बोधिसत्व सिद्धार्थको जन्मकथा « Khabarhub

बोधिसत्व सिद्धार्थको जन्मकथा



सन्तानको प्रतीक्षामा लामो समय बितिसकेको थियो। शाक्य राजा शुद्धोदनका सन्तान थिएनन्। समृद्ध कपिलवस्तुमा असार पूर्णिमालाई भव्य उत्सवका रुपमा मनाउने चलन थियो।

पूर्णिमाको सात दिन अघिबाटै मायादेवीले मद्यपान गरिनन्। चन्दन, माला आदिले सजिएर उत्सवको आनन्द लिइन्। पूर्णिमाको बिहानै नुहाइन्, व्रत बसिन्, दानपुण्य गरिन्। चार लाख मुद्राको महादान गरिन्। उनको शरीरमा आभूषणको अभाव थिएन। स्वादिष्ट भोजन गरी खोपीमा आराम गर्न जाँदा उनको मन आध्यात्मिक भावले पुलकित थियो।

मध्यरातमा दिव्य शरीर भएका चार देवताहरु आए। उनीहरुले मायादेवीलाई पलङ्सहित हिमालयतर्फ लगे। सात योजन अग्लो सालको वृक्षमुनि एक आसन थियो। साठी योजन फैलिएको मनोशिला भनिने आसन। त्यसमा उनलाई राखेर देवताहरु गए। त्यत्तिकैमा देवकन्याहरूको समूह आयो। उनलाई अनोतप्त दहमा लगेर दिव्य स्नान गराइयो। नुहाएपछि मायादेवी मनुष्य गन्धले रहित भइन्। दिव्य वस्त्र पहिर्याइयो। चन्दनको लेप लगाइदिए देवीहरुले। मायादेवी दिव्यफूलहरुले सजिइन्। नजिकै चाँदीको पर्वतमा सुनको विमान थियो। त्यसभित्र पूर्वतिर सिरान पारेर देवकन्याहरूले मायादेवीलाई सुताइदिए।

सुनको अर्को पर्वतबाट यौटा सेतो हात्ती ओर्लियो। एकछिन यताउता टहलियो र त्यही चाँदीको पर्वतमा उक्लियो। हात्तीको चाँदी जस्तो सेतो सूँडमा सेतै कमल थियो। हात्ती मायादेवी रहेको विमानमा प्रवेश गर्यो, पलङ्लाई तीनपटक प्रदक्षिणा गरी दाहिने कोखबाट पेटमा प्रवेश गर्यो। यो सबै सपना थियो।

स्वप्न विश्लेषण
मायादेवीले सपना बारे राजालाई सुनाइन्। भोलिपल्ट राजाले ६४ मूल ब्राह्मणहरुलाई आमन्त्रण गरे। भुईं गोबरले पोतियो। लावा र फूल आदिले सजाइयो। बहुमूल्य आसनहरु बिछ्याइए। आसनस्थ ब्राह्मणहरुलाई सुन र चाँदीका थालमा घ्यू, मह र सख्खर मिसाइएको खीर दिइयो। नयाँ वस्त्र र गाई दानसमेत गरियो। ब्राह्मणहरु सन्तृपत भए। राजाले सपना बारे बताएर सोधे, ‘‘किं भविस्सति ?’’ अर्थात्, सपनाको फल के हुनेछ ?

ब्राह्मणहरुले सपना विश्लेषण गरे। भने- भय मान्नुपर्दैन महाराज, तपाईंकी देवीको कोखमा गर्भ प्रतिष्ठित भएको छ। त्यो पुरुष गर्भ हो, स्त्रीगर्भ होइन। छोरा जन्मने छन्। ती पुत्र घरमा बसे भने चक्रवर्ती सम्राट् बन्नेछन्। यदि घरबाट निस्केर प्रव्रजित भए भने परम ज्ञानी बुद्ध बन्नेछन्।

यसरी असारको पूर्णिमामा बोधिसत्वले गर्भप्रवेश गर्नुभयो। त्यो दिन उत्तराषाढ नक्षत्र परेको थियो। त्यस समयमा ३२ किसीमका शुभलक्षण प्रकट भए। यस प्रसङ्गको विस्तार जातकनिदानमा पाइन्छ।

