काठमाडौँ – नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिन पनि जारी रहने भएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखी आन्दोलन जारी छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिरहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ।
‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन वा गर्न नचाहेको हो, त्यो अझै बुझ्न सकिएको छैन। त्यसमा राजनीतिक खिचातानी भएको छ। तर अब विलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायालयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदि कार्यपालिकाले न्यायालयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ। ’ उनका अनुसार आगामी शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुँदै आएको छ। कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधीश हुँदा कामसमेत प्रभावित भएका छन् भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन।













प्रतिक्रिया