यलम्बर पार्कको निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

यलम्बर पार्कको निर्माण अन्तिम चरणमा


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको १०० फिट अग्लो सालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इञ्जिनियर राजन पुँडासैनीले जानकारी दिए । “निर्माणाधीन यलम्बर पार्कको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ”, उनले भने, “अहिले यलम्बरको सालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।”

निर्माणाधीन यलम्बर पार्कमा आव २०७६-७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेण्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।

पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिएका छन् । चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण सुरु गरिएको पञ्चदोबाटोको यलम्बर उद्यान उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।

पार्कमा राखिने किराँती प्रथम यलम्बर राजाको शालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताए । “भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर दक्ष कालीगढलाई सालिक निर्माणको काम लगाएका छौँ”, उनले भने, “ निर्माणाधीन यलम्बर उद्यानमा स्थापना गरिने फाइवर प्रयोग गरेर निर्माण गरिने यलम्बर राजाको सय फिट अग्लो शालिकको अहिले टाउको बनाउने काम भइरहेको छ । आगामी चैत मसान्तसम्म पार्क निर्माणस्थलमा ल्याएर स्थापना गरिसक्छौँ ।”

नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्नेगरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवातजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र एवं शुक्रबार हटिया लाग्ने ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानको काम करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । तीस रोपनी सरकारी जग्गामा निर्माण सुरु गरिएको यलम्बर उद्यान व्यवस्थित तथा आधुनिक किसिमको हुने नगरपालिकाले जनाएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराँती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको उद्यान निर्माणको काम सुरु गरिएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण सुरु गरिएको यलम्बर उद्यान नगरपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गर्ने गरी निर्माण सुरु गरिएको हो ।

आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । किरात ऐतिहासिकस्थल बुइपामा किराँती राजा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण भएपछि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको सो उद्यानमा हलेसी आउने पर्यटकलाई घुमाउन ल्याउन सकिने जनाइएको छ । यलम्बर उद्यानदेखि किरात सभ्यताको उद्गमथलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्गसमेत निर्माण गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिएका छन् ।

सरकारले निर्धारण गरेको सय पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्वका साथ हेरिएको छ । पञ्चदोबाटोमा निर्माणाधीन अवस्थामा रहेको उद्यानमा राखिएको जोडी वाबु (चिण्डो) निक्कै आकर्षक देखिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २० बजे

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो

महानगरको बजार अनुगमन : २२ वटा पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० वटा