जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति « Khabarhub

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले सिटी अफ लन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । 

बैठकले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज तथा विशेष अदालत नियमावली, २०८० स्वीकृति गरेको छ । मन्त्रिपरिषद्ले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार सो ऐनको प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ को खण्ड च, दफा २९ र ४० आगामी कात्तिक १ गतेदेखि प्रारम्भ हुने गरी तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । 

सरकारले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय  संसद्मा पेस गर्न स्वीकृति दिनाका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्यक्रमका लागि अधिकृतस्तरका छ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । 

जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कूल एक सय ७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी  न्याय सेवा आयोगको सिफारिसबमोजिम न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता लोकराज पराजुलीलाई सोही सेवाको राजपत्राङ्कित विशिष्ट श्रेष्णी (सचिव) पदमा बढुवा गरी बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।     

उनका अनुसार बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)लाई नेपाल सरकारबाट सन् २०२१ देखि २०२३ सम्मको वार्षिक बजेट योगदानबापत कूल सात लाख ७५ हजार पाँच सय ३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्ले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यान्वयनका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (बुधबारको विदेशी मुद्रा विनिमय दरअनुसार करिब नेरु १३ अर्ब ३५ करोड) सहुलियतपूर्ण ऋण तथा तीन दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्यांक पाँच दशमलव ४५ मिलियन अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको उनको भनाइ थियो  ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : २५ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त