मायादेवीको अलौकिक स्वभाव
बोधिसत्व गर्भमा प्रतिष्ठित भएदेखि चार देवपुत्रहरुले पहरा दिए। बोधिसत्वकी मातालाई कुनै संकट नआओस् भन्ने उद्देश्य थियो। त्यस यता मायादेवीलाई पुरुषप्रति आसक्ति उत्पन्न भएन। उहाँले धेरै लाभ र इज्जत हासिल गर्नुभयो। थकानको अनुभूति भएन। कुनै रोगले छोएन। कोखमा रहेका बोधिसत्व बारे सोच्दा सेतो मणिमा बेरिएको पहेंलो धागाजस्तै आकृति मष्तिष्कमा घुम्थ्यो। तथापि राजाले सुसारेहरुको सङ्ख्या भने बढाइदिएका थिए।
मायादेवी माइत जाँदै मायादेवीले दश महिनासम्म बोधिसत्वलाई गर्भमा धारण गर्नुभयो। कुनै भाँडोमा तेल राखिएजस्तै। दश महिना बितेको पत्तै भएन। रानीले माइत जाने इच्छा प्रकट गरिन्। राजासँग भनिन्, ‘‘इच्छामहं देव, कुलसन्तकं देवदहनगरं गन्तुं।’’ ‘‘हुन्छ’’, राजाले भन्नुभयो। कपिलवस्तुदेखि देवदहसम्मको बाटो सम्याइयो। केराका स्तम्भहरुले सजाइयो। भरिएका घडाहरु राखिए। ध्वजा र पताकाहरु फर्फराइए। सुनको पाल्की तयार भयो। एक हजार कर्मचारीहरुको समूहसहित विशाल सेवकमण्डली पनि साथमा जाने भयो।

लुम्बिनीमा जन्म
वैशाख पूर्णिमाको दिन। सुनको पाल्कीमा रानीको सवारी चल्यो। कपिलवस्तु र देवदहको बीचमा पर्छ लुम्बिनी उद्यान। बुद्धवंश-अर्थकथाकार उल्लेख गर्छन्, ‘‘द्विन्नं पन नगरानं अन्तरे उभयनगरवासिनंपि लुम्बिनीवनं नाम मंगलसालवनं अत्थि।’’ लुम्बिनीको वनलाई मङ्गलसालवन भनिन्थ्यो। फेददेखि टुप्पैसम्म ढकमक्क फुलेको वन। हाँगा र फूलहरुमा पाँच किसिमका भमराहरुको मधुर ध्वनी गुञ्जिरहेको थियो। चराहरुको चिर्बिरले सौन्दर्य स्वयं सुशोभित भएझैं लाग्थ्यो। लुम्बिनीवन स्वर्गीय ‘‘चित्तलतावन’’ जस्तै शोभायमान भइरहेको थियो। मानौँ कुनै प्रतापी राजाको भव्य बजारजस्तै। लुम्बिनी ऐश्वर्यले भरिभराउ देखियो।

वनक्रीडाको रहर भयो रानीलाई। मन्त्रीहरुले मायादेवीलाई सालवनमा लिएर गए। रानी मङ्गलसालमुनि पुगिन्। उनलाई सालको हाँगा समाउन मन लाग्यो। निदानकथा उल्लेख गर्छ, ‘‘सा मङ्गलं सालमूलं गन्त्वा सालसाखायं गण्हितुकामा अहोसि’’। सालको हाँगा झुकेर उनको हात नजिकै आइपुग्यो। दाहिने हात फैलाएर हाँगो समाइन् मायादेवीले। त्यही समयमा प्रसव वेदना उत्पन्न भयो। साडीको पर्दा बनाइयो। पुरुषहरु त्यहाँबाट पर गए।
पुत्रलाभ भयो। चार महाब्रह्मा सुनको जालो लिएर त्यहाँ उपस्थित थिए। उनीहरुले बोधिसत्वलाई त्यस जालोमा लिए। माता मायादेवीका अगाडि उपस्थित भएर महाब्रह्माले भने- ‘‘खुसी हुनुहोस् माता, तपाईंलाई महाप्रतापी पुत्रलाभ भएको छ।’’

मानौँ, भर्खरै प्रवचन सकेर धर्मासनबाट ओर्लँदै गरेको प्रवक्ताजस्तै। सिँढीबाट ओर्लंदै गरेको व्यक्तिजस्तै। दुवै हात र पाउहरु फैलिएका। शुद्ध रेशमी कपडामा राखिएको चम्किलो मणिजस्तै। बोधिसत्व रगतादि फोहरसहित जन्मनुभएन। आकाशबाट दुई पानीका धारा प्रकट भए। एउटा चिसो र अर्को उष्ण। बोधिसत्व र उहाँकी मातालाई शितलताको अनुभूति भयो।

चार महाराजहरुले मृगको सुकोमल छालामा बोधिसत्वलाई लिए। त्यसपछि मानिसले दोसल्लाले बनेको गद्दामा बोधिसत्वालाई लिए। मानिसको हातबाट मुक्त भएर बोधिसत्व उभिनुभयो। र, पूर्वदिशामा हेर्नुभयो। अनन्त ब्रह्माण्ड मानौँ एक आँगनजस्तै बनेर बोधिसत्वमा केन्द्रित भयो। देवता र मनुष्यहरुले चन्दन र फूल वर्षाएर पूजा गरे। उनीहरुले भने- ‘‘महापुरुष, यहाँ तपाईंसमान नै कोही छैन भने तपाईंभन्दा ठूलो को नै होला ? यसै क्रमले बाँकी तीन दिशामा पनि बोधिसत्वले निरीक्षण गर्नुभयो। आफूसमान कोही देखिएन। त्यसपछि बोधिसत्व उत्तरदिशामा सात पाइला हिँड्नुभयो। महाब्रह्माले सेतो छाता ओढाए। सुयाम नामक देवताले चँवर हम्किए। अन्य देवताहरुले बाँकी राजकीय सामग्रीहरुका साथ अनुगमन गरे। सातौँ पाइलापछि वहाँले उद्धोष गर्नुभयो- ‘‘अग्गोहमस्मि लोकस्स, जेट्ठोहमस्मि लोकस्स, सेट्ठोहमस्मि लोकस्स, अयमन्तिमा जाति, नत्थिदानि पुनब्भवो।’’ अर्थात्, लोकमा अग्र पुरुष म नै हुँ, लोकमा ज्येष्ठ पुरुष म नै हुँ, यो अन्तिम जन्म हो, यसपछि कुनै जन्म हुनेछैन।

जम्मा तीन पटक बोधिसत्वले जन्मँदासाथ बोल्नुभएको छ। पहिलो, महोसध पण्डितका रुपमा जन्म लिँदा। दोस्रो, वेस्सन्तर राजकुमार भएर जन्मिँदा। तेस्रो, यो अन्तिम जन्ममा।
यस पटक पनि बत्तीस शुभ लक्षणहरु देखा परे। माताको गर्भमा प्रतिष्ठित हुने बेलामा जस्तै। राहुलमाता यशोधरा त्यही दिन जन्मिइन्। सारथि छन्न, अमात्य कालुदायी, राजकुमार आनन्द पनि। हात्ती आजानीय र घोडा कन्थक जन्मिँदा उता महाबोधि वृक्ष अङ्कुराउँदै थियो। बहुमूल्य रत्नले भरिएका चार घडाहरु फेला परे। कपिलवस्तु र देवदह दुवै तिर विशेष खुसियाली छायो। बोधिसत्वलाई कपिलवस्तु लगियो।

कपिलवस्तुमा कालदेवल
‘‘कपिलवस्तुमा शुद्धोदन महाराजलाई पुत्र प्राप्ति भएको छ। ती कुमार बोधिवृक्षमुनि बसेर बुद्ध बन्नेछन्।’’ यस्तो भन्दै देवताहरुले उत्सव मनाइरहेका थिए। असित कालदेवल शाक्यकुलका पुरोहित थिए। शुद्धोदनका पिता सिंहहनुकै पालादेखि। शुद्धोदन राजकुमार हुँदा उनले शिल्पाचार्यको कार्यसमेत गरे। शुद्धोदन राजा हुँदा पनि उनी नै पुरोहित थिए। एकदिन उनले राजालाई भने, ‘‘महाराज, प्रब्रजित हुन्छु।’’ उनका लागि अलग्गै उद्यान तयार गरियो। त्यहीँ साधना गर्न थाले। कपिलवस्तुको राजपरिवारमा भोजनपान गर्थे। दिवाविहारका लागि हिमालयदेखि देवलोकसम्म पुग्थे।

त्यस दिन कालदेवल देवलोक पुगेका थिए। देवताहरुलाई त्यति धेरै खुसी देखेर उनले सोधे- ‘‘किन हो तपाईंहरु यति धेरै सन्तुष्ट भएर क्रीडा गरिरहनुभएको ? त्यसको कारण बारे मलाई पनि बताउनुहोस्।’’ देवताहरुले भने- ‘‘मित्र, शुद्धोदन राजाका छोरा जन्मिए। उनी बोधिवृक्षमुनि बुद्ध बन्नेछन्। र, धर्मचक्रप्रवर्तन गर्नेछन्। तिनको अनन्त बुद्धलीला देख्न र धर्म सुन्न पाइने भयो । यसैले हामी यति खुसी छौँ।’’

तपस्वी कालदेवल तुरुन्त कपिलवस्तु तर्फ हानिए। उनी शुद्धोदनको दरबारमा प्रवेश गरे। र, निर्धारित आसनमा बसे। कालदेवललाई हतार थियो। भने, ” महाराज, तपाईंलाई पुत्रलाभ भएछ, हेरौँ।” थपे- ‘‘कुहिं कुमारो अहमपि दट्ठुकामो। खै कुमार कहाँ छन् ? मलाई पनि हेर्न मन लाग्यो।”

राजाले छोरालाई कालदेवलतर्फ बढाए। शिशुका पाउ कालदेवलका जटामा परे। कालदेवलका पनि वन्दनीय बोधिसत्व। बोधिसत्वको शिर कालदेवलको पाउमा राख्नुहुँदैनथ्यो। त्यस्तो भएको भए उनको शिर टुटेर सात टुक्रा हुन्थ्यो। तपस्वीले पनि जानाजान आफूलाई नष्ट गर्न चाहेनन्। उठेर बोधिसत्वलाई अञ्जलिबद्ध प्रणाम गरे। यो सबै देखिरहेका राजा स्वयंले पनि पुत्रको वन्दना गरे।

कालदेवलको शोक
कालदेवलले शरीरलक्षण विचार गरे। र, आवर्जन गरे “बुद्ध बन्छन् कि बन्दैनन् ?” भनेर। निश्चय गरे कि “अवश्य बुद्ध बन्नेछन्।” तपस्वी मन्द मुस्कुराए। फेरि विचार गरे- “यिनी बुद्ध बन्दा मैले देख्न पाउँछु वा पाउँदिनँ ? देख्न पाउँदिनँ। अगाडि नै मृत्यु हुनेछ। र, अरुपलोकमा जन्मनेछु। त्यहाँ हजारौँ बुद्धहरु गए पनि ज्ञानप्राप्त गर्न असम्भव छ। यस्ता अद्भुत पुरुष बुद्ध बनेको मैले देख्न नपाउने भएँ। यसले मलाई धेरै हानि हुने भयो।”
कालदेवल रुन थाले। मानिसहरुलाई अचम्म लाग्यो। अघि भर्खर मुस्काएका तपस्वी आँशुका धारा बगाइरहेका थिए।
“भन्ते, हाम्रा आर्यपुत्रलाई कुनै सड्ढट त छैन ?” मानिसहरुले सोधे।
“यिनलाई कुनै सड्ढट छैन। अवश्य बुद्ध बन्नेछन्। “ऋषिको सहज उत्तर।
“त्यसो भए तपाईं किन रुनुभएको हो ?”
“यस्ता अद्भुत पुरुष बुद्ध बनेको देख्न पाउनेछैन। यो मेरो लागि ठूलो हानि हो। म मेरै बारे चिन्ता गरेर रोएको हुँ।”
भाञ्जा नालकलाई भावी बुद्धका नाममा प्रब्रजित हुन प्रेरित गरे कालदेवलले। अनि सुरु गरे हिमालयको यात्रा।

नामकरण र भविष्यवाणी
पाँचौँ दिनमा नामकरण गर्ने शाक्यकुलको परम्परा थियो। बोधिसत्वलाई पनि पाँचौँ दिनमा नुहाइयो। चार किसिमका सुगन्धले राजभवन लिपियो। लावासहित पाँच किसिमका फूलहरुले साजइयो। पानी नमिसाइएको दूधमा खीर पकाइयो। एक सय आठ ब्राह्मणहरु आमन्त्रित थिए। उनीहरुलाई राजभवनमा सत्कार गरियो। बसालियो। अनि सोधियो बोधिसत्वको लक्षण बारे- “के हुनेछ यिनको भविष्य ?”

त्यो समय आठ ब्राह्मणहरु प्रसिद्ध थिए। वेदका छ अङ्गमा पारङ्गत। उनीहरु- राम, ध्वज, लक्ष्मण, मन्त्री, कौडिन्य, भोज, सुयाम तथा सुदत्त हुन्। बोधिसत्व गर्भमा प्रतिष्ठित हुँदा पनि यिनीहरुले नै लक्षण विचार गरेका थिए। तीमध्ये सात ब्राह्मणहरुले दुई औँला उठाए। र, दुई सम्भावनाको भविष्यवाणी गरे, “यस्ता लक्षण भएको पुरूष घरमा बसे चक्रवर्ती सम्राट् हुनेछन्। गृहत्याग गरेर प्रव्रजित भए भने बुद्ध बन्नेछन्।” साथै, उनीहरुले चक्रवर्ती सम्राट्को वैभव बारे पनि चर्चा गरे।

तीमध्ये कौडिन्य सबैभन्दा कान्छा थिए। उनले एक औँला उठाएर भने- “निश्चय नै यिनी बुद्ध बन्नेछन्। यिनको घरमा रहने कुनै सम्भावना नै छैन।” मातापिता र राज्यको कामना सिद्ध भएको थियो। अतः बालकको नाम सिद्धार्थ राखियो। पालिमा भनिएको सिद्धत्थको संस्कृतकरण सिद्धार्थ हो। यही नाम संसारका सबै मानिसको धर्मको प्यास मेटाइदिने हुनाले अझ सार्थक हुनेवाला थियो
लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका उप-प्राध्यापक हुनुहुन्छ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : १८ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि