अपराध

टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिने

By खबरहब

May 04, 2023

काठमाडौँ – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।

छोरा सन्दीप पक्राउ परे लगत्तै उनका बुबा टोपबहादुरलाई पनि प्रहरीले काठमाडौं आउँदै गरेका अवस्थामा भैरहवाबाट नियन्त्रणमा लिएको छ । उनलाई पनि काठमाडौं ल्याइँदै छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भीआइपीहरु पक्राउ परिरहेका छन् ।

हिजो सचिव टेकनारायण पाण्डेले आत्मसमर्पण गरेका थिए, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।