विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापानमा शक्तिशाली भूकम्प जाँदा एक जनाको मृत्यु

जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । भूकम्पमा अरु २१ जना घाइते भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

जापानी अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो । कम्पन निरन्तर चलिरहेका कारण मलाई डर लाग्यो,” सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताएका छन् ।

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भ¥याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।
एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की

रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ ।

रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा आयोजित एक सम्मेलनमा हात हालाहालमा उत्रेका हुन् । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच धक्कामुक्की भएको भिडियो सार्वजनिक भएको छ ।

रुसी प्रतिनिधिले बैठकमा राखिएको युक्रेनको झण्ड खोसेर हिँडेपछि युक्रेनी प्रतिनिधिले उनीमाथि मुक्का प्रहार गरेको उक्त भिडियोमा देखिन्छ । युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो धक्कामुक्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा युक्रेनी सांसद ओलेक्जेन्डर मारिकोभस्की आफ्नो देशको झण्डा लिएर उभिएको देखाइएको छ । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर जान्छन् । यो देखेर क्रुद्ध भएका युक्रेनी प्रतिनिधि रुसी प्रतिनिधिको पछि लाग्छन् र उनको अनुहारमा मुक्का प्रहार गर्छन् । यसक्रममा दुबैलाई त्यहाँ रहेका अन्य मानिसहरुले रोक्ने प्रयास गरेको पनि भिडियोमा देखिन्छ ।

भारतसँगको सम्बन्धलाई स्थिर बनाउन चिनियाँ विदेशमन्त्रीको आह्वान

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गरेका छन् ।

बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकका क्रममा भारतीय समकक्षी सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गरेका हुन् । मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताएका छन् ।

उनले दुई छिमेकीले एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पुर्‍याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गरेका छन् ।

चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गरेका छन् । दुवै पक्षले दुई देशका नेताहरूले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विद्यमान उपलब्धिहरूलाई सुदृढ गर्दै, कडाइका साथ पालना गरिरहनु पर्नेमा पनि जोड दिएका छन् ।

त्यसैगरी भारतीय विदेशमनत्री जयशंकरले भारत र चीनले थुप्रै क्षेत्रमा सहयोग सुदृढ गर्न आवश्यक रहेको र भारतले चीनसँगको सीमा क्षेत्रमा शान्ति र स्थायित्वको खोजी जारी राख्ने आशा राखेको पनि बताएका छन् ।

चीनले एससीओ शिखर सम्मेलनको सफल आयोजना गर्न भारतलाई समर्थन गरेको र वर्तमान अध्यक्षको हैसियतमा भारतले एकता र सहयोगको भावना देखाउने र शिखर सम्मेलनलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने चिनियाँ विदेशमन्त्रीको अपेक्षा छ ।

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति लण्डन प्रस्थान

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भोलि शनिबार राजा चार्ल्सको राज्याभिषेक हुँदैछ ।

दुईदिने बेलायत भ्रमणका क्रममा उनले राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने कार्यक्रम छ । समारोहमा विश्वका करिब दुई हजार विशिष्ट व्यक्ति सहभागी हुनेछन् । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गरेकी छिन् ।

बेलायत सरकारले भारतलगायत अन्तर्राष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ । राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।

गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि राज चार्ल्सले राजसिंहासन सम्हालेका हुन् । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ ।

पाकिस्तानमा गोली प्रहार गरी ८ जनाको हत्या

पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।

उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सना गरेको छ ।

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

पाकिस्तानी विदेश मन्त्री जर्दारी भारतमा

सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानबाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन ।

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहीवार देखी गोवामा जारी छ । नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहीवार विदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् ।

सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथी भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढ्न गएको थियो ।

नौ वर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औँल्याएको छ । पाकिस्तानी विदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ०१ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने