दुखजिलो गर्दै जीवन धान्दै बयोवृद्ध थापा दम्पत्ति « Khabarhub

दुखजिलो गर्दै जीवन धान्दै बयोवृद्ध थापा दम्पत्ति


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै टाढै बस्यो ।

बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोराछोरी र नातीनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन । बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँन्नन् ।

उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन् । “जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उनले भने, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।”

तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन । दम्पतीको दैनिकी सामान्य व्यक्तिजस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै पर्‍यो भने बाँच्नका लागि खाना खानै पर्‍यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनीहरु खुसी छन् । बिहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो ।

त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ । जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन । अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ ।

“लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भने, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन् “मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”

थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ०५ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