प्रकृतिलाई खुसी बनाउन भुमे पूजा सांस्कृतिक उत्सवमय | Khabarhub Khabarhub

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा सांस्कृतिक उत्सवमय


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन् ।

खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन् । बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए ।

चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजन आएका थिए ।

‘‘आपत्विपत्मा मण्डली र भुमे देवतलाई गुहार माग्र्छौँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ”, अध्यक्ष पाइजाले भने । चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए । तीन सय बढीले पन्च्योल नै चढाएका छन् । भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन् ।

मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए । यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने चलन छ । गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन छ । छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन छ ।

भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायालेलगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ ।

यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको छ । यता रघुगङ्गा–१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ । भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन् ।

यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने चलन छ । प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेका पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रधानाध्यापक दुतबहादुर गर्वुजाले बताए । भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन् ।

मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मङ्गलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ । भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीमा रहेका अन्य देवी–देवताको समेत पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ४६ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज