विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।

मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ । युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, ‘लडाइँका क्रममा १८ वटा ड्रोन र एउटा एक्स–५९ निर्देशित क्षेप्यास्त्र नष्ट गरिएको छ ।’

स्थानीय अधिकारीहरूले लिभिभ, इभाने–फ्रान्किभिस्क र खमेलनित्स्किीका पश्चिमी क्षेत्रका साथै दक्षिणमा माइकोलाइभ र खेरसनमा हमला भएको सूचना दिएका छन् । खेरसनमा एउटा सांस्कृतिक केन्द्र र एउटा पसललाई निशाना बनाइएको थियो । हमलामा सम्भावित हताहतको कुनै जानकारी प्राप्त भएको छैन ।

मौसम परिवर्तनसँगै तापक्रम माइनसमा झर्दा विद्युत् तथा अन्य ऊर्जा केन्द्रमा रुसले आक्रमण गर्ला कि भन्ने युक्रेनलाई डर छ ।

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, ‘गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ ।’

उनले तत्काल स्वास्थ्य तथा खाद्य सामग्री, खानेपानी, विद्युत्, इन्धनलगायत राहतको प्रवेश बढाउन र अस्पताल तथा आधारभूत सेवा सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरे ।

उनले ‘पश्चिमी किनारा, जेरुसेलम र जोर्डन उपत्यकाका इलाकाहरूमा आक्रमण, हत्या, घर भत्काउन र प्यालेस्टिनी बासिन्दाहरूलाई निष्कासन गर्न रोक्न अमेरिकी हस्तक्षेपको लागि आह्वान गरे। उनले भने, ‘इजरायलद्वारा मौन र योजनाबद्ध रूपमा प्यालेस्टिनी भूमि कब्जा भइरहेको छ ।’

फोन वार्तामा अब्बासले प्यालेस्टिनीले संयुक्त राष्ट्रसङ्घमा पूर्ण सदस्यता प्राप्त गरेपछि र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको अधिवेशनबाट सुरु हुने अन्तर्राष्ट्रिय वैधता प्रस्तावका आधारमा दुई राष्ट्रबीचको समाधानको कार्यान्वयनका लागि काम गर्न आफू तयार रहेको पनि बताएका छन् । अक्टोबर ७ देखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ, जसमा १५ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार दक्षिणी इजरायलमा हमासले अचानक गरेको आक्रमणको प्रतिशोध स्वरुप यो अभियान सञ्चालन गरिएको हो, जसमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको ज्यान गएको थियो ।

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ
रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए ।

यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

‘भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ’, आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहार प्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू माल्दिभ्समा तैनाथ छन् ।

प्राचीन सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्यरूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व(पश्चिम ढुवानी लेनहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर (पाँच सय माइल) फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछ ।

राष्ट्रपति मुइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्तीको सम्झौता ‘प्राविधिस्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिकरूपले कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिवद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको हो ।

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने , ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।’

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो ।

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु
उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको थियो । बाढीपहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको र ८५ जना घाइते भएको उत्तरी तान्जानियाको मन्यारा क्षेत्रकी क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख गर्दै यस क्षेत्रका धेरै सडक हिलो, पानी र रूख र ढुङ्गाले अवरुद्ध भएको समेत बताएकी छिन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन अहिले राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि दुबईमा रहेकी छिन् । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्, ‘बाढीपहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न आदेश दिन्छु ।’

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ५९ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम