दुखजिलो गर्दै जीवन धान्दै बयोवृद्ध थापा दम्पत्ति | Khabarhub Khabarhub

दुखजिलो गर्दै जीवन धान्दै बयोवृद्ध थापा दम्पत्ति


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै टाढै बस्यो ।

बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोराछोरी र नातीनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन । बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँन्नन् ।

उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन् । “जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उनले भने, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।”

तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन । दम्पतीको दैनिकी सामान्य व्यक्तिजस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै पर्‍यो भने बाँच्नका लागि खाना खानै पर्‍यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनीहरु खुसी छन् । बिहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो ।

त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ । जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन । अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ ।

“लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भने, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन् “मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”

थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ०५ बजे

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई

काठमाडौंको धोबिखोलामा बाढी

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ ।  शुक्रबार

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

सिन्धुली- काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले