विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापानमा शक्तिशाली भूकम्प जाँदा एक जनाको मृत्यु

जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । भूकम्पमा अरु २१ जना घाइते भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

जापानी अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो । कम्पन निरन्तर चलिरहेका कारण मलाई डर लाग्यो,” सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताएका छन् ।

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भ¥याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।
एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की

रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ ।

रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा आयोजित एक सम्मेलनमा हात हालाहालमा उत्रेका हुन् । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच धक्कामुक्की भएको भिडियो सार्वजनिक भएको छ ।

रुसी प्रतिनिधिले बैठकमा राखिएको युक्रेनको झण्ड खोसेर हिँडेपछि युक्रेनी प्रतिनिधिले उनीमाथि मुक्का प्रहार गरेको उक्त भिडियोमा देखिन्छ । युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो धक्कामुक्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा युक्रेनी सांसद ओलेक्जेन्डर मारिकोभस्की आफ्नो देशको झण्डा लिएर उभिएको देखाइएको छ । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर जान्छन् । यो देखेर क्रुद्ध भएका युक्रेनी प्रतिनिधि रुसी प्रतिनिधिको पछि लाग्छन् र उनको अनुहारमा मुक्का प्रहार गर्छन् । यसक्रममा दुबैलाई त्यहाँ रहेका अन्य मानिसहरुले रोक्ने प्रयास गरेको पनि भिडियोमा देखिन्छ ।

भारतसँगको सम्बन्धलाई स्थिर बनाउन चिनियाँ विदेशमन्त्रीको आह्वान

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गरेका छन् ।

बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकका क्रममा भारतीय समकक्षी सुब्रह्मण्यम जयशंकरसँगको भेटवार्तामा छिनले सो आग्रह गरेका हुन् । मन्त्री छिनले दुई पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने र रणनीतिक एवं दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सम्हाल्ने बताएका छन् ।

उनले दुई छिमेकीले एकअर्कालाई सम्मान गर्न र एकअर्कालाई सुदृढ बनाउन र आ–आफ्नो राष्ट्रिय पुनर्जागरणमा योगदान पुर्‍याउँदै विश्व शान्ति र विकासमा स्थायित्व र सकारात्मक ऊर्जा सम्प्रेषण गर्दै सामञ्जस्यपूर्ण सहअस्तित्व, शान्तिपूर्ण विकास र साझा पुनरुत्थानको नयाँ मार्गमा लाग्न आह्वान गरेका छन् ।

चीनले भारतसँग द्विपक्षीय परामर्श र आदानप्रदान गर्न, बहुपक्षीय ढाँचा अन्तर्गत वार्ता र सहयोग अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अझ गहिरो बनाउन इच्छुक रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले चीन–भारत सीमानाको वर्तमान अवस्था सामान्यतया स्थिर रहेको पनि उल्लेख गरेका छन् । दुवै पक्षले दुई देशका नेताहरूले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विद्यमान उपलब्धिहरूलाई सुदृढ गर्दै, कडाइका साथ पालना गरिरहनु पर्नेमा पनि जोड दिएका छन् ।

त्यसैगरी भारतीय विदेशमनत्री जयशंकरले भारत र चीनले थुप्रै क्षेत्रमा सहयोग सुदृढ गर्न आवश्यक रहेको र भारतले चीनसँगको सीमा क्षेत्रमा शान्ति र स्थायित्वको खोजी जारी राख्ने आशा राखेको पनि बताएका छन् ।

चीनले एससीओ शिखर सम्मेलनको सफल आयोजना गर्न भारतलाई समर्थन गरेको र वर्तमान अध्यक्षको हैसियतमा भारतले एकता र सहयोगको भावना देखाउने र शिखर सम्मेलनलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने चिनियाँ विदेशमन्त्रीको अपेक्षा छ ।

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति लण्डन प्रस्थान

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भोलि शनिबार राजा चार्ल्सको राज्याभिषेक हुँदैछ ।

दुईदिने बेलायत भ्रमणका क्रममा उनले राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने कार्यक्रम छ । समारोहमा विश्वका करिब दुई हजार विशिष्ट व्यक्ति सहभागी हुनेछन् । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गरेकी छिन् ।

बेलायत सरकारले भारतलगायत अन्तर्राष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ । राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।

गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि राज चार्ल्सले राजसिंहासन सम्हालेका हुन् । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ ।

पाकिस्तानमा गोली प्रहार गरी ८ जनाको हत्या

पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।

उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सना गरेको छ ।

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

पाकिस्तानी विदेश मन्त्री जर्दारी भारतमा

सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानबाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन ।

संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहीवार देखी गोवामा जारी छ । नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहीवार विदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् ।

सन २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एशियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथी भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आए पछि तिक्तता झनै बढ्न गएको थियो ।

नौ वर्ष पछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगतले बिशेष र अर्थपूर्ण रुपमा औँल्याएको छ । पाकिस्तानी विदेश मन्त्रीको भारत भ्रमणले दुवै देश बिचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा सावित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ०१ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी