गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती « Khabarhub

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए। ‘अहिले गाउँपालिकाका विभिन्न १६ स्थानमा करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको छ’, उनले भने, ‘फूलखेतीको अनुदानका लागि कम्तीमा पनि दुई रोपनी जग्गामा अनिवार्य फूल लगाउनुपर्ने छ, दुई रोपनी क्षेत्रफलभन्दा तल अनुदान दिँदैनौँ ।’

गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात् प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँनेछ ।

‘फूलखेती गर्दा प्रतिरोपनी रु अठार हजार अनुमानित लागत लाग्छ’, उनले भने, ‘कार्यसम्पादन प्रतिवेदनका आधारमा किसानलाई प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।’ दसैँतिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको छ ।

गाउँपालिका आफैँले पनि वडा नं ४ को पुछार भन्ने स्थानमा ड्रागन बगैँचामा मिश्रितरूपमा फूलखेती गरेको छ । पालिकाले झण्डै १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आइरहेको छ । पालिकाले गरेको फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सामूहिकरूपमा फूलखेतीलाई व्यावसायिकतातर्फ अगाडि बढाउने क्रम बढ्दै गइरहेको छ ।

मकै, कोदो तथा विभिन्न जातका गेडागुडी लगाउने बारीमा अहिले फूलखेती देख्न सकिन्छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा सामूहिक चार रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । स्थानीय घनबहादुर थापा मकै, कोदो तथा गेडागुडीबाट भन्दा फूलखेतीबाट आम्दानी राम्रो हुन थालेकाले सामूहिकरूपमा फूलखेती गरेको बताए।

‘दसैंतिहारलाई लक्षित गरी मैले व्यक्तिगत तथा सामूहिकरूपमा पनि फूलखेती गरेका छौँ’, उनले भने, ‘गत वर्ष फूल बिक्रीबाट रु डेढ लाखभन्दा बढी आम्दानी भएको थियो, अहिले पनि राम्रो छ ।’ उक्त गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेकाले यहाँ आउने पाहुनालाई स्वागतका लागि पनि फूलको प्रयोग हुने गरेको छ ।

हालसम्म उत्पादन भएको फूलले राम्रै बजार पाएको कृषि अधिकृत पौडेलले बताए। यहाँ उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ३४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन