरेको जनाएको छ । 

ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतवर्ष रु सात लाख अनुदान पाएको थियो । अरु किसानले पनि अनुदान पाएका छन् । सुमेरु कृषि फार्मका सञ्चालक भूपेन्द्र थापाले गत वर्ष रु १२ लाखको ड्रागन फल बिक्री गरेको बताउनुभयो । यसवर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उनले आम्दानी घट्ने बताए । 

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताए। 

उनका अनुसार आर्थिक वर्ष २०७७-७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८-७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले पाँच सय ६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०७९-८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन छ सय ८५ मेट्रिक उत्पादन भएको थियो । 

मूल्यमा अस्थिरता भएता पनि ड्रागन फलको खेतीमा किसानको आकर्षण बढिरहेको दाबी गरे । जिल्लाको गौरादह, दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र गौरीगञ्ज, बुद्धशान्ति, कमल, झापा गाउँपालिकामा यसको व्यावसायिक खेती भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : ३७ बजे

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै