काठमाडौँ– ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ ।
राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।
निर्माण समूहले शुक्रबार बिहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौँबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए ।
‘पैँतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौँ । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने । विदेशबाट फिल्म सम्बन्धी अध्ययन गरेर फर्किनु भएका गुरुङले यो कथामा काम गरेको भइसकेको छ । ‘यहीँ कथालाई लिएर दर्शकसम्म पुगौँ भन्ने लाग्यो’, निर्देशक गुरुङले भने ।
शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।
‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दै छौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् ।
चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्जवल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।
प्रतिक्रिया