राजनीति

एमालेलाई कमजोर पार्न विभिन्न शक्तिहरु सक्रिय छन् : ओली

By खबरहब

October 04, 2023

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको बताएका छन् ।

बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर पार्न पार्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको बताएका हुन् ।

एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यस तर्फसचेत भएर हिड्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । उनले नेकपा एमालेको भिजन सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिबी निवारण गर्ने उदेश्य रहेको धारणा राखे ।

अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्न आग्रह गरे । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।