काठमाडौँ- बृद्धिसागर लामिछाने निजामती सेवामा आफ्नो विशेष विज्ञताको कारण पनि विशिष्ट कार्य दक्षता राख्छन् । जो साहित्यिक क्षेत्रमा सागर बाबुको रूपमा परिचित छन्। उनको व्यक्तित्वको एउटा अर्को पृथक् पाटो अझ रोचक र प्रशंसनीय रहेको छ । उनी गीत सङ्गीतका सर्जक पनि हुन्। यीनै विविध विषयमा आधारित रहेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह-सचिव लामिछानेसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँले आफ्नो साहित्यिक नाम सागर बाबु किन राख्नुभयो ?
म सानो उमेरदेखि नै साहित्य क्षेत्रमा रुचि राख्थेँ। स्कुल पढ्दादेखि नै मैले केही न केही रचना लेख्ने गरेको थिए । विभिन्न नाममा रचना लेख्दै जाँदा मलाई सानोमा आमाबुबाले बोलाउने नामबाट उपनाम बनाएको हुँ। आमाले मलाई बाबु र बुबाले सागर भनेर बोलाउनुहुन्थ्यो। त्यसैलाई जोडेर मैले सागरबाबु लेख्न थालेको हुँ।
आज भोलिका दिनहरु कसरी बिताइरहनुभएको छ ?
म अहिले संस्कृति उड्डयन मन्त्रालयमा पनि काम गर्छु । विगत १० वर्षदेखि मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखामा कार्यरत छु ।
तपाईँलाई साहित्य क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
यो सिर्जनाको विषय हो । बच्चा बेलामा रामायण, मुनामदन जस्ता धेरै पुस्तक सुन्ने/पढ्ने भएको कारण मन साहित्यतर्फ गएको हो कि !
तपाईँ आफै गीत गाउनु हुन्छ ?
खासमा म गायक त होइन तर रुचि राख्छु । गीत गाउने प्रयास पनि गरेँ र यो बिचमा मेरो रचनाको नौ वटा गीतहरू रेकर्ड पनि भएका छन् । त्यस मध्य तिन वटा गीतमा आफैले स्वर दिने प्रयास गरेको छु । यो आफ्नो सन्तुष्टिको लागि मात्रै मैले गाएको हो ।
धेरै पक्षलाई सम्हाल्दा के कुराले तपाईँलाई आत्म सन्तुष्टि मिल्छ ?
पहिलो आनन्द भनेको म लेखेर गुनगुनाउँछु। कहिलेकाहीँ हार्मोनियम बजाएर आफैभित्र डुब्न खोज्दा पनि एक प्रकारको सन्तुष्टि मिल्छ । मैले विद्यालय तहको शिक्षा गाउँको स्कुलबाट प्राप्त गरेँ र कलेज पढ्न काठमाडौँ आएँ । त्यसपछि मैले विज्ञान विषय लिएर पढेँ । काम पनि प्राधिकरणमा नै आधारित भएर गरे। यो मन्त्रालय अन्तर्गत नागरिक उड्डयन महाशाखामा काम गरेको १० वर्ष भयो अहिलेसम्म कार्यरत छु । अध्ययनको क्रममा बाहिर गएर पनि विभिन्न सिर्जनामा आधारित रहेको छु ।
तपाईँको पुस्तक ‘जिन्दगीको रित’ लाई धेरैले मन पराए, के भन्नु हुन्छ ?
यो पुस्तक आउनुमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य सचिव जगत् प्रसाद उपाध्यायको विशेष भूमिका छ । मेरो पहिलो प्रेरणाको स्रोत उहाँ बन्नु भयो । यसको विमोचन भने मेरो गाउँ स्याङ्जामा गरियो। त्यसको प्रतिक्रिया एक दम सकारात्मक आयो । अझ थप उत्प्रेरणा मिलेको छ ।
‘मेरो माया तिमिलाई’ भनेर रच्नुको कारण भन्दिनुस् न !
यो गीत लेखेको २०४५ सालमा हो जस्तो लाग्छ। त्यस बेलामा बीएसी पढ्थेँ। रुसी सांस्कृतिक केन्द्रमा क्यासेट विमोचन कार्यक्रम थियो । त्यहाँ यम बरालको क्यासेट आउँछ भनेको भएर गएको हो । त्यो कार्यक्रमबाट प्रभावित भएर मैले यो गीत लेखेको हो । यो स्रष्टाहरू प्रति समर्पित भएर लेखेको हो । नेपालमा बाल साहित्यको खडेरी परेको अवस्था रहेको छ । मेरो बिचारमा बाल गीत, बाल कविता, बाल सिनेमा, बाल नाटक जस्ता अन्य बालबालिकासँग सम्बन्धित रचनाको पनि विकास हुन जरुरी रहेको छ ।
तपाइँको अबको योजना तथा पुस्तकको बारेमा थप केही भन्न चाहनुहुन्छ ?
पुस्तकमा ६३ वटा गीत गजल छन्। गीत खण्डमा पनि अलि लामो गीतहरू रहेको छ । समय मिले अनुसार यो क्षेत्रमा लागि रहन्छु । अर्को रचना निकाल्ने प्रयासमा छु । नेपाली साहित्यलाई विश्व साहित्यको रूपमा पुर्याउने मेरो लक्ष्य हो । (प्रस्तुति : कुसुम गौतम)
प्रतिक्रिया